बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विद्युत् आयोजनाको निर्माण अवधि लम्बियो

बिहीबार, ०२ पुस २०७२, १५ : ०८
बिहीबार, ०२ पुस २०७२
चौतारा– गत वैशाख १२ गतेको भूकम्प र भारतीय नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ । विसं २०६८ मा निर्माण कार्य सुरु भएको २२.२ मेगावाटको उक्त आयोजना २०७२ साल कात्तिकमा सम्पन्न गरिने लक्ष्य भए पनि भूकम्प र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि २०७३ कात्तिकमा मात्र सम्पन्न गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजूले बताए । शिवश्री हाइड्रोपावरले तीन अर्ब रुपैयाँको लागतमा निर्माण सुरु गरेको यो आयोजना २०७१ सालको चैतमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक कारणले सात महिनापछि धकेलिएको थियो । यसरी समय थपिँदै गएपछि सुरु लागतमा थप एक करोड रुपैयाँ लागतमा वृद्धि भएको आयोजनाले जनाएको छ । अरनिको राजमार्गको १०० किमीमा पर्ने सिन्धुपाल्चोकको मार्मिङ गाविसको चाकुबजारदेखि आयोजना स्थलसम्मको ३० किमी प्रवेशमार्ग निर्माण सम्पन्न भइसकेको छ । भूकम्पले विभिन्न ठाउँमा पहिरो लागेर सबै क्षति भएपछि पुनःनिर्माण गर्नुपरेको र इन्धन अभावले पाँच किमी सडकको निर्माण कार्य अझै बाँकी रहेको छ । त्यसैगरी, तीन हजार ३०० मिटर भूमिगत सुरुङमध्ये इन्धन अभावकै कारण ६०० मिटर सुरुङ खन्न बाँकी रहेको कार्यकारी निर्देशक कसजूले बताए । फुल्पिङकट्टी गाविसको चन्द्रपुरमा बाँध बाँध्ने, याङ्लेफाँटमा विद्युत् गृह निर्माण गर्ने र आयोजना स्थलदेखि २२ किमी प्रसारण लाइन ल्याई लामोसाँघुको विद्युत् सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने योजना रहेको छ । त्यसैगरी, ३६ मेगावाटको अपर बलेफीको हालै विद्युत् विकास विभागबाट विद्युत् खरिद बिक्री सम्झौता पिपिए भएको छ । वानिङ डेभलपमेन्ट प्रालिद्वारा ६ अर्ब रुपैयाँको लागतमा निर्माण हुने सो आयोजना २०७५ सालको चैतमा सम्पन्न गरिने लक्ष्य रहेको छ । गुम्बा गाविसको लिदीमा बाँध बाँधी चार हजार ५०० मिटर भूमिगत सुरुङद्वारा पानी ल्याई गोल्चे गाविसको बैकुण्ठेमा निर्माण हुने विद्युत् गृहमा खसालिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजूले बताए । बलेफी–जलवीरे सडकबाट ३० किमी प्रवेशमार्ग निर्माण गरी आयोजना स्थलबाट २२ किमी लामो प्रसारण लाइनद्वारा लामोसाँघुस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिनेछ । आयोजनाबाट २१२ मेगावाट प्रतिघन्टा विद्युत् उत्पादन हुने कसजूले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप