शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता

बिहीबार, ०१ जेठ २०८२, १८ : २४
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र संयुक्त राष्ट्रसङ्घ एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगका कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अर्मिडा सेल्सिया अदिसजमानाबीच शिष्टाचार भेट भएको छ । 

सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगमा भएको भेटमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्यका विभिन्न आयाममा छलफल भएको छ । भेटका क्रममा आयोगका उपाध्यक्ष शिवराज अधिकारीले एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्यको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसङ्घ एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

उनले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि देखिएको वित्तीय न्यूनता पूर्ति गर्नका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा  सहकार्य विस्तार गर्ने तर्फे सहजीकरणका लागि अनुरोध गरे । 

साथै, नेपालको अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति, जलवायु परिवर्तन सम्बद्ध मुद्दा लगायतका विषयमा थप सहकार्य विस्तार गर्ने सम्बन्धमा जोड दिए ।  

भेटका क्रममा संयुक्त राष्ट्रसङ्घ एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगका कार्यकारी निर्देशक  अर्मिडा सेल्सिया अदिसजमानाले नेपालले अतिकम विकसित मुलुकहरूको संयोजक  र ग्रुप अफ ७७ को सदस्यका रूपमा संयुक्त राष्ट्र सङ्घमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

साथै, उनले नेपालमा दिगो विकास लक्ष्यको कार्यान्वयन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, जलवायु परिवर्तन, व्यापार तथा पारवहन, तथ्याङ्क प्रणालीमा सुधार लगायतका विविध आयाममा हुँदै आएको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।  

जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परेको प्रभावका सम्बन्धमा विमर्श गर्नका लागि आयोजना गरिएको सगरमाथा संवादमा सहभागी हुन कार्यकारी निर्देशक आजै नेपाल आएका हुन् । 

शिष्टाचार भेटमा राष्ट्रिय योजना आयोगका सदस्यहरू, सदस्य सचिव एवम् उच्च पदस्थ अधिकारी तथा संयुक्त राष्ट्रसङ्घका तर्फबाट आवासीय प्रतिनिधि सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप