मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

चोलेन्द्रको महाभियोग निष्प्रभावीबारे यस्तो छ सर्वोच्चको आदेश (आदेशको पूर्णपाठसहित)

‘प्रतिनिधिसभाको अधिकार महासचिवले प्रयोग गर्नु गम्भीर’
शुक्रबार, २३ मंसिर २०७९, २२ : ००
शुक्रबार, २३ मंसिर २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा भएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहितको संवैधानिक इजलासले संसद सचिवालयका महासचिव डा.भरतराज गौतमबाट जारी भएको पत्र तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो ।

बुधबार मात्रै संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बनसम्बन्धी पत्र निष्प्रभावी भएको भन्दै पत्र जारी गरेका थिए । राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्, न्याय परिषद, सर्वोच्च अदालत, स्वयं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाममा जारी पत्रमा महाभियोगको विषयमा खासै केही नबोली निलम्बन गरिएको यसअघिको पत्र निष्प्रभावी भएको भनिएको थियो ।

 तर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर संघीय संसदका महासचिव गौतमले निलम्बनमा नरहेको पत्र जारी गरेको भन्दै उक्त पत्र कार्यान्वयन नगर्न र नगराउन सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितले अन्तरिम आदेशको मागदावी गर्दै संवैधानिक इजलासमा रिट दर्ता गराएका थिए । बुधबार दर्ता भएको रिट शुक्रबारको संवैधानिक इजलासमा पेशीमा चढेको थियो । 

शुक्रबार कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले महासचिवको उक्त पत्र तत्काल कार्यन्वयन नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको हो । संघीय संसद सचिवालय समेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा विपक्षीहरुको नाममा बाटाको म्याद बाहेक ७ दिनको समय दिएर लिखित जवाफ पेश गर्न पनि आदेश जारी गरिएको छ । 

सर्वोच्चको आदेशमा भनिएको छ,
‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार र कारण भए सो समेत खुलाई म्याद सूचना प्राप्त भएको मितिले बाटाको म्याद बाहेक ७ (सात) दिनभित्र प्रत्यर्थी मध्येका सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्रशमशेर जबराले आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरुले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि समेत साथै राखी प्रत्यर्थीहरुका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नू ।’

त्यसैगरी अन्तरिम आदेशका सम्बन्धमा प्रतिनिधि सभाको निरपेक्ष अधिकारीमाथि अनुचित बन्देज लगाएको भन्ने आरोपमा सर्वोच्चले निष्प्रभावी हुनुको आधार र कारण खुलाउन नसकेको आदेशमा उल्लेख छ ।  आदेशमा भनिएको छ, ‘यसमा अन्तरिम आदेश जारी गरी पाउँ भन्ने निवेदन मागका सम्बन्धमा विचार गर्दा रिट निवेदनमा ‘प्रतिनिधि सभाको निरपेक्ष अधिकारमाथि अनुचित बन्देज लगाउँदै प्रत्यर्थी महासचिवले महाभियोग प्रस्तावलाई निस्कृय पार्ने प्रवृत्त धारणा तथा कलुषित मनसाय राखी २०७९/८/२१ गतेको पत्रको कानुनी तथा संवैधानिक आधार नरहेको तथा क्षेत्राधिकारको समेत अभाव रहेको’ भनी जिकिर लिएको देखियो । उल्लिखित महाभियोगसम्बन्धी कारबाहीका सन्दर्भमा संघीय संसद, प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले ‘अर्को प्रतिनिधि सभाको बैठकमा पेश गरी टुंगो लगाउनु पर्ने’ भनी उल्लेख गरी सम्माननीय सभामुख समक्ष पेस भएको देखिन्छ । तत् पश्चात प्रतिनिधि सभाबाट कुनै कारबाही भएको भन्ने तथ्य खुल्न आएको पाइएन । तर महासचिवले मिति २०७९/८/२१ मा लेखेको विवादित पत्रमा ‘सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्रशमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको’ भनी उल्लेख भएको पाइयो । तर पत्रमा निष्प्रभावी हुनुको कानुनी आधार भने खुल्न आएको देखिँदैन ।’

संवैधानिक इजलासले संसदलाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गर्नु गम्भीर र महत्वपूर्ण प्रश्न खडा भएको उल्लेख गरेको छ । साथै उक्त पत्र कार्यान्वयन गर्दा सुविधा सन्तुलनको दृष्टिले मनासिव नदेखिएको हुँदा तत्काल कार्यान्वयन नगर्न भनिएको छ । 

आदेशमा अगाडि भनिएको छ, ‘यसरी प्रस्तुत रिट निवेदनका सन्दर्भमा महत्वपूर्ण संवैधानिक एवं कानुनी प्रश्न उठाएको अवस्था देखिएको छ । महासचिवले आफूमा नरहेको अधिकारको प्रयोग गरी पत्राचार गरेको भन्ने पनि प्रश्न उठाइएको देखिन्छ । संविधानद्वारा प्रतिनिधि सभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेको सम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्न खडा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिब देखिएन । तसर्थ प्रस्तुत रिट निवेदन उपरको सुनुवाइ नटुंगिएसम्म लागि संघीय संसद सचिवालयका महासचिवद्वारा हस्ताक्षरित पत्र संख्या ०७९/०८० च.नं. ७ मिति २०७९/०८/२१ को पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ। आदेशको जानकारी तत्काल प्रत्यर्थीहरुलाई दिनू ।

बुधबार दर्ता गरिएको रिटमा शुक्रबार पिरट निवेदक पूर्णमान शाक्यसहित वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, बद्रीबहादुर कार्की, शम्भु थापा, गोपालकृष्ण घिमिरे र टिकाराम भट्टराईले बहस गरेका थिए । उनीहरूले महासचिवको उक्त पत्र कार्यान्वयन नगरी उत्प्रेषणको आदेशबाट बदर गर्न मागदावी लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप