बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नयाँ संविधानलाई संस्थागत गर्न गाउँसम्म लोकतन्त्र : नेता खनाल

शनिबार, २६ मङ्सिर २०७२, २० : ५०
शनिबार, २६ मङ्सिर २०७२
काठमाडौँ–पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधानलाई संस्थागत गर्न गाउँ टोलस्तरसम्म लोकतन्त्र स्थापित गरिनुपर्ने बताएका छन् । नेकपा ९एमाले० भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “सामन्तवादको अन्त्यका लागि नयाँ संविधानले योगदान गरेको छ, अब मुलुक पुँजीवादमा प्रवेश गरेको छ, केही प्रतिक्रियावादी र विखन्डनवादीले यो संविधान रोक्न खोजेका थिए, कतिपय अन्तर्राष्ट्रिय शक्तिले पनि नचाहेको संविधान आएकाले अघोषित नाकाबन्दीको सामना गर्नुपरेको छ”–उनले भने । नाकाबन्दी लगाएपछि भारत विश्वव्यापीरुपमा बदनाम भएको, भारतमै पनि राज्यसभा र लोकसभामा यसका विरुद्ध आवाज उठेपछि केही दिनमै हट्ने सङ्केत मिलेको उनले बताए । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले संविधानलाई जस्ताको त्यस्तै जनताका बीचमा लगी जागरण फैलाउने अभियानमा सरकार लागेको बताए । “मानवीय सङ्कट र नाकाबन्दी अन्त्य गर्न सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको छ, अहिले औपचारिक एवम् अनौपचारिक रुपमा वार्ता भइरहेको छ, सकारात्मक सङ्केत आएकाले छिट्टै समस्या समाधान हुने विश्वासमा छौँ, यो समस्या समाधानपछि आर्थिक समृद्धि र सुशासनको दिशामा लाग्नुपर्छ”–उनले भने । पूर्वाधार विकासका आयोजनालाई समयमै सक्नका लागि सरकारले समिति नै बनाएकाले इन्धनलाई व्यवस्थित गरेर काम सुचारु गरिने उनले बताए । एमाले स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले विसं २००७ पछिको ६७ वर्षमा ६४ वटा सरकार परिवर्तन भएकाले स्थिरता र विकासका लागि नेपालीका बीचमा दरो एकताको आवश्यकता रहेकोमा जोड दिए । केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले सामूहिक स्वार्थका लागि काम गर्नुपर्ने कम्युनिस्ट पार्टीका नेतामा सामूहिकताको भावना हराउँदै गएकाले समीक्षा गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय कमिटी सदस्य घनेन्द्र बस्नेत, जयन्ती राई, हरि राई, पूर्व मन्त्री कृपासुर शेर्पा, पारुहाङ राई र देवीप्रसाद घिमिरेलगायतका वक्ताले कम्युनिस्ट पार्टी जनताको भावनाअनुरुप चल्नुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप