बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

केरुङ जाने वातावरण मिलाइदिन आग्रह

आइतबार, २० मङ्सिर २०७२, १३ : ४८
आइतबार, २० मङ्सिर २०७२
रसुवा–नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट सबै सवारी चालकलाई केरुङ जाने वातावरण र सडक फराकिलो पारिदिन व्यवसायीले आग्रह गरेका छन् । गल्छी–रसुवागढी सडक दुई वर्षभित्र दुई लेनको बनाउने सरकारले लिएको नीतिलाई स्वागत गर्दै नेपाल व्यापार सङ्घका केन्द्रीय अध्यक्ष कुमार कार्कीले जिल्ला बाहिरका सवारी चालक मितेरी पुलबाट केरुङ जान नपाउँदा सामान आयतमा चर्को समस्या परेको बताए । कूटनीतिक पहलबाट सबै सवारी चालकलाई केरुङ जाने वातावरण सिर्जना गरिदिन व्यवसायीका तर्फबाट सरकारसमक्ष आग्रह गरिएको उनले बताए । सो सङ्घका अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवलगायत पदाधिकारीले आफ्नो व्यवसाय गर्ने मार्गअन्तर्गत गल्छी–रसुवागढीसम्मको स्थलगत अध्ययन गरेका छन् । अध्यक्ष कार्कीले आफ्नो कन्टेनर डिब्बा लिएर लोड गर्ने स्थान केरुङ जान जिल्ला बाहिरका चालकलाई नदिइएको बताए । “चालकलाई पठाउने वातावरण सिर्जना गर्न जरुरी छ” उनले भने। स्याँफ्रूभन्दा माथि सडक फराकिलो पारी सहज पारिदिन समेत चालकले आग्रह गरेका अध्यक्ष कार्कीले समेत बताए । चालकले बाटोमा भोग्नु परेको समस्या र स्थानीयस्तरमै हल हुने विषयवस्तु समाधानका लागि स्थानीय प्रहरी प्रशासन समक्षसमेत आग्रह गरेका बताइएको छ । विगत लामो समयदेखि नेपाललमा पठाउने सामानको ढुवानी कार्यमा संलग्न चिनियाँ मुसा ट्रान्सपोर्टका प्रबन्धक च्याङसे पिङले नेपालका सबै व्यवसायीले मगाएका सामान ल्हासाबाट छिटोभन्दा छिटो ढुवानी गरी नेपाली बजारको आपूर्तिमा सहज पार्दै आएको र आगामी दिनमा पनि अहोरात्र ढुवानी कार्यमा तल्लीन रहने बताए । तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट सामान पठाउन केरुङमा गोदामको व्यवस्थापन गरिसकेको र नेपाली कन्टेनर पर्याप्त रुपमा केरुङ नपुग्दा सामान पठाउन समस्या परिरहेको उनले जानकारी दिए । प्रबन्धक च्याङसे पिङले नेपाली व्यापारीले ‘अर्डर’ गरेका चिनियाँ सामग्री ढुवानी कार्यमा छिटोछरितो गरी बजारलाई निरन्तर रुपले सहयोग गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप