शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिङ्देन पनि ‘कमल थापा पथ’मा जाने राप्रपामा भय

महामन्त्री पाठक भन्छन्–पार्टीको समर्थन मात्रै हो, सरकारमा जाँदैन
सोमबार, ११ पुस २०७९, १३ : ५८
सोमबार, ११ पुस २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेसँगै पार्टीभित्र एकाएक तरङ्ग उत्पन्न भएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनिर्णयको बन्दी नबन्ने भन्दै नयाँ सरकार बनाउन सहयोग गर्ने निर्णय गरेको थियो ।

तर, पार्टीको यो निर्णयसँगै नेतृत्वको आलोचना र खबरदारी एकसाथ सुरु भएको छ । सामाजिक सञ्जालदेखि पार्टीका विभिन्न फोरममा नेता कार्यकर्ताहरूले इतिहासको भूल दोहोर्‍याउने मार्गतर्फ नेतृत्व अघि बढ्न नहुने भन्दै सचेत गराएका छन् । राप्रपा सत्ता केन्द्रित राजनीति नगर्ने चुनावी घोषणापत्रसहित निर्वाचनमा होमिएको थियो । निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेको राप्रपा सत्ताको लोभमा फस्न नहुने नेता कार्यकर्ताको जोड देखिन्छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएसँगै एमाले अध्यक्ष केपी ओलीले नयाँ सरकारका लागि गठबन्धन निर्माणको पहल थालेसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग छोटो छलफल गरेका उनले त्यहाँबाट फर्केर पार्टीको बैठकबाट सरकारलाई समर्थन गर्ने निर्णय गराएका थिए । सो क्रममा लिङ्देनले सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति बनेको ब्रिफिङ गर्दै निर्णयमा सहयोग गर्न आग्रह गरेका थिए । सोहीअनुसार निर्णय गराएर उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति प्रदान गरेका थिए ।

राप्रपाले सरकारलाई समर्थन गरे पनि सत्तामै जानेबारे निर्णयलाई विचाराधीन अवस्थामा राखेको छ । यहीबीचमा संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टी आफ्नो एजेण्डा स्थापित गराउनेतर्फ अग्रसर हुनुपर्नेमा सत्तालिप्सामा लाग्दा उद्देश्य प्राप्त हुन नसक्ने भन्दै नेता कार्यकर्ताले खबरदारी गरेका हुन् ।

 राप्रपाका एक नेताले पार्टीले समर्थन गर्दासम्म अन्यथा नहुने भए पनि सरकारमै जाने निर्णय गरिए त्यो प्रत्युत्पादक हुने प्रतिक्रिया दिए । पार्टीभित्र केही नेताहरू सरकारमा जाने पक्षमा देखिए पनि अधिकांश शीर्ष नेता नै बाहिरै बस्नुपर्ने पक्षमा देखिएका छन् ।

पार्टीका नेता कार्यकर्ताले सत्ता केन्द्रित राजनीति गर्दा तत्कालीन पार्टी अध्यक्ष कमल थापाको स्मरण पनि गरेका छन् । २०७० सालको निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएर तत्कालीन राप्रपा नेपाल सत्ता केन्द्रित राजनीतिमा फस्दा पार्टी तहसनहस भएर कमजोर अवस्थामा पुगेको थियो । अहिले नेतृत्व परिवर्तनपछि लिङ्देन नेतृत्वमा आएर पार्टी कमब्याक भएको अवस्थामा सरकारमा सहभागी भए फेरि त्यही अवस्था दोहोरिन सक्ने नेता कार्यकर्ताको चेतावनी छ । उनीहरूले सामाजिक सञ्जालदेखि नेताहरूलाई व्यक्तिगत रूपमा फोन गरेर समेत सचेत गराएको एक केन्द्रित कार्यसम्पादन समिति सदस्यले जानकारी दिए ।

चौतर्फी दबाब र बहसका बीच राप्रपाको नेतृत्वले सरकारलाई समर्थन मात्रै गरेको स्पष्ट गर्दै सत्तामा जानुपर्ने अवस्था आएमा उपयुक्त कारण खुलाएर जाने भन्दै थामथुमको प्रयास गरेको छ । सोमबार मात्रै सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङ्देनले पार्टीले सरकारलाई समर्थन मात्रै गरेको प्रष्ट पार्दै सरकारमा जाने योजना नरहेको जिकिर गरे । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौँ’, सञ्चारकर्मीसँग लिङ्देनले भने ।

बुधबारका लागि बैठक आह्वान

राप्रपाले सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिन बुधबारका लागि बैठक बोलाएको छ । त्यही बैठकले आवश्यक निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ । उनले पार्टीले देश मध्यावधिमा जान सक्ने भयका बीच प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गरेको जिकिर गरे । पार्टीले सहयोग समर्थन गर्ने निर्णय हुँदासम्म राप्रपासहितको जोडमा १४४ सांसदको मात्रै समर्थन रहेको जिकिर गर्दै उनले पछि मात्रै सङ्ख्या थप भएको बताए ।

सरकार गठनको दाबीका लागि १६९ को समर्थन हुँदाहुँदै राप्रपाको १४ सांसद नहुँदा के फरक पर्थ्यो भन्ने खालका प्रश्नहरू आएको उल्लेख गर्दै उनले भने, ‘चार बजेसम्म १४४ मात्रै थियो । राष्ट्रपतिले दिनुभएको समय सीमा साँझ पाँच बजेसम्ममा १६९ पुगेको हो । त्यसअघि नै चार वटा दलको हस्ताक्षर भइसकेको थियो । पार्टीको आधिकारिक निर्णय लिएर राष्ट्रपति कार्यालय गइसकेपछि ल भइगयो, तपाईंहरुको पुग्यो, हामी सहभागी हुँदैनौ भन्नु राजनीतिक एवं नैतिक हिसाबले अनुचित हुने थियो।’

उनले जति धेरै संख्याको सहभागिता भयो त्यसले बलियो सरकार निर्माण गर्ने तर्क गर्दै बलियो सरकारले राजनीतिक स्थिरताको सुनिश्चितता गर्ने पनि जिकिर गरेका छन् । थापाले एउटा जिम्मेवार राजनीतिक दलको रूपमा राप्रपा अस्थिरताको पक्षमा नरहेको पनि दाहोर्‍याए ।

उनले राप्रपाका केही सर्तहरू रहेको र त्यो सम्बोधन भएको खण्डमा जनतालाई बुझाएर सरकारमा जान सकिनेतर्फ सङ्केत गरे । तर, त्यसका लागि सबैभन्दा पहिला पार्टीको बैठकमा बहस हुने र उपयुक्त निर्णय गरेर अघि बढिने बताए ।

महामन्त्री पाठक भन्छन्– सरकारलाई समर्थन मात्रै

राप्रपाका महामन्त्री भुवन पाठक कुनै पनि हालतमा पार्टी सरकारमा नजाने बताउँछन् । उसमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै कार्यकर्ताको चाहना पनि यही भएको बताए ।  ‘पार्टी सरकारमा जाँदैन । हाम्रो सरकारलाई समर्थन मात्रै हो’, उनले रातोपाटीसँग भने ।  उनले बिहीबारको बैठकले यसबारे प्रष्ट निर्णय गरेर अघि बढिने पनि बताए ।

राप्रपाका नेताहरूका अनुसार यदि पार्टीले सरकारमै जाने निर्णय गरेको अवस्थामा मन्त्री बन्नका लागि नेताहरुबीच हानथाप बन्ने देखिन्छ । सँगसँगै पार्टीभित्र अन्तर्विरोध बढेर सत्ताकै कारण पार्टीमा सङ्कट आउन सक्ने खतरा समेत देखिन्छ ।

सत्ता लिप्सा र व्यक्तित्वको टकरावका कारण पटक पटक टुटफुट भोग्दै आएको राप्रपा अहिले पनि गम्भीर मोडमा पुग्ने खतरा भएकाले नेतृत्वको सुझबुझपूर्ण निर्णय गर्नुपर्ने नेताहरूको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप