आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–५ मा खिमलालको टिकट खोसेका घिमिरेले कसरी मारे बाजी ?

शुक्रबार, ०९ मङ्सिर २०७९, ११ : ०६
शुक्रबार, ०९ मङ्सिर २०७९

रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे निर्वाचित भए । घिमिरे सत्ता गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भरतकुमार शाहलाई पराजित गर्दै निर्वाचित भएका हुन् । 

यो क्षेत्रमा नेकपा एमालेले सुरुमा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईलाई टिकट दिएको थियो । निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले समेत भट्टराईलाई सिफारिस पनि गरेको थियो । सोही आधारमा  भट्टराईलाई राष्ट्रिय सभाबाट राजिनामा गर्न लगाएर उम्मेदवारी दर्ता गर्न लगाएको एमालेले घिमिरेलाई समेत टिकट दिइसकेको रहस्य खुल्यो । पार्टीले टिकट दिएपछि भट्टराई भन्दा अघि घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका थिए । अध्यक्ष केपी शर्मा ओलीले एउटै क्षेत्रमा दुई जनालाई टिकट दिएर उम्मेदवारी दर्ता गर्न लगाएको भन्दै त्यसवेला केही एमाले कार्यकर्ता आक्रोशित समेत बनेका थिए ।
 
पछि दोहोरो उम्मेदवारी परेको थाहा पाएपछि घिमिरेलाई उम्मेदवारी फिर्ता गर्न पार्टीले दवाव दिएपनि उनले उम्मेदवारी फिर्ता नगर्ने अडान लिए । घिमिरेले यस्तो अडान लिएपछि निर्वाचन ऐन अनुसार भट्टराईको उम्मेदवारीले मान्यता पाएको थिएन । 

अन्ततः एमाले अध्यक्ष ओलीले उक्त क्षेत्रमा भुलबस दुई जनालाई टिकट दिन पुगेको भन्दै घिमिरे नै आधिकारी उम्मेदवार रहेको विज्ञप्ति समेत निकाले । पार्टीले भट्टराईलाई फिर्ता बोलाएसँगै उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवारले जित्ने आँकलनविपरित घिमिरेले बाजी मार्न सफल भए । 

एमालेका घिमिरे र कांग्रेसका शाहको मतान्तरमात्रै ९ हजार ७०२ रहेको छ । घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदै निर्वाचित हुँदा शाहले २७ हजार १२० मत प्राप्त गरेका छन् । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । 

आफ्नो टिकट खोसिए पनि पार्टीका उम्मेदवार घिमिरेलाई जिताउन खटिएकाले सफलता मिलेको भट्टराई बताउँछन् ।  ‘मैले आफ्नो कर्तव्य सम्झेर आफैँ ५ नम्बर क्षेत्रको चुनावी संयोजक भएर निर्वाचनमा खटेँ’, उनले भने,‘मिहेनत गरेअनुसार परिणाम पनि पार्टीको पक्षमा आयो ।’

भट्टराईले आफ्नो राष्ट्रिय सभा सदस्य पद गुमेपनि कुनै गुनासो नभएको बताए । ‘हामीले पार्टीका लागि काम गर्ने हो । मेरो यता पद गएपनि जिल्लामा गुम्न दिएनौ । यो हिसावले मलाई गुनासो छैन’, भट्टराईले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप