आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङ प्रदेश सभा (१)मा एमालेका  राई विजयी, प्रतिनिधि सभातर्फ माओवादीका राई अगाडि

बिहीबार, ०८ मङ्सिर २०७९, ०६ : ४३
बिहीबार, ०८ मङ्सिर २०७९

खोटाङ प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनले १३ हजार एक सय ५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार नौ सय ६५ मत प्राप्त गरे । विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके विसंं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।

पार्टीको १ नं प्रदेश समिति सदस्य रहेका पिके जिल्लामा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । संविधानसभा सदस्यको भूमिकामा रहेको समयमा जयरामघाटको मोटरेबल पक्की पुल छिटो सम्पन्न गराउन पिकेको महत्वपूर्ण हात रहेको थियो ।

जनता समाजवादी पार्टीका राकेश राईले दुई हजार तीन सय ४०, नेकपा मालेका पदमप्रसाद आचार्यले एक हजार पाँच सय २५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले एक सय ६४ मत प्राप्त गरे । 

यस्तै, नेपाल मजदुर किसान पार्टीका केशव राईले ८२, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ तथा अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले तीन हजार एक सय ४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

चौहत्तर हजार छ सय ३९ मतदाता रहेको प्रदेशसभा (१)मा ३३ हजार नौ सय ४४ मत खसेको थियो । प्रदेशसभा सदस्यका लागि खसेको मतमध्ये एक हजार पाँच सय ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिए । 

प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रामकुमार राईको अग्रता कायमै छ । सुरुबाटै अग्रता कायम राखेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विशाल भट्टराईभन्दा एक हजार एक सय ९२ मतले अगाडि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप