बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नारायणगोपालका तस्बिर माघमा प्रदर्शन हुने

आइतबार, ०५ पुस २०७२, १७ : ३६
आइतबार, ०५ पुस २०७२

काठमाडौँ, ५ पुस । स्वरसम्राट् नारायणगोपालका विभिन्न समयका तस्बिर आगामी माघको पहिलो हप्ता यहाँ प्रदर्शन हुने भएको छ ।

सांस्कृतिक सङ्ग्रहालय नेपालको आयोजनामा माघ १ देखि ५ गतेसम्म नेपाल कला परिषद्मा सो प्रदर्शनी हुन लागेको हो ।

नारायणगोपालको २५ औँ स्मृति दिवसको विशेष अवसर पारेर उनीसँग सम्बन्धित तस्बिर, दस्तावेज र जानकारीमूलक सामग्री प्रदर्शन गर्न लागिएको सांस्कृतिक सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले जानकारी दिए ।

उहाँले नारायणगोपालका बाल्यकाल, जवानी, श्रीमती पेमला, विदेश भ्रमणमा जाँदाका तीन सयभन्दा धेरै तस्बिरका साथै विभिन्न पत्रपत्रिकामा छापिएका अन्तर्वार्ता, उनलाई उपहार दिएका चित्रकला, उनले बजाउने गरेका बाजागाजा र उनले पाएका सम्मान पनि प्रदर्शनीमा राखिनेछ ।

स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति दिवस मङ्सिर १९ गते परे पनि मुलुकमा देखिएको अप्ठ्यारो परिस्थितिका कारण केही ढिला गरी तस्बिर प्रदर्शन गर्न लागिएको जनाइएको छ । उनले प्रदर्शनीका लागि अहिले नारायणगोपालका तस्बिर खोजी भइरहेको बताए ।

यसअघि सङ्ग्रहालयले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र मदन भण्डारीका तस्बिर प्रदर्शनी गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप