इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
काठमाडाैँ । कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४/२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ र यसले स्वास्थ्य अधिकारीहरूलाई थप चिन्तित बनाएको छ ।
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारसम्म हालको प्रकोपमा दुई हजार ५३६ जना सङ्क्रमित पुष्टि भएका छन् भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ । यो प्रकोप गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको थियो ।
सन् २०१४/२०१६ को महामारीमा २८ हजारभन्दा बढी सङ्क्रमण र ११ हजारभन्दा बढी मृत्यु भएका थिए । त्यसबेला पहिलो सङ्क्रमण देखिएदेखि एक हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो । तर यस वर्षको प्रकोपमा त्यही सङ्ख्या दुई महिनाभन्दा केही बढी अवधिमै पुगेको छ । त्यस्तै, दुई हजार ५०० सङ्क्रमितको आँकडा पनि अघिल्लो महामारीको तुलनामा करिब तीन गुणा छिटो पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ । तीमध्ये इबोला भाइरस, सुडान भाइरस र बुन्डिबुग्यो भाइरसले ठूला प्रकोप निम्त्याउने गरेका छन् ।
यस वर्षको प्रकोप बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो । यो दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन । सन् २०१४/२०१६ को महामारी भने सबैभन्दा सामान्य मानिने इबोला भाइरसका कारण फैलिएको थियो ।
हालको प्रकोप मुख्य रूपमा कङ्गोमै सीमित रहेको छ । केही सङ्क्रमण युगान्डामा देखिए पनि अधिकांश प्रभावित क्षेत्र युगान्डा सीमावर्ती पूर्वी कङ्गोका पाँच प्रान्तमा केन्द्रित छन् ।
यसको विपरीत, सन् २०१४/२०१६ को महामारी लाइबेरिया, सियरा लियोन र गिनीसहित पश्चिम अफ्रिकाका धेरै मुलुकमा फैलिएको थियो । त्यसबेला संयुक्त राज्य अमेरिका र युरोपमा पनि सीमित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका थिए ।
यस वर्षको प्रकोपमा हालसम्म करिब ४० प्रतिशत मृत्युदर रहेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश बिरामीले लक्षण देखिएपछि ढिलो स्वास्थ्य संस्थामा पुगेका कारण मृत्यु बढेको हो । अघिल्लो महामारीमा भने मृत्युदर करिब ६६ प्रतिशत पुगेको थियो ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार इबोला भाइरस समूहका भाइरसमध्ये इबोला भाइरस सबैभन्दा घातक मानिन्छ । उपचार नपाएमा यसबाट सङ्क्रमितमध्ये ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम रहने उल्लेख गरिएको छ ।
स्वास्थ्य अधिकारीहरूले हालको प्रकोप अझै चरम अवस्थामा नपुगेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार पहिलो सङ्क्रमितको स्रोत अझै पहिचान हुन सकेको छैन । अधिकांश नयाँ सङ्क्रमित पहिलेदेखि निगरानीमा रहेका सम्पर्क सूचीभन्दा बाहिरबाट भेटिनु, साथै भाइरसको प्रकार पहिचानमा भएको ढिलाइले प्रकोप नियन्त्रणलाई अझ चुनौतीपूर्ण बनाएको छ ।
सन् २०१४–२०१६ को इबोला महामारी करिब तीन वर्षसम्म चलेको थियो । पहिलो सङ्क्रमण डिसेम्बर २०१३ मा देखिए पनि मार्च २०१४ मा मात्र प्रकोप पुष्टि भएको थियो र त्यसलाई जुन २०१६ मा समाप्त भएको घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण