शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जब कर्मचारीले अध्यक्ष तिमिल्सिनाको माइक बिगारिदिए...

बुधबार, २८ मङ्सिर २०७९, १८ : ०१
बुधबार, २८ मङ्सिर २०७९

संसद सचिवालयले १६ औँ संसद् सेवा दिवस मनाइरहेको छ । संसद् सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरूले सबैको ध्यान तानेको छ । मंगलबार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआइ संसद् सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरूले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताएका थिए । 

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद् सचिवालयका कर्मचारीहरूले बुधवार संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरू कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए । सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटिहरू गरेको भन्दै उनले घोर आपत्ति जनाए । 

कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै उनले कहिलेकाहीँ सुविधाहरू कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए । उनले ‘विमोचन गर्ने पुस्तक ढिला ल्याउने, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्ने र प्राविधिक विषयको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो ?,’ भन्दै प्रश्नसमेत गरे । 

उनले संघीय संसदमा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषण गरेको भन्दै आपत्ति जनाए । अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरूलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको समेत बताए ।

उनले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा, सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिने पनि बताए । 

त्यस्तै संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले अध्ययन विदाका लागि र क्षमता विकास गर्ने कुरामा संसद् सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताए । उनले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीहरुकै सहजताको लागि आफू ५ बजेसम्म बसेर भए पनि काम गरेको भन्दै साना कामहरूमा झमेला झिकेर नबस्न आग्रह गरे । 

उनले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीहरूले आफ्ना जिम्मेवारी र काम पूर्ण रूपमा गर्न र संसद्ले गरेका कामहरू कमजोर नदेख्न आग्रह गरे । कर्मचारीहरू कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थिति नभएको र प्राविधिक कुराहरूमा भएका गल्तीको जिम्मा आफूले लिने बताए । – न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप