शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान्‌को यो बानीले आजित श्रीमती, १० वर्षको सम्बन्ध तोडिन्

आइतबार, ०३ पुस २०७९, १५ : ३०
आइतबार, ०३ पुस २०७९

एक चिनियाँ महिलाले आफ्नो १० वर्षको वैवाहिक सम्बन्ध तोडेकी छिन् । श्रीमानको फिसिङ (माछा मार्ने) बानीले आजित भएपछि उनले यस्तो निर्णय लिएकी छिन् । उनका श्रीमानले आफ्नो परिवारभन्दा पनि फिसिङलाई बढी महत्व दिने गरेको श्रीमतीले आरोप लगाएकी छिन् ।

अडिटी सेन्ट्रलका अनुसार चीनको सानडोङ प्रान्तस्थित जुवे काउन्टी पिपल्स कोर्टमा पेश गरिएको सम्बन्धविच्छेदको निवेदनमा झाङ थर भएकी महिलाले आफू श्रीमानको फिसिङ गर्ने बानीले दिक्क भइसकेको बताइन् । उनले भनिन्, ‘मैले घरको सबै काम गर्नुपर्छ, दुई सन्तानको हेरविचार पनि मैले नै गर्ने हो । तर श्रीमान् भने सोफामा बसेर आनन्दले स्मार्टफोन चलाइरहन्छन् र बेलुकाको खाना खाएपछि सधैँ साथीहरुसँग फिसिङ जान्छन् । मैले उनलाई त्यसो नगर्न र आफ्नो समय बच्चाहरुलाई पनि दिन आग्रह गरेँ । तर उनले मानेनन् । त्यसैले सम्बन्धविच्छेदबाहेक मैले अर्को विकल्प देखिनँ ।’

‘ब्रेकफास्ट तयार गर्न म बिहान ६ बजेभन्दा अघि नै उठ्नुपर्छ । आफू अफिस जानुअघि दुईजना बच्चालाई स्कूल पठाउँछु । भाँडा माझ्ने, घर सफा गर्ने, बच्चालाई स्कूलबाट ल्याउने र उनीहरुलाई होमवर्क गराउनेदेखि सबै मैले मात्रै गर्छु.... म थाकिसकेँ,’ झाङले अदालतमा पेश गरेको निवेदनमा लेखेकी छिन् ।

‘तर श्रीमान् भने मैले ब्रेकफास्ट बनाइसकेपछि उठ्छन्, कामबाट फर्किएपछि उनी सोफामा सुतेर मोबाइल फोन चलाउँछन्,’ उनले थपिन्, ‘बेलुकाको खाना खाएपछि उनी सिधै फिसिङका लागि जान्छन्, धेरैजसो त रातभरी माछा मारेरै बस्छन् ।’

श्रीमतीको गुनासोले वाक्क भएका सन थर भएका श्रीमानले पनि आफ्नो वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरे । दुई जनाबीच कुरा मिलाउन नसकेपछि न्यायाधिशले सम्बन्धविच्छेदको निवेदनलाई मञ्जुरी दिए ।

‘फिसिङ नराम्रो कुरा होइन तर जे कुराको पनि सीमा हुन्छ । विवाह भइसकेपछि श्रीमान् वा श्रीमती अथवा अभिभावकको रुपमा तपाईंले पनि केही जिम्मेवारी वहन गर्नुपर्छ... परिवारभन्दा अघि फिसिङलाई नराख्नुहोस्,’ न्यायाधिश फु होङ्लियनले सनलाई भनिन् । तर यी कुराले सनलाई केही असर परेको जस्तो देखिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप