बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद

बिहीबार, ०४ असार २०८३, १४ : ५२
बिहीबार, ०४ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा तटस्थ रहेको भन्दै चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई धन्यवाद दिएका छन् ।
  • उनले दुवै नेताले इरानको आणविक विवाद समाधान गर्ने अमेरिकी प्रयासमा अवरोध नपुर्याएको बताए ।
  • युरोप र जापानजस्ता सहयोगी देशहरूले भने सैन्य अभियान वा स्ट्रेट अफ होर्मुज खोल्ने प्रयासमा पर्याप्त सहयोग नगरेको भन्दै ट्रम्पले उनीहरूको आलोचना गरे ।

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा तटस्थ रहेको भन्दै चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिलाई धन्यवाद दिएका छन् । 

फ्रान्सको एभियाँ–ले–बाँमा आयोजित जी–७ सम्मेलनपछि पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले दुवै नेताले इरानको आणविक विवाद समाधान गर्ने अमेरिकी प्रयासमा अवरोध नपुर्‍याएको बताए । 

‘म चीनका राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु । उनी पूर्ण रूपमा तटस्थ रहे र म त्यसको कदर गर्छु । त्यस्तै म राष्ट्रपति पुटिनलाई पनि धन्यवाद दिन चाहन्छु, उनी पनि धेरै तटस्थ रहे,’ ट्रम्पले भने ।

उनका अनुसार चीन र रुसले यस द्वन्द्वलाई थप जटिल बनाउन सक्थे । तर त्यसो नगरेकोले  कूटनीतिक प्रयास सहज बनेको हो । 

ट्रम्पले युरोप र जापानलगायत सहयोगी देशहरूको भने आलोचना गरेका छन् । उनका अनुसार यी देशहरूले सैन्य अभियान वा स्ट्रेट अफ होर्मुज खोल्ने प्रयासमा पर्याप्त सहयोग गरेनन् । जी–७ सम्मेलनमा इरानसँगको युद्धविराम सम्झौता पारित भएपछि ट्रम्पले केही देशहरूको भूमिकाप्रति असन्तोष व्यक्त गरेका थिए ।

रुस र चीन दुवै इरानसँग नजिक सम्बन्ध राख्ने देश हुन् । रुसले यस युद्धले पश्चिम एशियामा आणविक हतियारको दौड बढ्न सक्ने चेतावनी दिएको थियो । चीनले पनि अमेरिकी आक्रमणलाई इरानको सार्वभौमिकताको उल्लंघन भन्दै आलोचना गरेको थियो । 

तर ट्रम्पले चीनका राष्ट्रपति सीले ठूला हतियार वा सैन्य सामग्री नपठाएर द्वन्द्वलाई थप चर्किनबाट रोकेको दाबी गरेका छन् । ‘उनीहरूले ठूलो स्तरको सैन्य सहायता पठाउन सक्थे, तर पठाएनन् । राष्ट्रपति सीले सहयोग गर्ने प्रयास गरे र सम्भवतः समाधानमा योगदान पनि दिए,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप