३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले विगत ३५ वर्षदेखि थला परेको र बिग्रिएको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफू सुधारको काम गरिरहेको बताएकी छिन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारकाे बैठकमा सांसदहरूले उठाएको सवालको जवाफमा मन्त्री यादवले लामो समयदेखि थुप्रिएका समस्याहरूलाई सच्याउँदै औद्योगिक क्षेत्रलाई चलायमान बनाउन आफू निर्मम बनेर अघि बढेको स्पष्ट पारिन्।
मन्त्री यादवले भनिन्, ‘३५ वर्षदेखि बिग्रिएको र थला परेको चिजलाई सच्याउन र सफा गर्न म अहिले खटिरहेकी छु। विगतमा औद्योगिक क्षेत्रको नाममा जग्गा कब्जा गर्ने र राज्यलाई भाडा नतिर्ने प्रवृत्तिले गर्दा यो क्षेत्र तहसनहस भएको छ, त्यसलाई सुधारेरै छाड्छु।’ उनले विगतको विकृति अन्त्य गर्न आफूले प्रशासनिक कडाइ सुरु गरेको समेत उल्लेख गरिन्।
सुधारको प्रयास स्वरूप मन्त्रालयले लामो समयदेखि नउठेको बक्यौता असुल गर्न थालेको मन्त्री यादवले जानकारी दिइन्। केही दिनको सूचनाका आधारमा मात्रै अहिलेसम्म २३ करोड रुपैयाँभन्दा बढी बक्यौता असुल भइसकेको छ। मन्त्री यादवले भनिन्, ‘हामीले कतिपय उद्योगको लाइन काट्नेसम्मको निर्मम निर्णय लिनुपरेको छ। यो काम बिग्रिएको थिति बसाल्न र राज्यको ढुकुटी जोगाउनका लागि हो।’
मन्त्री यादवले राज्यले सस्तो दरमा उद्योग खोल्न उपलब्ध गराएको जग्गामा केही व्यवसायीले गाडीको शोरुम र अन्य गैर–औद्योगिक व्यवसाय सञ्चालन गरिरहेको भन्दै असन्तुष्टि जनाइन्। ‘हामीले उद्योग खोल्न दिएको जग्गामा शोरुम बनाउन दिइएको होइन,’ उनले भनिन्, ‘अब यस्ता विकृतिहरू चल्दैनन्, म कानुन बमोजिम कडाइका साथ अघि बढ्छु।’
मन्त्री यादवले मन्त्रालय मातहतमा कतै पनि गडबडी भए आफूलाई सिधै खबर गर्न समितिका सदस्यहरूलाई आग्रह गर्दै, आफू सन्ततिको भविष्यका लागि सुशासन कायम गर्न दृढ रहेको बताइन्।
उनले समितिको मार्गदर्शनलाई स्वीकार गर्दै औद्योगिक क्षेत्रको सुधारमा लाग्ने प्रतिबद्धतासमेत दोहोर्याइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण