शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमसमा सिँगारियो लण्डन, तस्बिरहरु हेर्नुहोस्

आइतबार, १० पुस २०७९, १० : १६
आइतबार, १० पुस २०७९

लन्डन । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर लण्डन शहर यसपटक पनि दुलहीजस्तै सिँगारिएको छ । लन्डनको मुख्य आकर्षक पर्यटकीय स्थलहरू रंगीबिरंगी बत्तीले झलमल्ल सजिएका छन्। विभिन्न आकर्षक ढाँचामा सजाइएको क्रिसमस ट्री र सान्ता क्लज अवलोकन गर्न, टिकटक बनाउन र फोटो लिन मानिस व्यस्त देखिन्छन् । 

डिसेम्बर सुरुदेखि नै बेलायती घर, पसल र सडकहरूमा झिलिमिली पारेर सजाइन्छ, जसलाई अङ्ग्रेजी नयाँ वर्षसम्म राख्ने परम्परा छ । विशेष गरी इसाई धर्मावलम्बीले डिसेम्बर २५ तारिख येशू ख्रीष्टको जन्मदिनको स्मरण गर्दै उत्साह र उमंगकासाथ विश्वभर क्रिसमस मनाउने गर्छन् ।

क्रिसमसलाई इसाईहरूले मात्र नभई गैर इसाईहरूले पनि धर्मनिरपेक्ष सांस्कृतिक उत्सवका रूपमा एकापसमा उपहार आदानप्रदान गरेर मनाउने प्रचलन छ ।क्रिसमसको अवसरमा लन्डनको मुख्य केन्द्र लन्डन ब्रिज आसपास हरेक वर्ष अस्थायी क्रिसमस बजार सञ्चालन गरिन्छ, जहाँ खानपिन, कपडालगायत उपहारका विभिन्न सामान विक्री वितरण गरिन्छ । सोही क्रिसमस बजारमा यसपटक भने नेपाली खाना पनि राखिएको छ । ‘टेष्ट अफ नेपाल’ ले आफ्नो स्टलमार्फत नेपाली परिकारहरू मम, चाउमिन, हिमालयन थुक्पा, गोर्खा सुपलगायत परिकार विक्री गर्दै आएको छ । 

नेपाली स्वाद चाख्न बेलायती देखि चिनिया, भारतीयसहित अन्य विभिन्न मुलुकका नागरिक लामबद्ध देखिन्थे । उता, लन्डनको हाइड पार्क कर्नरमा यतिखेर ‘वीन्टर वण्डरल्याण्ड’ भनिने एक विशाल क्रिसमस मेला लागिरहेको छ जुन मध्य नोभेम्बरदेखि जनवरी पहिलो हप्तासम्म रहन्छ । युरोपकै आकर्षक मानिने यस मेलामा विभिन्न किसिमका स्टल, सर्कस, आइस शो, लाइभ म्युजिक लगायत थुप्रै बार तथा रेस्टुरेन्ट खुलेका छन् ।

गत बिहीबार साँझ यस पङ्क्तिकार पुग्दा सिमसिमे पानी परे पनि क्रिसमस रौनक हेर्ने पर्यटकहरू उत्साहित देखिन्थे । तर, अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष भने मानिसको भिडभाड निकै कम देखिन्थ्यो । आर्थिक मन्दीको चपेटामा गुज्रिरहेका बेलायतीहरूको जीवनस्तर यसपटक निकै खच्किएको देखिन्छ । क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा विभिन्न पार्टी आयोजना गर्दै आएका नेपालीहरू छिटपुटबाहेक यसपटक मौन देखिएका छन् ।

नेपालबाट कार्यक्रम गर्न आएकी चर्चित नृत्याङ्गना दिपासा बिसी जलपरी बेलायतमा आफ्नो केही शोमात्र रहेको बताउँछिन् । गायिका भूमिका गिरी पनि यतिखेर बेलायतमै छन् तर उनको व्यस्तता खासै छैन ।  क्रिसमसको समयमा हिमपात हुनुलाई उत्तम मानिने लण्डनको मौसम अहिले सामान्य छ । केही दिन अघिसम्म माइनस तापक्रम पुगेको लन्डनमा सिमसिम पानी परे पनि तापक्रम १५ डिग्रीको आसपासमा छ । 

 

शुक्रबारबाट यहाँका कार्यालयहरूमा छुट्टी सुरु भइसकेको छ भने स्कुलहरू केही अघिबाट नै बन्द भइसकेका छन् । विशेष गरि यो समयमा लामो होलिडेमा जानेहरूको सङ्ख्या अत्यधिक हुने गर्दछ । यसपटक बेलायतबाट बाहिरिनेको सङ्ख्या पनि विगतको तुलनामा न्यून नै रहेको लन्डनस्थित एकजना ट्राभल एजेन्ट सुनिल थापाले बताए । 

कोरोना महामारीका कारण थलिएको आर्थिक अवस्था सुध्रिन नपाउँदै रुस युक्रेन युद्धका कारण थप सङ्कट थपियो । ब्रेक्जिटका कारण व्यापार व्यवसायमा पनि उत्तिकै असर परिरहेको छ । बेलायत आर्थिक मन्दीमा गई सकेकाले पनि यहाँको जनजीवन कष्टकर उन्मुख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप