मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्र सङ्घका उपमहासचिवसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेट

शुक्रबार, २४ पुस २०७२, १९ : २४
शुक्रबार, २४ पुस २०७२

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका साथै विश्वका विभिन्न मुलुकमा शान्ति स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले निर्वाह गर्दैआएको सक्रिय भूमिकाको सराहना गरेकी छिन् ।

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज राष्ट्रपति कार्यालयमा भएको शिष्टाचार भेटमा राष्ट्रपति भण्डारीले उक्त विश्व संस्थाको सराहना गरेकी हुन् ।

त्यस अवसरमा राष्ट्रसङ्घको सदस्यका रुपमा नेपालले निर्वाह गरेको भूमिका तथा नेपालको समसामयिक परिस्थितिबारे विचार विमर्श भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले बताए ।

भेटमा संयुक्त राष्ट्रसङ्घका तर्फबाट नेपालमा हुनसक्ने सहयोगका सम्बन्धमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव पोखरेलले बताए ।

राष्ट्रपतिले जनप्रतिनिधिमूलक संविधानसभाबाट जारी भएको संविधानका सकारात्मक एवम् महत्वपूर्ण पक्षबारे उपमहासचिवलाई जानकारी गराउँदै त्यसैको परिणामस्वरुप नेपालले प्रथम महिला राष्ट्रपति र पहिलो महिला सभामुख पाएको बताइन् । “निकट भविष्यमा नै मुलुकले महिलालाई नै प्रधानन्यायाधीशका रुपमा पाउने राष्ट्रपतिले अवगत गराउनुभयो”– राष्ट्रपति र उपमहासचिवबीच भएको छलफललाई उद्धृत गर्दै प्रवक्ता पोखरेलले भने ।

विश्वका सम्पूर्ण राष्ट्रको आस्थाको केन्द्र राष्ट्रसङ्घको ६० वर्षदेखिको सदस्य नेपालले विश्व शान्ति स्थापनामा निर्वाह गरेको भूमिकाबारे राष्ट्रपतिले उपमहासचिवलाई स्मरण गराउनुभएको सहसचिव पोखरेलले बताए ।

अतिकम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख मुलुकहरुको चौतर्फी विकासका लागि राष्ट्रसङ्घले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको जानकारी पनि उनले दिए ।

“उपमहासचिव फेल्टम्यानले महासचिव बानकी मुनका तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालले प्रथम महिला राष्ट्रपति पाउनु विश्वका अन्य मुलुकका निम्ति प्रेरणाको विषय भएको बताए”– श्री पोखरेलले जानकारी दिए ।

नेपालको विकास, राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि संयुक्त राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको प्रवक्ता पोखरेलले बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फेल्टम्यानसँग आज प्रधानमन्त्री निवासमा भेट गरेका छन् । भेटका क्रममा प्रम ओलीले राष्ट्रको समग्र विकासका लागि संयुक्त राष्ट्र सङ्घबाट नेपालले नैतिक–भौतिकलगायत सबै किसिमका सहयोगको अपेक्षा गरेको बताए ।

“नेपालले झेल्नुपरेको मानवीय सङ्कटका बेला संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त नैतिक समर्थन र सहयोगप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो,”– भेटपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सञ्चारकर्मीलाई बताए ।

उपमहासचिव फेल्टम्यानले जारी सङ्कटबारे राखेको जिज्ञासाको प्रत्युत्तरमा प्रधानमन्त्रीले असल मनशायका साथ आन्दोलनरत सबै पक्षसँग वार्ता भइरहेकाले संविधान संशोधनसँगै विद्यमान असहज परिस्थिति अन्त्य हुने विश्वास व्यक्त गरेको सल्लाहकार रिमालले बताए ।

भेटमा सल्लाहकार रिमाल, प्रधानमन्त्री कार्यालयका परराष्ट्रविज्ञ गोपाल खनाल, परराष्ट्र मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल र यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कावा प्रमुख क्रेग सान्ड्रेर्सलगायत सहभागी थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप