शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी मिलेर सरकार बनाउन सम्भव छैन : रेखा शर्मा

‘प्रचण्डले प्रधानमन्त्रीको दाबी छ भन्नु अनौठो होइन’
बुधबार, ०६ पुस २०७९, १० : १९
बुधबार, ०६ पुस २०७९

राष्ट्रपतिले गत आइतबार  संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् । आगामी पुस १० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि दलहरुबीच भेटघाट र छलफल युद्धस्तरमा जारी छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाबी गरेका छन् । काँग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले नेता चयन बाँकी रहेकाले को प्रधानमन्त्री हुने बाहिर आइसकेको छैन ।

उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री हुने दाबी प्रस्तुत गरिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री हुने दाउमा छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत पदमा पनि प्याकेजमै छलफल भइरहेको छ । प्रस्तुत छ, यिनै सन्दर्भ, पार्टीको आगामी योजनाका विषय, चुनावी परिणाम लगायतबारे माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् दाङ–२ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित रेखा शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः 

दाङ–२ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर सबैलाई चकित  पार्नु भयो नि ?

बाहिर त्यस्तो देखियो  । त्यस्तो बुझाइ पनि भयो । त्यस्तो बुझाई हुनु हुन्थेन भन्ने लाग्छ । दाङ–२ को परिवेश फरक छ । जुन ढंगले हामीले माहोल बनाएका थियौँ, त्यो हिसाबले बाहिरबाट हेर्दा असम्भव देखिन्थ्यो । त्यस क्षेत्रमा २०६४ र २०७४ सालमा हामीले चुनाव जितेको क्षेत्र हो । २०७० सालमा हाम्रो हार्‍यौं, काँग्रेसले चुनाव जित्यो । यो पटक काँग्रेस र हाम्रो गठबन्धन थियो ।

स्थानीय चुनावमा घोराही उपमहानगर एमालेले जितेकाले एउटा कुरा हुने भयो । तर यो क्षेत्र, त्यो उपमहानगर मात्रै होइन । बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरका ४ वडा समेटिएका छन् । घोराही उपमहानगरका ४ वटा वडा ३ नम्बर क्षेत्रमा पर्छन् । त्यसो हुँदा जे खालको आधार छ, त्यस हिसाबले हामी राम्रो अवस्थामा थियौँ । अर्को कुरा हामीले स्थानीय चुनावमा हारे तापनि हामी धेरै मतले अगाडि थियौँ ।

हामीले पछिल्लो चरणमा जे जस्तो माहोल बनाएका थियौँ । माओवादीले चुनाव जित्दैन, एमाले जित्छ भनेर जुन खालको मिडियामा प्रचार भयो । त्यो प्रचारका दृष्टिकोणले निर्वाचन धेरै ‘टफ कम्पिटिसन’मा थियो । एक हिसाबले भन्दा माथिल्लो स्तरको प्रतिस्पर्धा भन्न सकिन्छ । त्यसमा हाम्रो मेहनतको खाँचो थियो । हामीले दुःख, मेहनत र योजना साँच्चै दुख गरेरै बनायौँ र नतिजा हाम्रो पक्षमा पार्न सफल भयौँ ।

एमाले महासचिव पोखरेल चुनाव लड्दै छन् । माओवादीले  टिकट पाएपनि जित्दैन भन्ने गरेको सुनिन्थ्यो । चुनाव जित्न तपाईंको कुन तत्वले काम गर्‍यो भन्ने लाग्छ ?

मेरो बुझाई त्यस्तो थिएन । म दुई पटक समानुपातिक सांसद भइसकेकी थिएँ । म आफैपनि समानुपातिक सांसद भइसकेपछि अघिल्लो पटक प्रत्यक्षमा जान खोजेकी थिएँ । एमालेसंग तालमेल भएकाले प्रतिनिधि सभामा महरा सर लड्नुभयो, प्रदेशमा शंकर पोखरेल लड्ने भएपछि दाबी गर्ने अवस्था भएन ।

मैले यो पटक पनि पार्टी अध्यक्षलाई भनेकी थिएँ । सम्भव भएससम्म प्रत्यक्षमा प्रतिनिधि सभा चुनाव लड्छु । यदि मलाई टिकट दिन सम्भव हुँदैन भने पार्टीमा काम गर्छु भनेको थिएँ । पछि महरा सर चुनाव नलड्ने भएपछि स्वाभाविक रुपमा मेरो दोस्रोमा दाबी थियो । त्यस दाबी बमोजिम मैले टिकट पाएको हो । मेरो बारेमा के कस्तो मूल्याङ्कन गरियो, त्यो अर्कै कुरा भयो ।

हामी जस्तो नेताहरु खतरा नमोलेर कहाँ सफल हुन सकिन्छ र ? मैले खतरा मोलेरै प्रत्यक्षमा चुनाव लडेको हो । महिलाहरु अब समानुपातिकमा मात्रै सीमित हुनुहुन्न । प्रत्यक्षमै चुनाव लड्न पाउनुपर्छ भनेरै संसद्मा एक खालको वातावरण बनाएका थियौं । पार्टीभित्र पनि त्यहीँ खालको छलफल भइराखेको थियो ।  अघिल्लो पटकको भन्दा यो पटक पार्टीले चार जना बढी महिला थपेर उम्मेदवार बनायो । धेरै महिलाले चुनाव जितेर आउन पाएको भए राम्रो हुन्थ्यो । त्यस्तो वातावरण बन्न सकेन । यस विषयमा समीक्षा गर्नुपर्ने देखिएको छ ।

मैले दाङबाट जित्नुको आधार सांगठनिक आधार हो । हामी आफैमा एकतावद्ध नहुने, त्यसैमा सत्ता गठबन्धन एक नहुँदा हार्ने निश्चित जस्तै थियो । माओवादीसहित गठबन्धन एकढिक्का भएपछि हामीले मेहनत गर्यौं । त्यसपछि यो परिणाम ल्याउन सफल भयौं ।

यो क्षेत्रमा शंकर र रेखाको तुलनै हुँदैन भनेर टिप्पणी गरेका थिए । त्यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

मलाई राष्ट्रिय र जिल्ला स्तरका मिडियाले समेत सोधे । मेरो बुझाई फरक छ । निर्वाचन पदीय हैसियतमा मात्रै लडिँदैन । व्यक्तित्व र पदीय हैसियत एउटा महत्वपूर्ण पार्ट हुन सक्छ । निर्वाचन खास एजेन्डा र विषयवस्तुमा आधारित हुन्छ । निर्वाचनमा उम्मेदवारको विगतको भूमिका समेत जोडिन्छ । प्रत्यक्ष चुनाव लड्ने भनेको सबै उम्मेदवारको जन्मकुन्डली पल्टाउने कुरा रहेछ ।

म जन्मिएदेखि अहिलेसम्म के के गरे ? मेरो पारिवारिक पृष्ठभूमि कस्तो हो ?  मैले भविष्यमा के गर्छु भनेर आधार बनाएर भोट दिने रहेछ । उम्मेदवारको विगत र भविष्यको आकलन गरेर भोट दिने कुरा रहेछ ।

म कहिल्यै हाइ प्रोफाइलको मान्छे हुँ भनेर प्रस्तुत भइनँ । मेरो असाधारण व्यक्तित्व छ भनेर कहिल्यै भनेकी छैन । मैले आफूलाई अरू मान्छेजस्तै औसत मान्छे हुँ भनिराखेको छु । तर, मैले निर्वाह गरेका भूमिकालाई हेर्नुहुन्छ भने औसत खालका छैनन् । देशको यो परिवर्तन ल्याउन जनयुद्धमा जुन खालको भूमिका निर्वाह गरे त्यो औसत थिएन ।

देशमा गणतन्त्र, संघीयता, समावेशीता लगायतका मुद्दा स्थापित गराउने मामिलामा ‘हेवी वेट’ नेता भन्नेहरू भन्दा कम भूमिका निर्वाह गरिन । यो गणतन्त्र प्राप्तिको आन्दोलनमा गरेको त्याग र बलिदान कम थिएन । संविधान निर्माणको क्रममा मैले निभाएको भूमिका र कानुन निर्माण गर्ने सवालमा कोही भन्दा कम थिएन । 

सामान्य प्रशासन मन्त्री भएर जुन नीतिगत निर्णय गरेर जनतासंग जोड्ने काम गरें, त्यो कुन हेवी वेट भन्दा कम थियो र ? कम थिएन । मेरो व्यक्तित्व, पारिवारिक पृष्ठभूमि र मेरो आफ्नै व्यवहार सामान्य खालकै हो । निर्वाचनले म हेवीवेट नेता हुँ भन्ने कुरालाई मात्रै जनताले हेर्दो रहेनछन् भन्ने पुष्टि भयो ।

तपाईँले सत्ता गठबन्धनलाई कसरी एक ढिक्का राख्न सक्नु भयो ?

हामीले सापेक्षतामा एकता कायम गर्यौ । मैले पार्टीमा एकढिक्का कायम गरे । पार्टीबाट दाँयाबाँया हुने स्थिति थिएन । काँग्रेससहित एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग सापेक्षित एकता भयो ।

हामी स्थानीय चुनावमा पराजित भएको चोट थियो । हामी त्यहाँ जुन खालको उम्मेदवारको सेट मिलायौँ, त्यसमा  केही दम थियो । मेरो मात्रै होइन, गठबन्धनबाट दाङका ९ जना सबै जितेका छौँ । मलाई लाग्छ, यस्तो अरू जिल्लामा छैन । हामीले गठबन्धनलाई सत प्रतिशत सफल पारेको जिल्ला दाङ नै हुन सफल भयो । गठबन्धन सापेक्षित रुपमा इमानदार नभएको भए सम्भव थिएन । हामी सबैको मेहनतबाट यो नतिजा ल्याउन सम्भव भयो । 

काँग्रेसको भोटले चुनाव जित्ने माओवादी सरकार बनाउन अर्कोतिर जान थालेको छ भन्ने छ । के माओवादी काँग्रेसलाई धम्क्याउने अनि एमालेलाई फकाउनेतिर लागेको हो ?

त्यसो होइन, सरकार बनाउने सन्दर्भमा चर्चा भइरहेको छ । मुख्य रुपमा हामी जुन एजेन्डा लिएर निर्वाचनमा गयौं । जुन संविधान भन्दा बाहिर गएर संसद् विघटन भयो, त्यो विघटन बेठीक थियो भनेर यो गठबन्धन बनाएका थियौँ । यहीँ मुद्दा लिएर निर्वाचनमा गयौं । सापेक्षित रुपमा गठबन्धनले सहज रुपमा बहुमत ल्याउन सक्नुपर्ने थियो । परिणाम त्यसो हुन सकेन । देशैभर गठबन्धन इमान्दार हुन सकेन । त्यसैले, यस्तो नतिजा भयो ।

अहिले संसद् सबै दलहरुसँग सहकार्य र छलफल गरेर अघि बढ्नुपर्ने भयो । अहिले सहज बहुमतमा गठबन्धन छैन । सहज रुपमा अर्को पक्षपनि बहुमतमा छैन । सबै पक्षसँग संवाद, छलफल गरेर अघि बढ्नुपर्ने छ । समग्र राष्ट्रलाई अगाडि बढाउने विषयमा गठबन्धन बाहिर पनि संवाद हुन्छन् । तर सरकार बनाउने विषयमा सत्ता गठबन्धनमा मात्रै छलफल हुनुपर्छ । 

मैले अस्ति मात्रै अध्यक्ष प्रचण्डलाई भेटेकी छु । सरकार बनाउने विषयमा गठबन्धनबाटै अघि बढ्नुपर्छ भनेकी छु । निर्वाचन अघि पनि आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने थियो । पहिलो चरणमै हामीलाई नै चाहिन्छ भन्ने गरी काँग्रेस र माओवादी विवाद गर्नु हुँदैन । यसअघि जे खालको सहमति थियो, त्यस अनुसारै अघि बढ्नुपर्छ । माओवादीको प्रधानमन्त्री स्वाभाविक रुपमा हुने भयो । माओवादीले दावी गर्नै हुन्न भन्ने कुरालाई सही मान्न सकिँदैन ।

प्रचण्ड प्रधानमन्त्री जसरी पनि बन्ने भन्ने गरी लाग्नु भएको छ भन्ने जुन भाष्य निर्माण भएको छ । त्यसलाई बल पुग्ने गरी किन काम गर्नु भएको हो ?

उहाँले पब्लिक रुपमा प्रधानमन्त्री माग्नु भएको छैन । प्रचण्डले मेरो प्रधानमन्त्रीको दावी हो भन्नु अनौठो होइन । उहाँले प्रधानमन्त्रीको दावी देउवासँग राख्नु भएको हो । मिडियाले सोधेपनि जवाफ दिनु भएको हुन सक्छ । सार्वजनिक पदमा बसेको व्यक्तिको बालुवाटारमा एक्ला एक्लै बसेको भए पनि बाहिर आइहाल्छ । बाहिर आउने कुरालाई रोक्न सकिँदैन । दावी गर्ने कुरालाई अन्यथा मान्नु हुँदैन । गठबन्धनभित्रै सहमति खोज्नुपर्छ । अब गठबन्धनभित्रै प्याकेजमा सहमति खोज्नुपर्छ । त्यसपछि मात्रै हामीले जे भनेर निर्वाचनमा गएका थियौँ, त्यसको पनि ‘जस्टिफाइ’ हुन्छ ।

सत्ता गठबन्धनबाटै सरकार बन्नुपर्छ भन्ने तपाईंको स्ट्याण्ड हो ?

गठबन्धन सहज बहुमतमा छैन । यो गठबन्धनलाई अझ विस्तार र बलियो बनाएर जानुपर्छ । गठबन्धनबाटै सरकार बनाउनुपर्छ । एमालेसँग भेटघाट हुनु स्वाभाविकै हो । कोही भेट्न आउँदा वा केही प्रस्ताव ल्याउँदा बोल्दै बोल्दिनँ, भेट्दै भेट्दिनँ भन्न मिल्दैन ।

दूतको रुपमा पार्टी महासचिव देव गुरुङलाई बालकोट पठाउने, बालकोटबाट खुमलटार आउने क्रम बाक्लिएको छ नि ?

राजनीति गर्ने मान्छेको भेटघाट सबैको सबैसँग हुन्छ । चुनावका बेलापनि भेटघाट छलफल भइरहेको थियो । निर्वाचनमा गठबन्धन बनाउँदा पनि छलफल भइराखेको थियो । राजनीतिमा दलका नेताहरू, पार्टीहरू पानी बाराबारको स्थितिमा धेरै समय बस्नु भएको छैन । यो राम्रो पक्ष हो भन्ने लाग्छ ।

जुन बेला नेताहरू राष्ट्रिय सहमति बनाएर अघि बढेका छन्, देशले निकास पनि पाएको छ । अहिले झन् संसदमा अस्थिरता हुने देखिएको छ । यस्तो अवस्थामा दलहरू मिल्नैपर्ने देखिएको छ । सबै मिलेर जाँदा अझ राम्रो हुने देखिन्छ । तर हाम्रो प्राथमिकता गठबन्धन दल मिलेर जानुपर्छ भन्ने हो ।

काँग्रेसले राष्ट्रपति नदिने भइसक्यो । प्रधानमन्त्रीसमेत पहिलो चरणमा नदिने भएपछि माओवादी के गर्छ ?

औपचारिक भनाई त्यस्तो छैन । अहिले छलफल भइराखेको छ । पुस ७ गते सांसदहरुको सपथ हुन्छ । राष्ट्रपतिले १० गतेभित्र सरकार गठन गर्न आह्वान गर्नु भएको छ । सांसदको सपथ, दलको नेता चयन सबै प्रक्रिया सकिएपछि सरकारको नेतृत्वको विषयमा छलफल हुन्छ ।

भिडियो हेर्नुहोस्

सबै खालका सम्भावना छन् । कुनै पनि सम्भावना बन्द भएका छैनन् । प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबैको प्याकेजमा सहमति हुन्छ । गठबन्धनमा काँग्रेस र माओवादी मात्रै छैन, अरू पार्टीपनि छन् । ती सबै दलहरुबीच छलफल भएमा सहज निकास निस्कन्छ भन्ने लाग्छ । निकास निकाल्नमा नेताहरु सक्षम छन् भन्ने मेरो बुझाई छ ।

एमाले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने सहमतिको सम्भावना कतिको छ ?

यसरी हुँदैन । यो हुने कुरा होइन । अघिल्लो पटकको चुनावमा गठबन्धन बनाएर चुनाव लडेर निर्वाचित भएपछि आलोपालो सरकारको नेतृत्व गर्ने बेलामा सम्भव भएन । अब अलग अलग चुनाव लडेर आएपछि पाँचै वर्ष सरकारको नेतृत्व प्रचण्डलाई दिने भन्ने हुँदैन ।

एमाले–माओवादी मिलेर सरकार बनाउन सम्भव छैन । एमाले–माओवादी मिल्न गणित पनि पुग्दैन । धेरै खालका चर्चाहरु छन् । कम्युनिस्ट र गैरकम्युनिस्ट मिलेर सरकार बनाउने, काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा छन् ।

गठबन्धनमा हिजो भएका सहमति पालना हुनुपर्छ । कसैले कसैलाई अपमान गर्ने गरी सोच्नु हुँदैन । राजनीतिमा इमान्दारिता हुनुपर्छ । सरकार सञ्चालनको सवालमा आलोपालोमा माओवादी जत्तिको इमानदार अर्को पार्टी देखिएको छैन । त्यो सबैले बुझ्न जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप