शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र बाबुरामको मिलन कहिले ?

शुक्रबार, ०१ पुस २०७९, १५ : २३
शुक्रबार, ०१ पुस २०७९

‘अब प्रचण्ड र बाबुराम सँगै उभिनुको धेरै ठूलो अर्थ र महत्त्व छ । हामी अब एउटै ठाउँमा उभियौँ । अब कसैले रोकेर रोकिँदैन । एक ठाउँमा उभिने ठूलो कुरा हो,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । २०७९ साल साउन ३१ गते प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्न र घोषणापत्र लिएर चुनावमा जाने सहमति भएपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिर निस्कने क्रममा उत्साहित हुँदै प्रचण्डले यस्तो बताएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लगत्तै समाजवादी केन्द्र बनाएर जाने विषयमा प्रचण्ड र बाबुरामबीच समझदारी भयो । ‘आजै पार्टी एकता भएको होइन । चुनावपछि एउटै केन्द्र बनाउने समझदारीमा गएका छौं । घोषणापत्र र चुनाव चिह्न साझा हुने भएपछि हामी एक ठाउँमा उभियौं,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘यसको नेपाली राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशको आर्थिक रुपान्तरण गर्नमा निकै ठूलो महत्त्व छ ।’

प्रचण्ड र बाबुराममात्रै नभएर एकीकृत समाजवादी लगायत अन्य दलहरुलाई समेत समाहित गरेर समाजवादी केन्द्र बनाउने प्रचण्डले उद्घोष गरे ।

यहीबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष  बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ प्रचण्डलाई छोडेर चुनाव नलड्ने घोषणा गरे । प्रदेश र प्रतिनिधि सभा चुनावमा प्रचण्ड बाबुराम प्रायः एउटै मञ्चमा देखिए । आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोडेपछि बाबुराम उम्मेदवारी दर्तादेखि चुनावी सभाहरुमा समेत सँगसँगै सहभागिता जनाए । विगतका तितामिठा बिर्सिएर पहिलेजस्तै प्रचण्ड र बाबुराम मिलेर विभिन्न कार्यक्रममा सँगै देखा परेपछि पुराना माओवादी नेता कार्यकर्तामा समेत उत्साह जाग्यो ।

माओवादीकै चुनाव चिह्न लिएर प्रतिनिधिसभामा दुई र प्रदेशसभामा दुई जना आफ्ना पार्टीका उम्मेदवार खडा गरेका बाबुरामले तीमध्ये तीन जनालाई निर्वाचित गराउन सफल भए । प्रतिनिधिसभामा मानुषी यमी भट्टराई पराजित भए पनि महेन्द्र राय यादव निर्वाचित भए । प्रदेशसभामा गंगानारायण श्रेष्ठ र फनिन्द्र देवकोटा दुवै निर्वाचित भए ।

तर, निर्वाचन पूरा भई सरकार बनाउने विषयमा छलफल अघि बढ्दा समेत प्रचण्ड र बाबुराम एउटै पार्टीमा मिलन हुनेगरी प्रक्रिया अघि बढेको छैन । समावादी केन्द्र बनाउने विषयमा नेताहरुबीच संवाद समेत अघि बढ्न सकेको छैन ।

समाजवादी केन्द्र बनाउने भनिए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने घोषणा गरेको छ । एकीकृत समाजवादी राष्ट्रिय पार्टी हुन नसकेपछि सो पार्टीका नेताहरु एमालेमा फर्किने कि माओवादी केन्द्रमा समाहित हुने भन्नेमा दुई धारमा विभाजित देखिएपछि तत्काल कसैसँग एकता नगर्ने निर्णयमा पार्टी पुगेको हो ।

नेकपा राष्ट्रिय एकता अभियानका वामदेव गौतम एमाले सहित माओवादी र एकीकृत समाजवादी लगायत दलहरु एकता गर्नुपर्ने पक्षमा छन् । एमाले छोडेका प्रभु साह समेत आफ्नो नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा छन् । उनीसमेत तत्काल समाजवादी केन्द्रमा आउने अवस्थामा छैनन् । समाजवादी केन्द्र बनाउने भनिएका दलहरु एकपछि अर्को अल्झनमा परेपछि प्रचण्ड र बाबुरामबीचको मिलनमा समेत ढिला भइरहेको छ ।

तर, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग समाजवादी केन्द्र बनाउनेगरी समझदारी भएको बताए । तर, पार्टी एकता गर्नेगरी कुनै लिखित सहमति भने नभएको उनले स्पष्ट पारे । ‘हामीले  दीर्घकालीन रुपमा नयाँ पार्टी बनाउनेगरी समझदारी भयो । त्यसपछि एउटै घोषणापत्र र चुनाव चिह्न लिनुभयो,’ बस्नेतले भने, ‘अब समाजवादी केन्द्र बनाउनेगरी पुनः छलफल र भेटघाट गरेर निर्णयमा पुग्छौं ।’

बाबुराम ढिलोचाँडो एउटै पार्टीमा हुनेमा माओवादी नेताहरु ढुक्कजस्तै छन् ।

यसरी एउटै चुनाव चिह्न र घोषणापत्र मान्न तयार भए

बाबुराम आफ्नो विचार र दृष्टिकोणमा अडान भएका नेता हुन् । तत्कालीन जसपा छाडेपछि बाबुराम पार्टीविहीन अवस्थामा पुगे । यति ठुलो राजनीतिक इतिहास भएका तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुराम कमजोर भए पनि माओवादीमा निःसर्त फर्किन तयार भएनन् । आफूले ७ वर्ष अघिदेखि भन्दै आएको अडान ‘माओवादी रिफर्म’मा उनी अडिग रहे ।

माओवादी पार्टी रिफर्म गर्नेगरी समाजवादी केन्द्र बनाउने भएमात्रै एउटै चुनाव चिह्न र घोषणापत्र लिन तयार हुने उनको अडान थियो । इतिहासकै अप्ठ्यारो अवस्थामा पुग्दा समेत बाबुराम निःशर्त माओवादीमा फर्किन तयार नभएको विषयमा एक माओवादी पदाधिकारीले आश्चर्य प्रकट गरे । ‘हामीले बाबुरामजीलाई माओवादीमै फर्काउन कोसिस गर्‍यौं । अब पार्टीमा निकै कमजोर हुनुभयो, फर्किनुहुन्छ कि भन्ने थियो,’ ती  माओवादी पदाधिकारीले भने, ‘उहाँ(बाबुराम) माओवादीमा फर्किन तयारै हुनु भएन । हामीले धेरै शृङ्खलामा संवाद र छलफल गर्‍यौं । माओवादीमा आउन तयार नभएपछि समाजवादी केन्द्र बनाउनेगरी समझदारी बन्यो ।’

बाबुरामसँग माओवादीबाट जनार्दन शर्माले सबैभन्दा पहिले संवादको प्रयास थालेका थिए । त्यसपछि वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरुले संवादमा जोडिएका हुन । त्यसपछि मात्रै अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जोडिएर बाबुरामसँग संवाद गरेका हुन् । बाबुरामसँगको संवादमा महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठ समेत जोडिएका थिए । प्रचण्ड निवास खुमलटार वा अन्य ठाउँमा भेट्दा हल्ला ज्यादै हुने भएपछि हात्तिवनमा प्रचण्डको नातामा भान्जा पर्नेको घरमा नियमित संवाद भएको नेपाल समाजवादीका नेता गंगानारायण श्रेष्ठले बताए ।

‘हामीले खुमलटार वा अन्य कुनै ठाउँमा भेट्दा धेरै हल्ला हुने भएपछि प्रचण्ड कमरेडको नातामा भान्जा पर्नेको घरमा नियमित बसेर छलफल गर्न थालियो । संवादका शृङ्खला जोडेर साध्य छैन, धेरै पटक भए,’ उनले भने, ‘प्रचण्ड र बाबुराम मात्रै पनि एक्लाएक्लै धेरै पटक संवाद भयो । प्रचण्ड, बाबुराम सर सहित म, महेन्द्र यादव, जनार्दन, वर्षमान, शक्तिजी लगायत नेता बसेर संवाद गरेका थियौं ।’

अहिलेकै अवस्थामा माओवादीमा फर्किने स्थिति नभएपछि चुनावपछि समाजवादी केन्द्र बनाउने समझदारी बमोजिम एउटै चुनाव चिह्न र घोषणापत्र लिन बाबुराम तयार भएको श्रेष्ठले बताए ।  

माओवादीमै बाबुराम समाहित नहुने

२०७२ साल असोज ९ गते माओवादीलाई ‘भत्किएको घर’ संज्ञा दिँदै बाबुरामले पार्टी परित्याग गरेका थिए । यसका बाबजुद अहिले माओवादीकै चुनाव चिह्न लिएर उनले आफ्ना पक्षका उम्मेदवार किन खडा गरे भन्नेबारे चासो बढ्नु स्वाभाविक हो ।

तत्काल चुनाव चिह्न नयाँ हुँदा चुनाव जित्न कठिन हुने भएकाले बाबुरामले माओवादीकै चुनाव चिह्न र घोषणापत्र लिन सहमति जनाएको  श्रेष्ठले बताए । ‘हामीले माओवादीसँग एकता गर्नेगरी कुनै लिखित र मौखिम सहमति भएको छैन । माओवादी पार्टी रुपान्तरण गर्नेगरी, माओवादी केन्द्र बनाउनेगरी भद्र सहमति भयो,’ श्रेष्ठले भने, ‘त्यसपछि तत्काल नयाँ चुनाव चिह्न लिँदा चुनाव जित्न गाह्रो हुने भएकाले हसियाँ हथौडा प्रयोग गर्‍यौं ।’

माओवादीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचित भएका कारण संसदमा आफूहरुको पहिचान माओवादीकै सांसदको रुपमा हुने उनले बताए । यद्यपि अहिलेकै माओवादी पार्टी र चुनाव चिह्न दीर्घकालीन रुपमा मान्नेगरी आफूहरुले समझदारी नगरेको उनको भनाइ छ ।

नेपाल समाजवादीले बोलायो पुस १५ गते भेला   

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले निर्वाचन परिणाम आए लगत्तै समीक्षा बैठक राखेको थियो । बैठकले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको समीक्षा गर्नुका साथै सत्ता साझेदारीका विषयमा समेत छलफल गरिसकेको छ ।

यही पुस १५ गते देशैभरबाट प्रतिनिधि बोलाएर राजनीतिक समितिको बैठक आयोजना हुने श्रेष्ठले बताए । ‘हामीले चुनावी तालमेल गरेर कतिपय ठाउँमा राम्रो नतिजा हासिल गर्‍यौं, कतिपय ठाउँमा सोचे जस्तो नतिजा आएन,’ श्रेष्ठले भने, ‘अब संघदेखि प्रदेशसम्मका सरकार निर्माण र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्नेछौैं ।’

नेपाल समाजवादीको बैठकले नै पार्टी एकता र सहकार्यका विषयमा स्पष्ट नीति तय गर्ने अपेक्षा छ ।

एकता संयोजन समिति सेलायो

एमाले बाहेकका कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्ने उद्देश्यले निर्वाचन अघि एकता संयोजन समिति बनाउने निर्णय भएको थियो । जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान लगायत थिए ।

एमालेबाट प्रभु साह समेत विद्रोह गरेपछि उनको समूह समेतलाई जोडेर नयाँ पार्टी बनाउने योजना बनाएको थियो । एमाले बाहेकका पार्टीले एकता संयोजन समिति बनाएर समाजवादी केन्द्र बनाउने उद्घोष गरेका थिए । तर अहिलेसम्म एकता संयोजन समिति बन्न सकेको छैन ।

सबै कम्युनिस्ट घटकबीच समझदारी बन्न नसक्दा एकता संयोजन समिति बन्न सकेको छैन । ‘अहिले चुनावको सबै प्रक्रिया सकियो । अब सरकार बन्नेतिर जान्छ । त्यसपछि एकता संयोजन समिति बनाएर पार्टी एकता प्रक्रियामा जान्छ,’ माओवादी केन्द्रका सचिव गणेश साहले भने, ‘तत्काल एकता संयोजन समिति बनाएर एकता र ध्रुवीकरणमा सबैलाई जोड्दै जाने भन्ने छ ।’

चुनाव अघि नै एमालेबाहेकका कम्युनिस्ट पार्टीहरु एक हुने निर्णय भइसकेकाले एकता हुनेमा कुनै समस्या नभएको साहको भनाइ छ । तर, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले तत्काल कुनै पार्टीसँग एकता नगर्ने प्रतिक्रिया दिए । ‘हामी एमाले माओवादी वा कुनै कम्युनिस्ट पार्टीसँग एकता गर्दैनौँ । संसदीय मोर्चामा विचार मिल्नेसँग सहकार्य हुन सक्छ,’ खतिवडाले भने, ‘तर, अहिले नै कुनै पार्टीसँग एकता गर्दैनौँ । हाम्रो नेतृत्व स्वीकार गरेमा जुनसुकै पार्टीसँग एकता गर्न तयार छौँ ।’

निर्वाचन अघि बनाएको एकता संयोजन समिति अब तत्काल नबनाइने खतिवडाले बताए । आफ्नै संगठनको बलमा पार्टीलाई बलियो बनाएर आगामी चुनावमा जाने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप