सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : यासिन बोनु, मोरक्को

पोजिसन  :  गोलकिपर, उमेर  :  ३१ वर्ष
बुधबार, २८ मङ्सिर २०७९, १४ : ३८
बुधबार, २८ मङ्सिर २०७९

मोरक्कोले सन् २०२२ को विश्वकपमा स्वप्निल कथा लेखिरहेको छ । टोली पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारमा प्रवेश गर्ने क्रममा मोरक्कोले उपाधिको दाबेदार मानिएका स्पेन र पोर्चुगललाई स्तब्ध बनाएको थियो ।

‘अन्डरडग’ हरुको कथाले यतिबेला धेरै फुटबल फ्यानहरूको ध्यान खिचेको छ र बुधबार राति हुने खेलमा मोरक्कोले फ्रान्सलाई पनि घर पठाउन सक्छ कि सक्दैन भनेर हेर्न उनीहरू प्रतीक्षारत छन् । मोरक्कोमा हाकिम जियेच र असरफ हाकिमीजस्ता हाईप्रोफाइल खेलाडीहरू नभएका होइनन् । तर टोलीको अविश्वसनीय यात्राको मुख्य कडी भनेको उनीहरूको सशक्त डिफेन्स बनेको छ । र, यो डिफेन्सको मुटुमा छन्, गोलकिपर यासिन बोनु । 

सेभियाका गोलकिपरले कतार विश्वकपमा टोलीले खेलेका ५ मध्ये ४ खेलमा सुरुवात गरेका छन् । यसमध्ये तीन खेलमा उनले क्लिन सिट राख्न सफल भएका छन् । अन्तिम १६ मा स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका उनले खेलको १२० मिनेटमा एकपछि अर्को प्रहार रोक्दै स्पेनलाई निराश बनाएका थिए । ३१ वर्षीय गोलकिपरले त्यसपछि स्पेनका दुईवटा पेनाल्टी रोक्दै टोलीलाई अन्तिम आठसम्म पुर्‍याएका थिए ।

त्यसपछि क्वार्टरफाइनलमा यस प्रतियोगितामा गोलको वर्षा गरिरहेको पोर्चुगलको टोलीलाई रोक्दै उनले क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना चकनाचुर पारे । यस विश्वकपमा बोनुविरुद्ध उनकै सहकर्मीले मात्र गोल गर्न सफल भएका छन् । क्यानडाविरुद्ध समूह चरणको खेलमा २–१ को जीत हासिल गर्ने क्रममा नायेफ अगर्डले आत्मघाती गरेका थिए । पोर्चुगल र स्पेनविरुद्धको नकआउट चरणको खेलमा उनी म्यान अफ द म्याच नै बनेका थिए । 

बोनुको जन्म सन् १९९१ अप्रिल ५ मा क्यानडामा भएको थियो । उनी ला लिगा क्लब एथ्लेटिको मड्रिडबाट रियल जारागोजा र जिरोना हुँदै हाल सेभियाबाट व्यावसायिक फुटबल खेल्दैछन् । मोरक्कोको सिनियर टोलीमा उनले सन् २०१३ मा डेब्यू गरेका हुन् । हालसम्म ५० खेल खेलेका उनले मोरक्कोबाट दुई विश्वकप र तीनवटा अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप