बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बागलुङ सिरवारेका माओवादी पूर्वलडाकु विदेशिए

बिहीबार, २४ मङ्सिर २०७२, १४ : ३९
बिहीबार, २४ मङ्सिर २०७२
बागलुङ– यहाँको एक गाउँका माओवादी पूर्व लडाकुहरुले गाउँ छोडेका छन् । शान्ति प्रक्रियाताका स्वेच्छिक अवकाश रोजेका र बहिर्गमनमा परेका पूर्व लडाकु विदेशिएका हुन् । जिल्लाको मल्म–६ बागलुङ सिरवारेबाट तत्कालीन नेकपा ९माओवादी०ले थालेको सशस्त्र सङ्घर्षमा होमिएका एक दर्जन बढी लडाकु सक्रिय राजनीतिबाट अलग भएका छन् । राजनीतिक निराशा र आर्थिक–सामाजिक कारणले उनीहरु विदेश पलायन भएका हुन् । त्यसरी विदेशिनेमा खिमबहादुर भित्रीकोटी, विष्णु दर्जी, कृष्णबहादुर दर्जी, तिलबहादुर दर्जी, दानबहादुर दर्जी, जीवन दर्जी, लक्ष्मण दर्जी, दीपक दर्जीलगायत छन् । घरको आर्थिक समस्याले छोरा विदेश गएको पूर्वलडाकु कृष्णबहादुर दर्जीका बुबा जीतबहादुर दर्जीले बताए । उनका कृष्णबहादुर र तिलबहादुर दुवै छोरा मलेसियामा छन् । अधिकांश रोजगारीका लागि मलेसिया पुगेको दर्जीको भनाइ छ । स्वेच्छिक अवकाश रोजेकाले पाएको नगद रु पाँच लाख पनि विदेश जाँदा खर्चेको पाइएको छ । आधाजति लडाकु भने बहिर्गमनमा परेकाले घर फर्कंदा रित्तै हात फर्केका थिए । बहिर्गमनमा पर्नेमा अधिकांश महिला छन् । लक्ष्मी दर्जी, गुमा दर्जी (क), गुमा दर्जी (ख), सुनिता दर्जीलगायत बहिर्गमित लडाकुको परिचय लिएर घर फर्केका थिए । दुःखी गरिबको सुदिन ल्याउन र समाजको मुहार फेर्न भनी माओवादी युद्धमा सामेल भएका उनीहरुमा राजनीतिप्रति कुनै भरोसा छैन । पूर्व लडाकु खिमबहादुर भित्रिकोटीकी श्रीमती सुनिता दर्जीले लडाइँमा जाँदाको आफूहरुको लक्ष्य पूरा नभएको उल्लेख गरे । दर्जी पनि माओवादी लडाकु हुनुहुन्थ्यो । सङ्घर्षकै चरणमा दाङकी सुनिताको खिमबहादुरसँग प्रगतिशील विवाह भएको थियो । “हामीलाई ठूला सपना देखाइएको थियो, त्यतिबेला साँच्चिकै परिवर्तन हुन्छ भन्ने लाग्थ्यो” उनले भने –“अहिले सबै भताभुङ्गको अवस्थामा पुगियो, राजनीति स्वार्थ र नाफाघाटामा अल्झिएको छ ।” श्रीमान् विदेशीएपछि काखका बच्चाको रेखदेख र घरायसी धन्दामै दर्जीको दैनिकी बित्ने गरेको छ । शान्ति प्रक्रियापछि कोही पनि आफूहरुको अवस्था र पिरमर्का बुझ्न नआएको सोही गाउँकी गुमा दर्जीको गुनासो छ । सत्ता र राजनीतिमा फेरबदल आइरहे पनि कुनै समय जीउज्यान नभनी सशस्त्र सङ्घर्षमा होमिएका पूर्व लडाकुहरुको अवस्था भने नाजुक बनिरहेको छ । युद्धकला र राजनीतिक विचार÷दर्शनमा समर्पित बनेका पूर्व लडाकुलाई गाउँ फर्केर घुलमिल हुन अप्ठ्यारो परेको स्थानीय माओवादी नेता डिलबहादुर परियारले बताए । नेकपा–माओवादीका जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका परियारले आर्थिक कारणले नै पूर्वलडाकु विदेश पलायन हुनुपरेको उल्लेख गरे । “माओवादी आन्दोलन पनि छिन्नभिन्न भयो, सबैतिर निराशा छाएका बेला पूर्व लडाकु अलपत्र जस्तै थिए,” परियारले भने–“माओवादी पार्टीले पनि कुनै वास्ता गरेन, परिवार र आफ्नो आर्थिक व्यवस्थापनका लागि विदेश जानुको कुनै विकल्प छैन ।” परियार स्वयम् पनि पूर्णकालीन राजनीति त्यागेर अहिले गाउँमै कृषि उद्यममा लागेका छन् । माओवादी सशस्त्र युद्धमा योगदान पु¥याएको गाउँ भएपनि पार्टीले सधैँ उपेक्षामा पारेको उनको ठहर छ । सिरवारे गाविसकै ठूलो दलित गाउँ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप