बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेसी मोर्चासँगको अबको वार्ता निर्णायक हुन्छ : सञ्चारमन्त्री

मङ्गलबार, ०७ पुस २०७२, १३ : २६
मङ्गलबार, ०७ पुस २०७२

पोखरा– सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले मधेसी मोर्चासँगको अबको वार्ता निर्णायक हुने र मुलुकले निकास पाउने बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राईले अब केही दिनमै वार्ताका लागि मिति र समय तोकिने तथा परिणाम नआएरसम्म निरन्तर टेबुलमा बसेर वार्ता गरी सहमतिमा पुगेर अघोषित नाकावन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे ।

“नयाँ संविधान जारी भएपछि बिनाकारण नाकाबन्दी गरेर देशमा मानवीय सङ्कट पैदा गरियो, यसको जवाफ स्वयं मधेसवादी नेताले पनि दिन सकेका छैनन् भन्दै उनले संविधानका केही विषयवस्तुका बारेमा चित्त नबुझेका भए त्यसका बारेमा छलफल र वार्ताबाटै टुङ्ग्याउन सकिने बताए । नेपाल सरकारका प्रवक्ता राईले भने–“ मधेसी मोर्चासँगको वार्ता टुङ्गोमा पुगेन भने सरकार चुप लागेर बस्न सक्दैन, संविधान र कानुन बमोजिम अघि बढ्छ । ”

सञ्चार क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन सरकारको ध्यान केन्द्रित भएको बताउँदै सञ्चार प्रविधिमन्त्रीले आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अघि बढेको र श्रमजीवी पत्रकार ऐन र पत्रकार दुर्घटना बिमाको कार्यक्रम तत्काल अघि बढाइने जानकारी दिए । मन्त्री राईले पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अब दुई महिनाभित्र सुरु हुने जानकारी दिए ।

उनले मधेसी मोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा गरेको दुव्र्यवहारप्रति आपत्ति प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप