बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल

बिहीबार, ०४ असार २०८३, १७ : ११
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को पहिलो चरणका खेलहरूले स्मरणीय क्षण, अप्रत्याशित नतिजा र स्कोरलाइनभन्दा बाहिरका अनेक कथा जन्माइसकेका छन् ।
  • डीआर कंगोले पोर्चुगलविरुद्ध १-१ को अप्रत्याशित बराबरी खेलमा विश्वकप इतिहासकै पहिलो गोल गर्‍यो, जुन ५२ वर्षपछि विश्वकपमा फर्किएको टोलीका लागि ऐतिहासिक अंक थियो ।
  • विभिन्न जातीय, सांस्कृतिक र धार्मिक पृष्ठभूमिका खेलाडीहरू समावेश भएका विश्वकप टोलीहरूले देशहरूको विविधता झल्काउँछन् र आप्रवासन, पहिचान र एकीकरणबारे बहस भइरहेका बेला फरक पृष्ठभूमिका मानिसहरू कसरी सफलतापूर्वक सँगै काम गर्न सक्छन् भन्ने देखाउँछन् ।

काठमाडौँ । फिफा विश्वकप- २०२६ को पहिलो चरणका खेलहरूले स्मरणीय क्षण, अप्रत्याशित नतिजा र स्कोरलाइनभन्दा बाहिरका अनेक कथा जन्माइसकेका छन् ।

त्यसैगरी, एक चरणका खेल हुदाँ नै गोल्डेन बुटको दौडले पनि आकार लिन थालेको छ । केप भर्डे र लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) पनि अहिले ऐतिहासिक नतिजाको उत्सव मनाइरहेका छन् । जलपानका लागि दिइने विश्राम र नयाँ टिमहरूको सशक्त उपस्थिति पनि यस विश्वकपको चर्चाको केन्द्रमा छ । 

तीव्र बनेको गोल्डेन बुटको दौड

अर्जेन्टिनाका लियोनेल मेस्सी अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि तीन गोलसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । उनलाई एक गोलले पछ्याइरहेका सात खेलाडीः फ्रान्सका किलियन एम्बापे, नर्वेका एर्लिङ हालान्ड, अमेरिकाका फोलारिन बालोगुन, जर्मनीका काइ हाभर्टज, स्विडेनका यासिन अयारी, न्युजिल्यान्डका एलिजाह जस्ट, इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन रहेका छन् । 

messi-hattrick

डीआर कंगोले रच्यो इतिहास

योआने विस्साले पोर्चुगलविरुद्ध १–१ को अप्रत्याशित बराबरी खेलमा डीआर कंगोका लागि विश्वकप इतिहासकै पहिलो गोल गरे । फिफा वरीयतामा विश्वको पाँचौँ स्थानमा रहेको पोर्चुगलविरुद्ध उनले दोस्रो हाफको सुरुवातमा हेडमार्फत गोल गर्दै जोआओ नेभेसको सुरुआती गोल पवरुद्ध बराबरी फर्काएका थिए । ५२ वर्षपछि विश्वकपमा फर्किएको ‘लियोपाड्र्स’ टोलीका लागि यो ऐतिहासिक अंक थियो । यस उपलब्धिले रंगशालाभित्र र विश्वभर रहेका कंगो समर्थकमाझ उत्सवको माहोल सिर्जना गर्‍यो ।

कोलम्बियाको विजयी सुरुआत

कोलम्बियाले विश्वकप अभियानको सुरुआत उज्बेकिस्तानमाथि ३–१ को जितसहित गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा लुइस डियाज उत्कृष्ट प्रदर्शनकर्ता बने । उनले ड्यानियल मुनोजको सुरुआती गोलका लागि अवसर सिर्जना गरे भने दोस्रो हाफमा आफैँले गोल पनि गरे । 

vozinha

उज्बेकिस्तानका अब्बोसबेक फैजुल्लाएभले केही समय खेल बराबरी बनाए पनि दक्षिण अमेरिकी टोलीले पुनः खेल नियन्त्रणमा लिएर तीन अंक सुरक्षित गर्‍यो । यस जितले समूह ‘के’ मा कोलम्बियालाई प्रारम्भिक फाइदा दिलाएको छ । कतार २०२२ विश्वकप गुमाएको टोली पुनः नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । 

पहिलो चरणका सबैभन्दा ठुलो आश्चर्य

स्पेनसँग केप भर्डेले खेलेको ०–० बराबरीलाई प्रारम्भिक चरणको सबैभन्दा ठुलो आश्चर्य मानिएको छ । विश्वकपमा पहिलोपटक सहभागी भएको टोलीले प्रतियोगिताको प्रमुख दाबेदारमध्ये एकलाई रोक्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गर्‍यो । डीआर कंगोको पोर्चुगलसँगको १–१ बराबरी पनि प्रतियोगिताको ठुलो झट्कामध्ये एक मानिएको छ । त्यस्तै, समूह ‘जी’ मा जितको प्रबल दाबेदार मानिएको इरानले न्युजिल्यान्डसँग २–२ बराबरी खेलेपछि धेरैलाई आश्चर्य लागेको छ ।

विभिन्न धर्म र पृष्ठभूमिबाट एकजुट विश्वकप टोलीहरू

धेरै विश्वकप टोलीमा विभिन्न जातीय, सांस्कृतिक र धार्मिक पृष्ठभूमिका खेलाडीहरू समावेश छन्, जसले उनीहरूले प्रतिनिधित्व गर्ने देशहरूको विविधता झल्काउँछ । इङ्ग्ल्यान्ड, फ्रान्स, स्पेन र स्विडेनजस्ता राष्ट्रका टोलीमा क्रिस्चियन र मुस्लिम दुवै खेलाडी छन् । 

स्पेनका किशोर स्टार लामिन यामाल र स्विडेनका मिडफिल्डर यासिन अयारी खेलकै सबैभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गरिरहेका मुस्लिम फुटबलरहरूको बढ्दो समूहका उदाहरण हुन् । केही विश्लेषकहरूका अनुसार यस्ता टोलीहरूले युरोपका कतिपय क्षेत्रमा आप्रवासन, पहिचान र एकीकरणबारे बहस भइरहेका बेला फरक पृष्ठभूमिका मानिसहरू कसरी सफलतापूर्वक सँगै काम गर्न सक्छन् भन्ने देखाउँछन् । 

इन्टरफेथ अमेरिकाका अध्यक्ष इबु पटेलले भने, ‘उनीहरू गोल गर्छन्, आ–आफ्नो प्रार्थना गर्छन् अनि एकअर्कालाई अंकमाल गर्छन् । समुदाय र टोली निर्माण गर्ने यही तरिका हो । उत्कृष्ट फुटबल टोली यसरी नै बनाइन्छ ।’ 

red-card

छैटौँ विश्वकप खेलेका रोनाल्डोको निराशाजनक सुरुआत

४१ वर्षीय क्रिस्टियानो रोनाल्डो लियोनेल मेस्सीसँगै छ वटा विश्वकप खेल्ने केवल दोस्रो खेलाडी बने । तर उनले दोस्रो हाफमा केही अवसर पाए पनि गोल गर्न सकेनन् । मेस्सी, किलियन एम्बापे, एर्लिङ हालान्ड र ह्यारी केनले पहिलो खेलमै एकभन्दा बढी गोल गरेका कारण रोनाल्डोका चुकेका अवसरहरू अझ बढी चर्चामा आए । पोर्चुगलले समूह ‘के’ को पहिलो खेलमा अंक गुमाएपछि रोनाल्डो र उनका सहकर्मीहरू अर्को खेलमा पुनरागमनको खोजीमा छन् । 

पानी पिउने विश्रामबारे बहस

अमेरिका, क्यानडा र मेक्सिकोको गर्मी मौसममा खेलाडीलाई सहज बनाउन फिफाले सुरु गरेको नयाँ जलपान बिश्राम (‘हाइड्रेसन ब्रेक’) विवादको विषय बनेको छ । धेरै विश्लेषक र समर्थकहरूका अनुसार यसले खेलको लय बिगार्छ र खेलको गति परिवर्तन गर्न सक्छ । 

ह्युस्टनमा कुरासाओले जर्मनीविरुद्ध गोल गरेपछि विश्राम भएको थियो । त्यसपछि पहिलो हाफ सकिनुअघि नै उसले दुई गोल खायो र अन्ततः ७–१ ले पराजित भयो । पूर्व इङ्ग्लिस फरवार्ड एलन शियररले भने, ‘यसले उनीहरूको लय समाप्त गरिदियो ।’

पूर्वआयरिस कप्तान रोय किनले पनि यसलाई ‘टाइमआउट’ सँग तुलना गर्दै फुटबलको प्राकृतिक गति अवरुद्ध गर्ने टिप्पणी गरेका छन् । फिफाको भनाइमा यी विश्रामहरू खेलाडीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक छन् । तर आलोचकहरूका अनुसार यसले रणनीतिक परिवर्तन र थप प्रसारण विज्ञापनका अवसर पनि सिर्जना गर्छ । 

विश्वकपमा छुट्टै अफ्रिकी अस्तित्व

अल जजीराकी मार्थे भान डर वुल्फको विशेष रिपोर्टअनुसार २०२६ विश्वकपमा रेकर्ड ६ सव–सहारा अफ्रिकी राष्ट्रहरू सहभागी छन्, जुन अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । प्रतियोगिताको उद्घाटन खेलमा मैदान उत्रिएर मेक्सिकोसँग २–० ले हार बेहोरेको दक्षिण अफ्रिकाका साथै घाना, सेनेगल, आइभरी कोस्ट, डीआर कंगो र केप भर्डे पनि प्रतियोगितामा छन् । 

घानाले २०१० मा क्वार्टरफाइनलसम्म पुगेर क्यामरुन (१९९०) र सेनेगल (२००२) को उपलब्धि बराबरी गरेको थियो । डीआर कंगो १९७४ पछि पहिलोपटक विश्वकपमा फर्किएको हो, जतिबेला देशको नाम 'जाइरे' थियो । केप भर्डेले आफ्नो पहिलो विश्वकप खेलमै स्पेनसँग बराबरी गर्दै इतिहास रचिसकेको छ ।

messi-hattrick

प्रतियोगिताको यात्रा चुनौतीरहित रहेन

केही टोली, अधिकारी र समर्थकहरूले यात्रा तथा भिसासम्बन्धी समस्याहरू भोग्नुपरेको थियो । अफ्रिकी राहदानी भएका धेरै समर्थकलाई सुरुमा अमेरिका प्रवेशका लागि १५ हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था गरिएको थियो । पछि यो नीति हटाइए पनि आलोचकहरूका अनुसार धेरै समर्थकका लागि त्यो निर्णय निकै अबेर भइसकेको थियो । 

दक्षिण अफ्रिकामा भएको २०१० विश्वकपको चर्चित प्रतीक भुभुजेला भने यसपटक प्रतियोगितामा प्रतिबन्धित गरिएको छ । तथापि अमेरिका र क्यानडाभर तीन मिलियनभन्दा बढी अफ्रिकी मूलका आप्रवासी बसोबास गर्ने भएकाले अफ्रिकी टोलीहरूले बलियो समर्थन पाउने अपेक्षा गरिएको छ । उनीहरू विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफ्नो छाप छोड्ने र सम्पूर्ण महादेशको आशा बोकेर मैदानमा उत्रिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप