बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड गोरखा-२ : यी ५ आधारमा प्रचण्ड बलियो उम्मेदवार

बुधबार, ३० कात्तिक २०७९, २१ : १९
बुधबार, ३० कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैको ध्यान खिचिएको निर्वाचन क्षेत्रमध्ये गोरखा क्षेत्र नम्बर २ पनि एक हो । यो क्षेत्र मुख्य आकर्षणको केन्द्र हुनुको कारण यहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको सुत्रधारसमेत रहेका प्रचण्ड विरुद्ध एमालेले अब्दुस सलाम मियालाई चुनावी मैदानमा उतारेको छ । 

प्रचण्ड र मियाले घरदैलो अभियान करिब टुङ्ग्याएका छन् । गोरखाका क्षेत्र नम्बर १ र २ का हिमाली, पहाडी भागदेखि टारसम्मका भागमा पुगेर प्रचण्डले मत मागेका छन् भने गोरखाबासीका लागि विकासका नयाँ सपना र योजनाहरु सुनाएका छन् । 

जिल्लाका विभिन्न भागमा भएका आमसभाहरुमा प्रचण्डले गोरखाबाटै आर्थिक समृद्धिको नयाँ थालनी गर्ने बाचा गर्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना, २०७५ सालदेखि बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने, जडीबुटी प्रशोधन उद्योग सञ्चालन गर्ने, गोरखाका सम्पूर्ण सडक कालोपत्रे गर्ने, सिंचाई, पुल, खानेपानी लगायतका विकासका योजना अगाडि बढाउने बाचा गरेका छन् । उनले गोरखाका धुलाम्मे सडकलाई कालोपत्रे गर्ने कुरालाई मुख्य प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

गोरखा–२ मा यसकारण छन् प्रचण्ड बलियो 

२०६४ सालदेखि संसदीय चुनाव लड्दै आएका प्रचण्डले पटक पटक चुनावी क्षेत्र परिवर्तन गर्दै आएका छन् । पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० र रोल्पाबाट चुनाव लडेका उनी दुवै क्षेत्रबाट विजयी भएका थिए ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० र सिरहा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका उनी काठमाडौंमा पराजित भए भने सिरहाबाट निर्वाचित भएका थिए । यस्तै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । 

यो पटक पनि चितवनबाटै चुनाव लड्ने तयारी गरेका उनले पछि आएर गोरखा क्षेत्र नंबर २ रोजेका थिए । जुन क्षेत्रमा विगतमा डा.बाबुराम भट्टराईले ३ पटक चुनाव जितेका थिए । 

पहिलो आधार : एमालेको कमजोर उम्मेदवार 

गोरखामा पहिलेदेखि नै एमालेको जनआधार त्यति बलियो छैन । सत्ता गठबन्धनविरुद्ध अर्को गठबन्धन बनाएर चुनाव लडेको एमालेले गोरखा क्षेत्र नम्बर २ मा पार्टीभित्र लामो समय राजनीति गरेका व्यक्तिलाई छोडेर नवप्रवेशी अब्दुस मियालाई उम्मेदवार बनाएको छ । मिया गोरखाका व्यक्ति भए पनि उनको राजनीतिक आधार र पृष्ठभूमि गोरखा नहुनु कमजोर पक्ष हो ।

स्थानीय तहको चुनावसम्म एमाले अध्यक्ष केपी शर्मा ओली विरोधी रहेका उनलाई पार्टी प्रवेशपछि केन्द्रले नै टिकट दिएर गोरखामा चुनाव लड्न पठाएको थियो । तर एमालेकै जिल्ला तहका एक नेताले प्रचण्डविरुद्ध लड्न पार्टीले कमजोर उम्मेदवार पठाएको टिप्पणी गरे ।

जिल्लाबाट पार्टीले सिफारिस गरेको उम्मेदवार नहुनु र मिया जिल्लाको राजनीतिसँग परिचित नहुनुले केही कमजोरी भए पनि युवा नेता भएको र सामाजिक सञ्जालमार्फत सबैले चिनेको हुँदा साह्रै कमजोर पनि नरहेको उनले टिप्पणी गरे । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पनि मिया  कमजोर उम्मेदवार रहेको टिप्पणी गर्छन् । निर्वाचनको प्रचार अभियानका क्रममा गोरखाका अधिकांश स्थानीय तह भ्रमण गरेका न्यौपानेले भने, ‘अब्दुस मिया गोरखाको हर्मीमा जन्मिएका हुन् तर त्यहाँ उनको परिवारको बसोबास छैन । यहाँ एमालेको संगठन कमजोर छ, भर्खर पार्टीमा प्रवेश गरेका कमजोर पात्रलाई एमालेले उठाएको छ । गोरखा क्षेत्र नम्बर २ मा एमालेको संगठनात्मक स्थिति एकदम कमजोर छ ।’

दोस्रो आधार : स्थानीय तहको बलियो मतभार
गोरखा क्षेत्र नम्बर २ मा प्रचण्ड बलियो उम्मेदवार हुनुको पहिलो तथ्य हो स्थानीय तहमा माओवादी केन्द्रले पाएको मत । यो क्षेत्रमा रहेका स्थानीय तहमा माओवादी केन्द्र पहिलो, दोस्रोमा कांग्रेस, तेस्रो स्थानमा एमाले र चौथो स्थानमा नेपाल समाजवादी पार्टी छ ।

माओवादी केन्द्रले २२ हजार २५० मत पाउँदा दोस्रो स्थानमा कांग्रेसले २१ हजार ५७८ मत, तेस्रोमा एमालेले ८ हजार ४८४ मत र बाबुराम भट्टराईको जनता समाजवादीले ७ हजार ५०४ मत पाएको थियो । यो क्षेत्रमा माओवादी केन्द्रको बलियो शक्ति भएका कारण प्रचण्डका लागि यो क्षेत्र निकै सुरक्षित देखिन्छ । 

तेस्रो आधार : बाबुराम भट्टराईको साथ
विगतमा डा.बाबुराम भट्टराईले ३ पटक चुनाव जितेको क्षेत्र हो गोरखा क्षेत्र नम्बर २ । जहाँ भट्टराईको राम्रो प्रभाव छ । यसपटक भट्टराईले आफ्नो ठाउँ प्रचण्डलाई छोडेर उनका लागि भोट माग्दै हिँडेका छन् । घरदैलो कार्यक्रम र चुनावी सभामा सम्वोधन गर्दै प्रचण्डमार्फत र उनकै पार्टीबाट प्रदेशसभामा उठेका फडिन्द्र देवकोटा मार्फत विकासका काम पूरा गर्ने बाचा गरिरहेका छन् उनी ।

स्थानीय तहको निर्वाचनमा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले ७ हजार ५०४ मत पाएको थियो । सो मतसमेत अब माओवादी केन्द्रमा जाने हो भने प्रचण्ड थप बलियो हुनेछन् । 

चौथो आधार : ५ पार्टीको गठबन्धनको मत 
स्थानीय तहको चुनावमा गठबन्धन दलले पाएको मत हेर्दा प्रमुख प्रतिस्पर्धामा रहेको एमाले निकै पछाडि देखिन्छ । स्थानीय तहमा गोरखा क्षेत्र नम्बर २ मा कांग्रेस, माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीले कुल ५१ हजार ३३२ मत पाएका थिए, जुन एमालेले पाएको मत भन्दा ४२ हजार ८४८ मत बढी हो । फराकिलो मतान्तर भएका कारण पनि एमालेले सत्ता गठबन्धनलाई टक्कर दिन यहाँ कठिनाई हुने स्पष्ट छ । 
माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने भन्छन्, ‘गठबन्धन भएका कारण यहाँ माओवादी बलियो छ ।

अघिल्ला निर्वाचनमा पनि कांग्रेसले चुनाव जितेको बेला माओवादी दोस्रो दल हुने र माओवादीले जितेको बेला कांग्रेस दोस्रो हुने गरेको थियो । विगतको चुनावमा पहिलो र दोस्रो हुने दलको नै गठबन्धन बनेकोले तेस्रो हुने पार्टीसँगको प्रतिस्पर्धा नगन्य हुन्छ । यो स्थिति हेर्दा जितको निम्ति कुनै आशंका गर्नुपर्ने अवस्था नै परेन, कति मतले जित्ने भन्ने कुरामात्रै रह्यो ।’

पाँचौं आधार : प्रचण्ड प्रधानमन्त्री हुँदा हुने विकासको आशा 
तुलनात्मक हिसावले माओवादीको अध्यक्ष नै चुनाव लड्न आइसकेपछि यो क्षेत्रका माओवादीका कार्यकर्ता, मतदाताहरु उत्साहित बनेका छन् । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका र भावी प्रधानमन्त्रीसमेत बन्ने सम्भावना बोकेका प्रचण्ड नै गोरखा आएपछि मतदाताहरूमा त्यसको भावनात्मक सम्बन्ध विकास हुने माओवादी केन्द्रका नेताहरू बताउँछन् । 

नेता न्यौपाने भन्छन्, ‘पूरै कांग्रेस उत्साहित नभए पनि कांग्रेसको एउटा पक्ष भने उत्साहित छ । भोलि हाम्रो प्रतिनिधि प्रधानमन्त्री हुन  सक्छ र यहाँ विकासका काम बढ्छ भनेर उत्साहित भएका छन् । २ नम्बर क्षेत्रका गोरखा नगरपालिकाको आधा भाग, पालुङटार नगरपालिका, सिरानकोट, बारपाक–सुलीकोट गाउँपालिकामा सबैतिर मुख्य रुपमा बाटोको माग गरेका छन् ।’

गोरखा २ मा एमालेको शक्ति कति ? 
गोरखामा एमालेले यो निर्वाचनमा अब्दुस मिया चुनावमा उठ्ने कुनै कल्पना गरेको थिएन । यहाँ एमालेबाट ३ जना उम्मेदवार सिफारिस भएका थिए । यो क्षेत्रबाट चक्रे मिलन, डा.दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । 

गत स्थानीय तहको निर्वाचनमा एमाले गोरखा क्षेत्र नम्बर २ मा तेस्रो शक्तिका रुपमा देखिएको छ ।  प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि एमालेबाट अब्दुस सलाम मिया चुनावी मैदानमा छन् । उनको पृष्ठभूमि हेर्ने हो स्थानीय तहको निर्वाचन अघिसम्म उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक थिए । विवेकशील साझाले स्थानीय तहको निर्वाचनमा लज्जाजनक मत पाएपछि उनी एमाले प्रवेश गरेका थिए । 

तर मिया कमजोर उम्मेदवार नरहेको एमालेको दावी छ । एमाले गण्डकी प्रदेश सदस्य गोकर्ण लामिछाने भन्छन्, ‘बाहिरी रुपमा उहाँहरूले जतिसुकै गठबन्धन भने पनि भित्र जनता र कार्यकर्ताको तहमा त्यो हुन सकेको छैन । एमालेले एउटा यसवा, राष्ट्रिय र अन्तर्राष्ट्रिय मोटिभेटरको रुपमा रहेका व्यक्तिलाई अघि सारेको छ । हामी आशावादी छौँ । हामी सबै १ लाख ५ लाख मतदाताकोमा पुग्न त सकेका छैनौँ, तर उहाँहरूमा हामी एक पटक फेस टु फेस अब्दुसलाई हेर्छौँ भन्ने चाहना छ ।’

यस्तो छ स्थानीय तह निर्वाचनको मतपरिणाम  
गोरखा क्षेत्र नम्बर २ मा मा ५ वटा स्थानीय तह पर्छन् । यो क्षेत्रमा गोरखा नगरपालिकाका ८, ९, १०, ११, १२, १३ र १४ वडा, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका पर्दछन् । 

गोरखा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने स्थानीय तहका वडाहरूका उम्मेदवार रहेका अध्यक्षहरूले पाएको मत हेर्दा माओवादी केन्द्रले २२ हजार २५० मत पाएको थियो । दोस्रो स्थानमा कांग्रेसले २१ हजार ५७८, तेस्रो स्थानमा एमालेले ८ हजार ४८४ मत पाएको थियो ।

यस्तै बाबुराम भट्टराईको जनता समाजवादी पार्टीले ७ हजार ५०४ मत पाएको थियो । भट्टराईले प्रचण्डका लागि आफूले चुनाव जित्दै आएको ठाउँ खाली गरेका हुन् भने स्थानीय तहमा जसपाले पाएको मत बाबुराम भट्टराई निकटको मतको रुपमा मानिन्छ ।

स्थानीय तहमा सत्ता गठबन्धन दलले पाएको मत एक ठाउँमा मिसाउँदा ५१ हजार ३३२ मत हुन्छ, जुन एमालेले पाएको मतभन्दा ४२ हजार ८४८ बढी हुन्छ । कांग्रेसको पूरै भोट नगए पनि प्रचण्डलाई चुनाव जित्न गाह्रो नपर्ने माओवादी केन्द्रका स्थानीय नेताहरू बताउँछन् । 

३५ हजार नयाँ मतदाता 
यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा  ७० हजार ८२६ मतदाता थिए भने अहिले झन्डै ३५ हजार मतदाता थपिएर १ लाख ५ हजार २४० मतदाता पुगेका छन् । यसअघि २०७४ सालमा भएको संसदीय चुनावमा ६० हजार ११५ मत खस्दा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई विजयी भएका थिए ।

नेपाली कांग्रेससँगको तालमेलमा उनले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । बाबुरामले  ३१ हजार ८०७ मत पाएका थिए भने वाम गठबन्धनका उम्मेदवार नारायणकाजीले २४ हजार ९३३ मत पाएका थिए ।  

 के छन् प्रचण्डका चुनौती ? 
विगतमा गोरखा माओवादी द्वन्द्वको केन्द्र पनि थियो । गत स्थानीय तहको निर्वाचनमा देशका अरु ठाउँमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भए पनि गोरखामा भएन । कांग्रेसका केही ‘डाइहार्ट’ फ्यानले भोट नहाले पनि ७५ प्रतिशत कांग्रेसले भोट हाल्ने गोरखाका माओवादी केन्द्रका नेताहरूको विश्वास छ ।

कांग्रेसकै उम्मेदवार उठे नि एक पक्षले अर्को पक्षलाई असहयोग गर्ने उनीहरूको पहिलेदेखिकै शैली रहेका कारण पूर्ण रुपमा माओवादी केन्द्रलाई भोट नआउनु स्वाभाविक रहेको उनीहरू बताउँछन् । 

गोरखा–२ मा प्रचण्डका लागि हारजितको दृष्टिकोणबाट कुनै चुनौती नभए पनि निर्वाचित भएपछि उनले गरेका प्रतिबद्धता पूरा गर्ने सन्दर्भमा चुनौती हुने नेता न्यौपानेले बताउँछन् ।  उनी भन्छन्, ‘चुनाव जित्नका लागि प्रचण्डलाई चुनौती नरहे पनि जितिसके पछि जनताको अपेक्षालाई आफूले गर्छु भनेका प्रतिबद्धता कसरी सम्वोधन गर्ने भन्ने चुनौती होला ।

हाम्रो राजनीतिक प्रवृत्ति कस्तो छ भने चुनाव जितिसकेपछि फेरि फर्केर नजाने चलन छ । फर्केर जानेहरू पनि सामान्य औपचारिकताका लागि मात्रै जाने चलन छ । जितेर गएपछि मतदाताको अपेक्षालाई कसरी हल हुन्छ भन्ने एउटा चुनौती हो ।’ 

उनी अगाडि भन्छन्, ‘एउटा निर्वाचित सांसदले नीतिको क्षेत्रमा, कानुनको क्षेत्रमा काम गर्नुपर्ने तर विकास निर्माणको नेतृत्व गर्ने भनेर हामीले भाषण गरेका छौँ र मान्छेको अपेक्षा पनि त्यो छ । विकास निर्माणमा सहभागी पनि हुनुनपर्ने तर त्यसलाई पनि बोकेर जानुपर्ने अन्तरविरोध चुनौती हुनसक्छ ।’ 

के भन्छन् गोरखाका कांग्रेस कार्यकर्ता ? 

प्रचण्ड यहाँ आएपछि विकासका बाँकी काम पूरा हुने विश्वास लिएको छु : बलराम खड्का, नेपाली कांग्रेस, गोरखा कोषाध्यक्ष
 
पुराना कुराहरू, तिक्तताहरु अब उठाएर काम छैन । संविधान रक्षाका लागि गठबन्धन चाहिन्छ भनेर पार्टीले निर्णय गरिसक्यो, यसमा हाम्रो अरु विकल्प छैन । हामीले यहाँ कांग्रेसले माओवादीलाई भोट हाल्ने र भनेर प्रश्न ग¥यौँ भने अरु ठाउँमा माओवादीले कांग्रेसलाई भोट हाल्ने र भनेर उस्तै प्रश्न गर्दा के हुन्छ ? त्यसकारण पनि हामी कांग्रेसका कार्यकर्ता पार्टीको निर्देशन नमान्ने भन्ने हुँदैन ।  

पार्टीले जे निर्देशन गरेको हुन्छ त्यही हुन्छ । समानुपातिकमा हामीले रुखमा भोट मागेका छौँ । यो क्षेत्र र प्रदेशका लागि गोलाकारभित्रको हसिँया हथौडामा भोट मागेका छौँ । अहिले देशको प्रमुख पार्टी भनेको कांग्रेस र माओवादी केन्द्र हो । हामीले जित्छौँ, कति मतले जित्ने भन्ने कुरामात्र हो । गोरखा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन दलले जित्छ, यसमा कुनै शंका छैन । प्रचण्डजस्तो नेता गोरखामा आइसकेपछि यहाँका बाँकी विकास निर्माणका काम पनि पूरा हुन्छ भन्ने विश्वास लिएका छौँ । 

सुर्यप्रसाद पौडेल, कांग्रेस कार्यकर्ता : पालुङ्टार नगरपालिका वडा नम्बर ३  

म नेपाली कांग्रेसको सामान्य कार्यकर्ता हुँ । पार्टीको निर्देशनको पालना गर्नुपरिहाल्यो । म चाहिँ गठबन्धनलाई भोट हाल्छु । अहिले पहिला पहिला आ–आफ्नो पार्टी चुनावमा गएजस्तो त्यति जोश जाँगर छैन कि, जनता त्यसरी लागेको हैन कि भनेजस्तो माहोल चाहिँ छ । अब अलिकति माहोल तात्छ कि भन्ने लागेको छ । गोरखामा माओवादी र कांग्रेसको सम्बन्ध नराम्रो छैन ।

गोरखाकै विषयमा कुरा गर्नुपर्दा हिजो माओवादीले ३ गाउँपालिका र एउटा नगरपालिका हामीलाई दिनुस्, ७ वटा तपाईहरु लिनुस्, हामी त्यसरी जाउँ भन्दा कांग्रेस हामी एक्लैले जित्छौँ भन्यो । आखिर कांग्रेस २ गाउँपालिकामा सीमित हुनुपर्‍यो । यहाँको जिल्ला समन्वय समिति पनि माओवादीले पाएको छ ।

त्यसको आधा कांग्रेसलाई पनि दिएकाले कांग्रेसले धर्म नछोडी भोट हाल्नुपर्छ भन्ने मेरो भनाइ हो । क्षेत्र नम्बर १ मा कांग्रेसलाई पनि माओवादीले भोट हाल्नुपर्यो । उता पनि हामीले जित्नुपर्‍याे । हामी जहाँ जान्छौँ, त्यहाँ सामूहिक रुपमा यही कुरा गरिरहेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप