बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मानवअधिकार दिवसमा प्रधानमन्त्रीको सन्देश

बिहीबार, २४ मङ्सिर २०७२, १० : ४७
बिहीबार, २४ मङ्सिर २०७२
राजनीतिक निकास निकाल्न सरकार प्रयत्नरत काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत राजनीतिक दलसँग वार्ता तथा संवादको माध्यमबाट सहमति कायम गरी संवैधानिक तथा राजनीतिक निकास निकाल्न सरकार प्रयत्नरत रहेको र यस प्रयत्नलाई बढावा दिने गरी सबै पक्षबाट सहयोग प्राप्त हुने सरकारले अपेक्षा व्यक्त गरेका छन् । आज विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेपाली जनतालाई महसुस हुने गरी नयाँ संविधानद्वारा सुनिश्चित अधिकार उपलब्ध गराउन सरकार दृढ सङ्कल्पित रहेको उल्लेख गर्दै सबै नेपालीको एकता, सहकार्य र प्रयासबाट सबैको मानव अधिकारको सम्मान हुने विश्वास सरकारले लिएको जनाए । उनले नेपाली जनताले सात दशक लामो प्रयासपछि निर्वाचित संविधानसभाद्वारा संविधान बनाई लागू गरी ऐतिहासिक लक्ष्य पूरा गर्दै खुसियाली मनाइरहेको अवस्थामा नेपाल र मित्रराष्ट्र भारतको सीमा नाकामा भएको अवरोधका कारण अत्यावश्यक वस्तुहरुको आयात र आपूर्ति हुन नसकी उत्पन्न मानवीय सङ्कटको समाधान गरी अन्तर्राष्ट्रिय कानुनद्वारा प्रदत्त भूपरिवेष्टित मुलुकको निर्बाध व्यापार तथा पारवहन अधिकारको उपभोग गर्नमा देखिएको व्यवधानलाई सम्बोधन गर्नुपर्ने अर्को चुनौती नेपालीसामु रहेको जनाए । संविधानाले नागरिक तथा राजनीतिक अधिकारका अतिरिक्त विभिन्न आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई मौलिक हकका रुपमा प्रत्याभूत गरी उपचारको समेत प्रभावकारी व्यवस्था गरेको भन्दै उनले संविधानमा व्यवस्थित मानव अधिकार आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग सबैका लागि मानव अधिकार भन्ने मूल मर्ममै आधारित रहेर गठन भएको जनाएका छन् । ‘मानव अधिकारको आधारस्तम्भका रुपमा रहेको लोकतन्त्र र सुशासनलाई संस्थागत गर्न मानव अधिकारलाई आफ्ना सम्पूर्ण नीति, योजना तथा कार्यक्रममा रुपान्तरण गर्नुपर्ने चुनौती सरकारसामु रहेको छ’–सन्देशमा भनिएको छ, ‘विनाशकारी भूकम्पका कारण विस्थापित नागरिकको पुनर्बासको प्रबन्ध मिलाई क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा नवनिर्माण गर्ने कार्यलाई योजनाबद्ध रुपमा द्रुत गतिले अधि बढाउनुपर्ने जिम्मेवारीलाई पूरा गर्न पनि सरकार प्रतिबद्ध र क्रियाशील छ ।’ मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ जारी भएको दिन आज डिसेम्बर १० लाई संयुक्त राष्ट्र सङ्घको एक सक्रिय सदस्य राष्ट्रको हैसियतमा नेपालले पनि प्रत्येक वर्ष विश्व मानव अधिकार दिवसका रुपमा मनाउँदै आइरहेको छ । मानव अधिकारको विश्वव्यापी घोषणालाई मानव अधिकारको मूल मार्गदर्शक दस्ताबेजका रुपमा लिइन्छ । यस वर्षको मानव अधिकार दिवसको नारा सबैलाई मानव अधिकार भन्ने रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप