शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकेन स्टेसनको उडान : २० लाखको लगानी बढेर पुग्यो ५ करोड

शनिबार, ०२ पुस २०७९, १४ : ४९
शनिबार, ०२ पुस २०७९

करिब ४ वर्षअघि ललितपुरको झम्सिखेलबाट सुरु भएको चिकेन स्टेसनले छोटो समयमै व्यावसायिक उडान समात्न सफल बनेको छ । नेपाली बजारमा केएफसीको रजगज देखेपछि सुरु भएको स्टेसनले यति बेला आफ्नो उपस्थिति देशभर पुर्‍याइसकेको छ भने विदेशी बजारमा समेत आफूलाई उपस्थिति गराउने योजना बुनिरहेको छ ।

चिकेन स्टेसनमा सयौँले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा समेत हजारौँ मानिसहरू जोडिएका छन् । महँगो मूल्य तिरेर चिकेन आइटम खाइरहेका नेपालीहरूलाई सस्तो दाममै चिकेन आइटम दिने लक्ष्य राखेको चिकेन स्टेसनले सञ्चालनमा आएयता पछाडि फर्कनु परेको छैन । ‘चिकेन पारखीहरूले सस्तो मूल्यमै क्रन्ची चिकेन, चिकेन बल्स लगायतका चिकेन आइटमको स्वाद चाख्न दिने हाम्रो लक्ष्य दिनदिनै मजबुत भइरहेको छ,’ कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अजेश ताम्राकार बताउँछन् । 

झम्सिखेलबाट सुरु भएको यात्रा

अजेश ताम्राकार र निकेश ताम्राकार मिलेर ४ वर्षअघि झम्सिखेलमा चिकेन स्टेसनको पहिलो रेस्टुरेन्ट स्थापना गरेका थिए । झम्सिखेलमा १२० सिट क्षमताको चिकेन स्टेसन खुलेयता भने संस्थापकहरूले पछाडि फर्केर हेर्नुपरेको छैन ।

यति बेला देशभर चिकेन स्टेसनका ४३ वटा आउटलेट छन् । चिकेन स्टेसनले ह्वाइट हाउस र शंखमुल हुँदै देशभरका धेरै स्थानमा आफूलाई फैलाइसकेको छ । जसमध्ये २७ वटा आउटलेट काठमाडौँ उपत्यकामा मात्रै छन् भने बाँकी १६ वटा देशका विभिन्न स्थानमा पुगिसकेका छन् । बाँकी स्थानमा समेत पुग्ने गरी तयारी भइरहेको संस्थापक अजेश ताम्राकार बताउँछन् ।

‘चिकेन स्टेसनको आउटलेट नपुगेको ठाउँमा पनि पुर्‍याउने हाम्रो लक्ष्य छ,’ ताम्राकार भन्छन्, ‘बुटवल र नेपालगञ्ज लगायत ठाउँमा पुगेको छैन ।’ तर, छिट्टै ती स्थानसहित देशका अन्य भू–भागमा उपभोक्ताले समेत चिकेन स्टेसनको स्वाद चाख्न पाउने ताम्राकारको भनाइ छ ।

सस्तोमा चिकेन आइटम

नेपालमा चिकेन स्टेसनको जन्म हुनुअघि केएफसीले मात्रै चिकेन आइटमा बेच्थ्यो । महँगोमा मूल्यमा बेचिने चिकेन आइटम खानलाई समेत दरबारमार्गमा लामो लाइन हुने गर्थ्यो । नेपालीहरूको चिकेनप्रतिको यही आबद्धता देखेपछि अजेश र निकेश ताम्राकार मिलेर त्यस्तै स्वाद पस्कने रेस्टुरेन्टको परिकल्पना गरे । र, सुरु भयो चिकेन स्टेसनको यात्रा ।

‘३/४ वर्ष अघि नै केएफसीमा प्रतिपिस चिकेनको मूल्य २५०/२८० पर्थ्यो,’ ताम्राकार भन्छन्, ‘यो मूल्यबाट ८०/८५ प्रतिशत नेपाली वञ्चित बन्नुपर्‍यो ।’ ताम्राकारका अनुसार सबै नेपालीलाई चिकेनको स्वाद चखाउने लक्ष्यसहित चिकेन स्टेसनको जन्म भएको हो । यसमा सस्तो मूल्यमा सोही गुणस्तरको र नेपाली स्वादसहितको चिकेन चाख्न पाइन्छ । तर, चिकेन स्टेसनमा चिकेनसहित अन्य आइटम समेत पाइन्छ ।

‘काठमाडौँ उपत्यकामा चिकेनभन्दा बफ आइटम धेरै जान्छ,’ ताम्राकारले थपे, ‘भू–गोलअनुसार छुट्टाछुट्टै आइटम बिक्री हुन्छ ।’ सस्तो दाममा चिकेन पारखीहरूलाई चिकेन आइटम पस्कने लक्ष्य यति बेला पुरा भइरहेको ताम्राकार बताउँछन् ।

सेन्ट्रल किचेन

४ वर्षअघि झम्सिखेलमा चिकेन स्टेसन सुरु गर्दा १२० सिट क्षमताको ५०० स्क्वायार फूटको रेस्टुरेन्ट मात्रै थियो । तर, यस अवधिमा देशभर चिकेन स्टेसन पुगिसकेको छ । हाल चिकेन स्टेसनले छुट्टै सेन्ट्रल किचेन समेत सञ्चालनमा ल्याएको छ । १५ हजार स्क्वायार फूटको सेन्ट्रल किचेन यूएनपार्कको छेउमा छ । जसबाट उपत्यकाका २७ वटा आउटलेटमार्फत बिक्री हुने अधिकांश आइटम उत्पादन र वितरण हुन्छ ।

सेन्ट्रल किचेनबाट चिकेन आइटम, मम, बेकरी आइटम लगायत धेरै प्रकारका मेनु उत्पादन हुन्छ । र, चिकेन स्टेसनको गाडीले सबै आउट लेटहरूमा पुर्‍याइदिन्छ । तर, उपत्यकाबाहिरका आउलेटमा भने काठमाडौँबाट आइटम पुर्‍याइँदैन । यद्यपि, उपत्यका बाहिरका आउटलेटबाट सेफ बोलाएर तालिमको व्यवस्था भने गरिन्छ । सेन्ट्रल किचेन सञ्चालन गर्दा ब्राण्डले कायम गर्न खोजेको गुणस्तर कायम रहने ताम्राकारको भनाइ छ । 

यसका लागि १ करोडभन्दा बढीको लगानीबाट सेन्ट्रल किचेन सञ्चालनमा ल्याइएको छ । सेन्ट्रल किचेनमा कर्पोरेट सेफसहित दक्ष जनशक्तिको टिम छ ।

२० लाखको लगानी

झम्सिखेलमा पहिलो आउटलेट खुल्दा २ जना मिलेर २० लाख रुपैयाँ लगानी गरेका थिए । जुन, लगानी बढेर अहिले ५ करोडभन्दा धेरै पुगिसक्यो । देशभरका आउटलेट स्थापना लगायतका ब्राण्डिङ र मार्केटिङ समेतमा लगानी गर्दा लाखबाट सुरु भएको यात्रा करोडमा पुगिसकेको ताम्राकारले बताए ।

यस्तै, चिकेन स्टेसनले यति बेला ‘चिकेन स्टेसन एक्सप्रेस’ भनेर नयाँ फ्रेन्चाइजी समेत खोल्ने योजना बनाएको छ । यसका लागि चिकेन स्टेसनले भक्तपुर दरबार स्क्वायारमा ३० सिट क्षमताको एक्सप्रेस सञ्चालनमा ल्याइरहेको छ । यस्तै, बढी भिडभाड हुने तर स्पेस नपाइने स्थानमा यही प्रकारको चिकेन स्टेसन सञ्चालनमा आउनेछ । 

१२ सयलाई रोजगारी

थोरै लगानीमा खुलेको चिकेन स्टेसनको लगानी विस्तारसँगै यसमा आबद्ध कर्मचारीको सङ्ख्या समेत बढिरहेको छ । सुरुमा झम्सिखेलमा सञ्चालनमा आउँदा ३०/३५ जना कर्मचारीबाट सञ्चालन भएको थियो । जुन, अहिले बढेर १२ सय भन्दा धेरै पुगिसकेको छ । देशभर ४३ वटा आउटलेट रहेको चिकेन स्टेसनमा उक्त सङ्ख्याका कर्मचारी रहेको ताम्राकार बताउँछन् । 

‘एउटा आउटलेटमा वेटर, कूक, सेफ र अकाउन्टसहित गरी कम्तिमा २० जना कर्मचारी हुन्छन्,’ ताम्राकारले भने, ‘यहीअनुसार अहिले देशभर १२ सयले प्रत्यक्ष रोजगारी पाइरहेको र अप्रत्यक्षमा थप हजारौँले रोजगारी पाइरहेका छन् ।’ यस्तै, नेपालमा चर्चित बनिरहेको चिकेन स्टेसनको आउटलेट खोल्न विदेशबाट समेत इच्छा देखिन थालेको छ ।

अहिले भारतका तीन स्थानबाट चिकेन स्टेसनको आउलेट खोल्न इच्छा देखिएको छ । विहार, सिलगढी र दार्जिलिङमा चिकेन स्टेसन खोल्न इच्छा आएको छ । यसबोहक, अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्सबाट समेत प्रस्ताव आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप