बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीबाट मन्त्रीका सम्भावित दाबेदार को को छन् ?

मङ्गलबार, १२ पुस २०७९, १३ : ३२
मङ्गलबार, १२ पुस २०७९

नेकपा माओवादी केन्द्रबाट कुल ७ देखि ९ मन्त्रालय बनाउने तयारी गरिएको छ । संविधानले २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ । नेकपा एमाले, माओवादी केन्द्र सहित सात दल र स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका छन् । अहिलेसम्म ८ मन्त्रीले शपथ लिइसकेका छन् । अब १७ मन्त्री मात्रै बनाउन सक्ने अवस्था छ ।

माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रीको शपथ लिइसकेका छन् । अब माओवादीबाट बढीमा ८ मन्त्री बन्न सक्ने प्रधानमन्त्रीकी एक स्वकीय सचिवले गंगा दाहालले बताइन् । ‘अहिले गठबन्धनको सरकार भएकाले सबैलाई चित्त बुझाउनुपर्ने छ । सबैको चित्त बुझाएपछि हामीले लिने अवस्था छ,’ दाहालले भनिन् ,‘त्यसो हुँदा अब बढीमा ८ मन्त्री पार्टीबाट बन्ने अवस्था छ ।’ प्रधानमन्त्री प्रचण्डले अब सबै दलसँग छलफल गरेर प्याकेजमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

माओवादीबाट अब हुने मन्त्रीमा वर्षमान पुन पहिलो दाबेदार हुन् । अहिलेका नयाँ गठबन्धनका सूत्रधार भएकाले मन्त्री पदमा पुनको स्वाभाविक दाबेदारी रहेको छ । तर रवि लामिछाने उपप्रधानमन्त्री सहित गृहमन्त्री भइकेकाले उनी भन्दा तल्लो  वरियतामा बसेर मन्त्री नहुने सम्भावना पनि छ । पार्टीबाट उपप्रधानमन्त्रीमा श्रेष्ठ भइसकेकाले अर्को उपप्रधानमन्त्री थपिने अवस्था छैन । त्यसो हुँदा पुन मन्त्री नहुने प्रबल सम्भावना छ । तर, पुनका स्वकीय सचिव सन्तोष पुनले सरकारमा जाने वा नजाने विषयमा फाइनल भई नसकेको बताए । अहिले सरकारमा जाने विषयमा छलफल भइरहेकाले केही भन्न नसकिने पुनले बताए । पुन यसअघि तीन पटक मन्त्री भई सकेका छन् । यस्तै अर्का पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत मन्त्री हुने सम्भावना भएका नेता हुन् । लगातार चार पटक सांसद र तीन पटक मन्त्री भएका बस्नेत चौथो पटक मन्त्री हुन लागेका छन् । तर पुन जस्तै बस्नेत पनि वरियतामा रविभन्दा तल रहेर मन्त्रिपरिषद्मा सहभागी हुने कि नहुने भन्नेमा अन्योलमा छन् ।

यस्तै माओवादीबाट मन्त्री हुने सम्भावना भएको नेतामा रेखा शर्मा हुन । दाङ २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर निर्वाचित भएकी थिइन । दुई पटक समानुपातिक सांसद र एक पटक प्रत्यक्ष निर्वाचित शर्मा एक पटक सामान्य प्रशासन मन्त्री भई सकेकी छन् । माओवादीबाट महिला नेतामध्येबाट शर्मा मात्रै निर्वाचित भएकाले मन्त्री हुने सम्भावना  रहेको छ । तर, शर्माले आफूलाई मन्त्री बनाउने विषयमा जानकारी नभएको बताइन । पार्टीले मन्त्री बनाएमा सरकार जाने शर्माको भनाई छ ।

यस्तै भोजपुरबाट निर्वाचित सुदन किराती, मोरङ–४ बाट निर्वाचित अमनलाल मोदी मन्त्रीका प्रवल दाबेदार हुन । किराती ​र मोदी तीन–तीन पटक सांसद भई सकेका छन् । किराती र मोदीले मन्त्री हुने अवसर नपाएकाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने देखिएको छ । किराती र मोदीलाई प्रचण्डले समेत यसअघि मन्त्री बनाउन खोज्दा समेत हुन नसकेका थिएनन्  । प्रचण्ड प्रधानमन्त्री भएपछि किराती जनजाति कोटा र मोदी मधेसी कोटबाट समेटिन सक्ने बताएको छ । यस्तै माओवादी चुनाव चिन्ह लिएर जितेका सर्लाही २ का महिन्द्र राय यादव मन्त्री हुनेमा पक्का जस्तै छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीका नेता यादव एक्लैले मात्रै चुनाव जितेकाले मन्त्री हुने निश्चित जस्तै छ ।

दोलखाबाट निर्वाचित गंगा कार्की, काभ्रे १ बाट निर्वाचित सूर्यमान दोङ, नुवाकोट १ बाट हितबहादुर तामाङ सम्भावना भएका सांसद हुन । कार्की पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भएपनि पार्टीको पुरानो नेता भएकाले उनी मन्त्री हुन लागि परेका छन् । दोङ यसअघि राज्य मन्त्री मात्रै भएकाले पार्टीको पुरानो नेता भएकाले यस पटक मन्त्री हुन जोडबलका साथ लागेका छन् । यस्तै तामाङ लगातार चार पटक निर्वाचित हुँदा समेत एक पटक मात्रै भएकाले मन्त्री हुन पाउनुपर्ने माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप