शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको दलको ‘स्ट्यान्ड’ खोज्दै ठुला दल

सम्बन्ध बढाउन पर्ख र हेरको नीति
बिहीबार, २९ मङ्सिर २०७९, १९ : ३५
बिहीबार, २९ मङ्सिर २०७९

नेपालको राष्ट्रिय राजनीतिमा एक्कासि उदाएर संसदको चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख ३ ठुला दलले संशयपूर्ण चस्माले नियालिरहेका छन् । सरकार गठनका लागि निर्णायक शक्ति समेत मानिए पनि गठबन्धन दल बहुमतको नजिक नजिक पुगेका बेला यो दलसँग ठुला दलहरू मध्ये कुनै दलसँगपनि हालसम्म कुनै संवाद सुरु भएको छैन । सरकार बनाउनका लागि केही सिट नपुगेको गठबन्धन दल सिट पुर्‍याउन जेलमा रहेका नवउदय दल नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई जेलमुक्त गरेर सिट पुर्‍याउन तयार भए तर गठबन्धन दलले संसद्मा चौथो शक्तिमा रहेको रवि लामिछाने नेतृत्वको रावस्पालाई कुनै भाउ दिएको छैन । 

प्रमुख ३ ठुला दलका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय राजनीति, राष्ट्रिय मुद्दाहरुमा स्पष्ट बिचार नआएकोले सो दलसँग सम्बन्ध अघि बढाउने आधार सिर्जना भइनसकेको बताउँछन् । निर्वाचनको परिणाम आएपछि यो नयाँ दलले पुराना स्थापित दलसँग नजिकको सम्बन्ध बनाउने प्रयास गरेको छैन भने सरकार बनाउने कसरतमा लागेको दलले पनि सम्झेको छैन । 

नयाँ सरकारमा जाने लालाशा प्रकट गरेका सो दलका सभापति लामिछाने चुनाव जितेपछि संसद्मा प्रतिनिधित्व गर्ने कुनैपनि दलका नेतासँग संवादमा गएका छैनन्, बरु उनी विगतमा सञ्चारकर्म गरेका बेलाको ‘छापा’ मार्ने शैलीलाई निरन्तरता दिँदै चितवनका होटल देखि रासायनिक मलको गोदाममा छापा मार्न व्यस्त छन् । अर्कोतिर उनको नेपाली नागरिकताको प्रमाणपत्र अवैध रहेको विषयमा गृह मन्त्रालयमा उजुरी परेको छ भने सर्वोच्च अदालतमा पनि उनी विरुद्ध मुद्दा परेको छ । अदालतमा परेको मुद्दामा उनको खारेज भइसकेको नागरिकताको प्रमाणपत्र पेस गरेर उम्मेदवार भएकोले चितवन क्षेत्र नम्बर २ को मत परिणाम खारेज गरेर पुन निर्वाचन गर्न र लामिछानेको पार्टीमा रहेको सभापति पद खारेज गर्न माग गरिएको छ । 

पार्टी एउटा, विचार नौथरी !

निर्वाचन हुनुभन्दा ३ महिनाअघि बिचार, मार्ग निर्देशक सिद्धान्त कुनै कुराको टुङ्गो नलगाई राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । विभिन्न पेसा, व्यवसायका क्षेत्रबाट आएका व्यक्तिहरूको समूह रहेको सो दलको हालसम्म स्पष्ट बिचार, सिद्धान्त रहेको छैन । खासगरी देशको शासकीय संरचना, आफ्नो मौलिक राष्ट्रिय एजेण्डा लगायतका विषयमा यो दलमा ‘कन्फ्युजन’ रहेको आम बुझाई रहेको छ । पार्टीका सभापति लामिछाने संघीयताको आवश्यक नरहेको बताउँछन् भने पार्टीभित्रका संघीयताको पक्षपातीहरू पनि रहेका छन् । कोही पत्रकारिता, कोही चिकित्सक, कोही राजावादी, कोही कम्युनिस्ट, कोही कांग्रेस, कोही चलचित्रकर्मी विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरू सांसद बनेका छन् । 

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँँडे पार्टीले संघीयतालाई स्वीकार गरेको तर सुधारिएको संघीयता हुनुपर्ने पार्टीको धारणा रहेको रातोपाटीलाई बताए । उनले यसो भने पनि गत निर्वाचनमा संघीयता आवश्यक नरहेकोले प्रदेशमा उम्मेदवारी नदिएको सो दलका सभापति रवि लामिछानेले सार्वजनिक रूपमा बताएका थिए । 

पार्टीमा रहेका पदाधिकारीदेखि नवनिर्वाचित सांसदहरू विभिन्न पृष्ठभूमिबाट आएका छन् । नवनिर्वाचित सांसदहरू मध्ये समानुपातिक सांसद बनेका सन्तोष परियार एमाले पृष्ठभूमिका व्यक्ति हुन् । कुनै बेला एमाले नेता महेश बस्नेतको विश्वासपात्र रहेका उनी एमाले छोडेर रास्वपामा लागेका थिए । समानुपातिक सांसद बनेकी विनिता कठायत राजावादी पृष्ठभूमिकी व्यक्ति हुन जो रवि लामिछाने ग्यालेक्सी टिभीमा काम गर्दा प्रशासन शाखामा काम गर्थिन । यस्तै तोशिमा कार्की, डोलप्रसाद अर्याल र चन्दा कार्की चिकित्सक हुन् । समानुपातिक सांसद सुमना श्रेष्ठ महिला अधिकारवादी हुन भने असिम शाह चलचित्र क्षेत्रका व्यक्ति हुन् । यस्तै रवि लामिछाने, सोविता गौतम र निशा डाँगी पूर्व सञ्चारकर्मी हुन् । 

विभिन्न पेसा, व्यवसाय र फरक फरक पृष्ठभूमिबाट एक ठाउँमा आइपुगेका उनीहरूले पार्टीको कुनै ठोस बिचार र सिद्धान्त नभएका कारण सार्वजनिक कार्यक्रममा आफू अनुकूलको विचार, धारण सिद्धान्त व्यक्त गर्दै आएका छन् । 

सरकारमा जाने वा नजाने भन्नेमा पनि यो दलले हालसम्म पार्टीको आधिकारिक विचार सार्वजनिक गर्न सकेको छैन । तर बिचार मिल्ने, धारणा मिल्ने खालको सरकार बन्ने अवस्थामा पार्टी सरकारमा जाने सो दलका केन्द्रीय सदस्य अरनिकोले बताए । 

कुन राजनीतिक दलले कसरी लिएका छन् रास्वपालाई ? 

उहाँहरूको दृष्टिकोण स्पष्ट भयो भने त्यसले सहकार्यका ठाउँहरू सिर्जना गर्छ : प्रकाश शरण महत, प्रवक्ता, नेपाली कांग्रेस

उहाँहरूले अहिलेसम्म आफ्नो विचार, धारणा, दृष्टिकोण स्पष्ट गर्नुभएको छैन । मूलत यो निर्वाचनमा स्थापित दलहरुको नेतृत्वलाई नै आलोचना गरेर युवा पंक्तिमार्फत सामाजिक सञ्जालमा प्रचार अभियानमार्फत असन्तुष्टि प्रकट गरेर उहाँहरू आउनुभयो । उहाँहरूसँग आशा भन्दा पनि हामीप्रति जुन अपेक्षा गरिएको थियो त्यो पूरा भएन भन्ने सन्देश युवा मतदाताहरूले दिएका हुन् । तर उहाँहरूले के भूमिका निर्वाह गर्ने हो त्यसलाई स्पष्ट गर्नुभएको छैन ।

उहाँहरूले आफ्नो दृष्टिकोण ल्याएपछि मात्रै हाम्रो पनि उहाँहरूप्रतिको हाम्रो दृष्टिकोण पनि स्पष्ट हुँदै जानेछ । हामीले यो यो लोकतन्त्रका लागि लड्दै अधिकार सुनिश्चित गर्दा जुन उपलब्धि हासिल भएको छ, त्यो हिसाबले उहाँहरुपनि आउनुभएको छ । आगामी दिनमा उहाँहरूको परीक्षण हुँदै जानेछ । सरकारमा सहभागी हुनेबारे हालसम्म गठबन्धन दलसमक्ष उहाँहरूबाट त्यस्तो कुनै प्रस्ताव आएको छैन । व्यक्तिगत रूपमा सरकारमा जाने कुरा यदाकदा यहाँहरूबाट पनि उठेको देखिन्छ तर स्पष्ट रूपमा आएको छैन । 

उहाँहरू अहिले कुन बिचारमा हुनुहुन्छ, उहाँहरूको स्ट्यान्ड के हो भन्ने हामीले थाहा पाउन सकेका छैनौँ । अहिलेको व्यवस्थालाई सुधार्दै, परिमार्जन गर्दै जानुपर्छ भन्ने मान्यता हामी राख्छौँ । यसमा उहाँहरूको पनि दृष्टिकोण स्पष्ट भयो भने अरू सहकार्यका ठाउँहरू त्यसले सिर्जना गर्छ । 

अहिले उहाँहरूलाई सरकारमा लैजाने भन्ने कुनै सोच छैन । गठबन्धन दलकै करिब बहुमत छ, केही सिट अपुग भएकोले केही साना दलसँग पनि कुरा भइरहेको छ । अहिले तत्काल सो दललाई सरकारमा सहभागी गराउनेबारे केही कुराकानी भएको छैन । सैद्धान्तिक रूपमा गठबन्धन दलको नै सरकार बनाउने हाम्रो नीति रहेको छ । 

उहाँहरूको बिचारले ठोस आकार लिएपछि मात्रै सम्बन्ध अघि बढ्न सक्छ : प्रदीप ज्ञवाली, उपमहासचिव,  नेकपा एमाले 

राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा प्रगति गर्नुभयो उहाँहरूलाई शुभकामना छ । राजनीतिक दलहरूलाई एक पटक उदाउन गाह्रो छैन, मुख्य कुरा कसरी टिक्छन् भन्ने हो । नयाँ नामको विगतमा पनि धेरै पटक प्रयोग भएको हो । माओवादी आफैँ पनि नयाँ शक्ति भनेर उदाएर आएको थियो तर १५ वर्षको अवधिमा अहिले कुन रूपमा छ हामी देख्न सक्छौँ । बाबुराम भट्टराईको नयाँ शक्ति, विवेकशील साझा जुन ढंगले उदाएका थिए, उनीहरूको उदय र अस्तबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाठ सिक्नुपर्छ र राष्ट्रिय राजनीतिक मुद्दामा कहाँ कहाँ कुन ढंगले उभिन्छ प्रश्न त्यो हो । 

अहिले हेर्दा उहाँहरू कैयौँ प्रश्नहरूमा द्विविधामा देखिनुहुन्छ । उहाँहरूकै नेताहरूको कुरा सुन्दाखेरीपनि कोही केन्द्रीकृत शासन प्रणाली, कोही विकेन्द्रीकृत शासन प्रणालीको पक्षमा बोलिरहनुभएको छ । सरकारमा जाने वा नजानेबारे पनि एउटै धारणा आएको देखिँदैन । त्यसकारण उहाँहरूको बिचारले ठोस आकार लिउन त्यसपछि मात्रै उहाँहरूको बारेमा टिप्पणी गर्न राम्रो हुन्छ । मुद्दामा उहाँहरू कहाँनिर उभिने हो भन्ने नै प्रष्ट छैन । हिजोसम्म त उहाँहरूलाई पुरानाले गरेनन् भनेर आलोचना गरे पुग्थ्यो, अहिले उहाँहरू त्यही ठाउँमा आइसकेपछि उहाँहरूलाई त्यही प्रश्न गर्दा उहाँहरूको जवाफ के हुन्छ त ? यी प्रश्नमा उहाँहरू खुल्दै जानुभयो भने सहकार्यको स्वरूप त्यसले निर्धारण गर्छ । 

आवश्यकता पर्‍यो भने छलफल पनि हुनसक्छ : देव गुरुङ, महासचिव, माओवादी केन्द्र 

नयाँ आएको स्वतन्त्र पार्टीसँग हाम्रो केही कुराकानी नै भएको छैन । आवश्यकता अनुसार संसद्का सबै दलसँग भेटघाट छलफल सहकार्यका लागि कुराकानी त हुनसक्छ । अहिलेसम्म उनीहरूले स्पष्ट रूपमा त्यो दलको बिचार धारणा त सार्वजनिक गरिसकेको छैन । संयुक्त सरकारमा सहभागी हुनेबारे अहिलेसम्म स्पष्ट चित्र आइसकेको छैन, पछि आवश्यकता पर्‍यो भने छलफल पनि हुनसक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप