मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चालू वर्षमा ८ सय मेगावाट बिजुली थपिँदै, भारततर्फको व्यापार नाफामा जाने

बुधबार, १३ पुस २०७९, १५ : १४
बुधबार, १३ पुस २०७९

चालू आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा ८ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । यस सँगै, नेपालको बिजुली उत्पादनको जडित क्षमता कूल ३ हजार मेगावाट पुग्नेछ । हाल नेपालको कूल जडित क्षमता २१ सय ९० मेगावाट छ । यो उत्पादन सकिएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका आयोजनाबाट हुने उत्पादन क्षमता हो । गत आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ६ सय मेगावाट बिजुली जोडिएको थियो ।

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको समेत निर्माण सम्पन्न भएको थियो । यस्तै, यसबाहेक अन्य आयोजनाबाट समेत उत्पादन सुरू भएसँगै वर्षायाममा नेपाललाई चाहिनेभन्दा बढी उत्पादन हुन थाल्यो । 

यद्यपि, सुख्खा यामको समयमा भने नेपालले भारतबाट बिजुली किन्दै आइरहेको छ । समग्रमा गत वर्षसम्ममा भारतसँगको बिजुली व्यापार घाटामा थियो । जुन, चालू वर्षदेखि नाफामा जाने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए ।‘चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने हाम्रो प्रक्षेपण छ,’ निर्देशक घिसिङले भने, ‘तर, यसमा केही तल–माथि हुन सक्छ ।’ 

निर्देशक घिसिङका अनुसार ८ सय मेगावाट बिजुली प्रसारण लाइनमा जोडिने लक्ष्य रहेपनि ७ सय देखि ८ सय मेगावाटको बीचमा बिजुली थपिने छ । यस सँगै, हाल करिब २२ सय मेगावाट आसपास रहेको बिजुली उत्पादन ३ हजार मेगावाट पुग्ने उनले बताए ।

यस्तै, विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतका अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने छ । उनले निजी क्षेत्रको लगानी रहेको अधिकांश आयोजनाहरू चालू वर्षमा सम्पन्न भइ सञ्चालनमा आउने बताए । 

‘कुन–कुन आयोजना कुन मितिमा आउँदैछन् भन्ने विषयमा गहन जानकारी प्राधिकरणसँग हुन्छ,’ चटौतले भने, ‘तर, चालू वर्षमा करिब ७ सयदेखि ८ सय मेगावाट बिजुली प्रसारण लाइनमा थपिन्छ ।’

कुन वर्ष कति बिजुली थपिन्छ ?
ऊर्जा मन्त्रालयका अनुसार गत आर्थिक वर्षको अन्त्य सम्ममा २१ सय ९० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यस्तै, थप १ हजार मेगावाट बिजुली निर्माणको चरणमा रहेको र निकट भविष्यमै सम्पन्न हुने मन्त्रालयको तथ्याङ्क छ । जसमध्ये ८ सय मेगावाट बिजुली उत्पादन गर्ने आयोजनाको निर्माण चालू वर्षको अन्त्यसम्ममा सकिने छ । यस्तै, १५ सय ५३ मेगावाट बिजुली विभिन्न स्टेजमा छन् । हालसम्म सबै गरी ७ हजार ३२ मेगावाट क्षमताका आयोजनाको निर्माणका काम अघि बढेका छन् ।

 

स्रोतः ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

तथ्याङ्कअनुसार आगामी ६ वर्षको अवधि भित्रमा नेपालमा थप ७४२ मेगावाट बिजुली थपिनेछ । चालू वर्षमा ८ सय ८ मेगावाट बिजुली प्रसारण लाइनमा थपिँदा आगामी आर्थिक वर्षमा ९ सय मेगावाट बिजुली थपिने छ । 
यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ७ सय ४२ मेगावाट, २०८२/८३ मा ८ सय २२ मेगावाट, २०८३/८४ मा ७ सय ३२ मेगावाट र २०८४/८५ मा ७ सय ३८ मेगावाट बिजुली थपिनेछ ।


 
स्रोतः ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

भारतर्फको बिजुली व्यापार नाफामा
बिजुली उत्पादन बढेसँगै नेपाल–भारतबीच भइरहेको बिजुली व्यापारसमेत नाफामा जाने देखिएको छ । हाल नेपालले वर्षा याममा भारततर्फ बिजुली बेचेपनि सुख्खा याममा किन्दै आइरहेको छ । र, यो व्यापार घाटामा छ । तर, आगामी आर्थिक वर्षदेखि भने नेपाल–भारतबीचको विद्युत व्यापार नाफामा जाने प्राधिकरण बताउँछ ।

प्रबन्ध निर्देशक घिसिङले चालू वर्षदेखि भारतबाट आयात हुने बिजुलीको परिमाणभन्दा निर्यात हुने परिमाण बढी हुने बताए । उनले नेपालमा बिजुलीको उत्पादन बढेसँगै भारतसँगको व्यापार नाफामा जान लागेको बताएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप