बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बागमतीको मुख्यमन्त्री भएपछि विकटलाई निकट बनाउँछु : इन्द्रबहादुर बानियाँ

बिहीबार, ०१ मङ्सिर २०७९, २२ : ३६
बिहीबार, ०१ मङ्सिर २०७९

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर  २ (ख) का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा आफूहरूले ध्यान दिने प्रतिबद्धता जनाएका छन्। 

बिहीबार मनहरीमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको प्रदेश क्षेत्रस्तरीय आमसभामा बानियाँले गठबन्धनको सरकार बनेपछि विकट क्षेत्रमा सडक, खानेपानी, बिजुली विस्तारजस्ता काममा तीव्रता दिइने बताए ।  लामो संघर्षपछि प्राप्त वर्तमान व्यवस्थाकै कारण गाउँगाउँमा बाटो, पानी, बिजुलीको सुविधा पुगेको स्मरण गर्दै बानियाँले यही व्यवस्थालाई सक्याउन एमालेका अध्यक्ष केपी ओली लागेको आरोप लगाए ।

गठबन्धनले जित्दा मुलुकले नै जित्ने र हार्दा मुलुक हार्ने उनको तर्क थियो। विपन्न वर्गको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क शिक्षा र विपन्नलाई आवास अबको निर्वाचनपछि बन्ने सरकारको पहिलो प्राथमिकता हुने बानियाँले बताए। 

नेपालमा गणतन्त्र र संघीयता आएपछि दलित, महिला, पिछडिएको वर्ग, जनजाति, सीमान्तकृत, अल्पसंख्यक सबैको अधिकार र प्रतिनिधित्व सुनिश्चित भएको उनको भनाइ छ । बानियाँले यही व्यवस्थामाथि नै एमालेका अध्यक्ष ओलीले धावा बोलेको बताए ।

बागमती प्रदेशमा एमालेको नेतृत्वमा साढे तीन वर्षसम्म सरकार चले पनि विकासको काममा भनेपछि परेको उनको भनाइ थियो।  गठबन्धनको काँधमा प्रदेश सरकारको जिम्मेवारी आएपछि आफ्नो क्षेत्रमा मात्रै डेढ अर्बभन्दा बढी बजेट विनियोजन भएको बानियाँले दाबी गरे। 

उनले विकासमा सहकार्य गर्न जान्ने पार्टी र नेता भएमा विकासले गति लिने बताए । संघीयताका कारण स्थानीय जनता विकासका हकदार भएर आफैले विकासका आयोजना छनोट गरि आफ्नो आवश्यकता अनुसार विकास गर्न सक्षम भएका उनले बताए । 

मंसिर ४ पछि बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचाइमा पुर्याउन बानियाँले बताए ।  उनले भने, ‘गरिब केन्द्रित, गाउँमुखी, सेवामुखी, न्यायमुखी र आयमुखी काममा प्रदेश सरकारलाई अघि बढाउनेछु। त्यसवेला प्रदेश सरकारले गरिब छोराछोरीलाई निःशुल्क शिक्षा दिने नीति लिनेछ।’

प्रदेश सरकारले प्रदेशको सबै गरिब तथा विपन्नहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने उनले बताए । ‘स्वास्थ्य बिमाको रकम लाखबाट बढाइनेछ। गरिबहरुको लागि १० हजार घर बनाउने काम पनि गरिन्छ। देशको राजधानीसमेत रहको प्रदेश भएकाले यसको गौरव बढाउन राजधानी चक्रपथ बनाउने तथा एयरपोर्ट बनाउनेजस्ता धेरै काम गरिन्छ’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप