शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादीको जनवर्गीय संगठन निष्प्रभावी

सोमबार, ०४ पुस २०७९, ०५ : ५०
सोमबार, ०४ पुस २०७९

नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अनावश्यक भद्दा हुँदा निष्प्रभावी हुँदै गएका छन् । सर्वसम्मत चयन गर्ने नाममा पदाधिकारी सहित सिङ्गो कमिटी भद्दा बनाउँदा कामकाजी हुन नसकेका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत चयनका नाममा चुनावी प्रतिस्पर्धामा जान नदिएपछि कमिटीहरु आवश्यकता भन्दा ठुला हुँदा प्रभावकारी काम गर्न नसकेका हुन् । अहिले माओवादीका कुनै पनि जनवर्गीय संगठनले सशक्त रुपमा भूमिका निर्वाह गर्न सकेका छैनन् । उल्टै गुटबन्दी र अनुशासनहीनता बढ्दै गएको गुनासो बढ्दो छ ।

पार्टी सदस्य संख्या नै ९ लाख हुँदा समेत हालै सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको कुल भोट ११ लाखमात्रै आएको छ । भ्रातृ संगठन तथा जनवर्गीय संगठन चलायमान हुन नसक्दा चुनावमा समेत अपेक्षित नतिजा आउन नसकेको कतिपयको भनाइ छ ।

संगठनको सबैभन्दा सशक्त मानिएको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सिंगो कमिटी अनावश्यक ठुलो र भद्दा हुँदा कामकाजी हुन सकेको छैन । अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा ४१ पदाधिकारी सहित २९९ केन्द्रीय कमिटी बनाइएको छ । संगठनमा असन्तुष्टि जनाउँदै पवन कार्कीले देशैभर समानान्तर कमिटी बनाएका छन् । सिंह नेतृत्वकै टिममा बसेका सात उपाध्यक्षले आफ्नै अध्यक्ष सिंहले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिने नाममा आर्थिक लेनदेनमा जोडिएको भन्दै विशेष राष्ट्रिय सम्मेलन गर्न माग गरेका छन् । एउटै संगठन दुई गुटमा विभाजित भएपछि सिंहलाई नेतृत्व सम्हाल्न गाह्रो भएको हो । तर, अध्यक्ष सिंहले संगठनमा एकाध समस्या भए पनि पदाधिकारी बैठक बसेर हल गरिने प्रतिक्रिया दिइन् ।

‘संगठनको अनुशासन बाहिर गएर केही साथीहरुले अनावश्यक प्रश्न उठाउनु भएको छ,’ सिंहले भनिन्, ‘अब पदाधिकारी बैठक बसेर संगठनलाई एउटा सेटमा बसाल्नेमा ढुक्क छौं ।’

पार्टीको अर्को जुझारु संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) मा सुवोध श्रीपालीको नेतृत्वमा ६१ पदाधिकारी सहित ३५१ जनाको केन्द्रीय कमिटी बनाइएको छ । आवश्यकता भन्दा बढी पदाधिकारी र केन्द्रीय कमिटी बनाउँदा यो संगठनले पनि नियमित बैठक बस्न र प्रभावकारी काम गर्न सकेको छैन । गत मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा समेत वाइसिएलको खासै भूमिका देखिएन ।

तर, वाइसिएलका उपमहासचिव पुष्प ओलीले संगठनले आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेको जिकिर गरे । ‘हामीले नियमित बैठक बस्ने, समीक्षा गर्ने लगायतका गतिविधि जारी राखेका छौं,’ ओलीले भने, ‘वाइसिएलकै सक्रियताले चुनावमा समेत यतिसम्म नतिजा दिन सक्यौं । त्यसैले वाइसिएल सक्रिय भएको छैन भन्न मिल्दैन ।’

यस्तै माओवादी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघको अध्यक्षमा जगत सिम्खडा छन् । शालिकराम जम्कट्टेल संगठनबाट बिदा भएपछि सिम्खडाले नै नेतृत्व गर्दै आएका छन् । उनी यसअघि बागमती प्रदेशसभामा निर्वाचित भई सांसद समेत भएका थिए । तर, अहिले निर्वाचनमा पराजित भएपछि संगठन निष्क्रिय जस्तै छ । सिम्खडाको नेतृत्वमा १५ पदाधिकारी भए पनि प्रभावकारी काम गर्न सकेको छैन ।

मजदुर संगठनसँगै अरु संगठन समेत देखिनेगरी काम गर्न नसकेको संगठनकी इन्चार्ज एवम् स्थायी समिति सदस्य जयपुरी घर्तीले बताइन् ।

अब पदाधिकारी सहित केन्द्रीय समिति बैठक बसेर संगठनलाई सक्रिय बनाउने घर्तीले बताइन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्षमा अमृता थापामगर छिन् । उनले पनि नियमित बैठक बस्ने र छलफल गर्ने काम अगाडि बढाउन सकेकी छैनन् । थापा गण्डकी प्रदेशसभा सदस्यमा उम्मेदवार भएपछि झन् संगठन निष्क्रिय भएको थियो ।

थापाले संगठनलाई चलायमान बनाउन नसक्दा आफू समेत पराजित भइन् । संगठनकी इन्चार्ज उर्मिला अर्यालले संगठन रिफर्म गर्नुपर्ने भएकाले कम सक्रिय देखिएको स्वीकार गरिन् । ‘हामी स्थानीय चुनाव हुँदै प्रदेश र संघको चुनावमा सक्रिय भएर लाग्यौं,’ अर्यालले भनिन्, ‘अब बैठक बसेर संगठनलाई रिफर्म गरेर सक्रिय बनाउनु पर्ने छ ।’
पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल भने अरु संगठनको तुलनामा चलायमान हुने प्रयास गरिरहेको छ । संगठनको अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा ६१ जना पदाधिकारी सहित २ सय केन्द्रीय सदस्य भए पनि यसले आफ्नो सक्रियतालाई बढाउँदै लगेको देखिन्छ  ।
प्रेस सेन्टरको पदाधिकारी जम्बो भए पनि प्रायःजसो बैठक बसेर छलफल गर्दै आएको छ । शिक्षक, किसान, वकिल, सुकुमबासी, पूर्व जनमुक्ति सेना, बुद्धिजीवी लगायत पेशागत संगठन समेत सक्रिय हुन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप