मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दार्चुलाको उच्च हिमाली भेगमा हिमपात

शनिबार, २५ पुस २०७२, १० : ४१
शनिबार, २५ पुस २०७२

भीमदत्तनगर–दार्चुलामा वर्षासँगै शुक्रबारदेखि उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ ।

उच्च हिमाली भेगका गाउँमा समेत शुक्रबारदेखि हिमपात भइरहेको स्थानीयवासीको भनाइ छ । अपी नगरपालिकासँग जोडिएको खार गाविसको दल्लेकमा समेत हिउँ जमेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

उनले खण्डेश्वरी, घुसा, राप्ला, सुन्सेरा, धौलाकोट, इयरकोट, सितोलालगायत जिल्लाका उत्तरी गाविसका उच्च भेगमा हिउँ जमेको सूचना आएको बताए ।

वर्षा र हिउँसँगै सदरमुकामलगायत अन्य क्षेत्रमा चिसो बढेको छ । “मङ्सिरमा पनि हिमपात डाँडामा जम्ने गरेको थियो ।” स्थानीय कल्याणसिंह बोहराले भने– “अहिले त बस्तीमा समेत हिउँ प¥यो ।” मौसममा एक्कासि परिवर्तन आउँदा जनजीवन प्रभावित भएको छ ।

रसुवाका हिमाली क्षेत्रमा हिमपात रसुवा–एक्कासि मौसममा आएको परिवर्तनसँगै हिमाली क्षेत्रमा गए रातिदेखि हिमपात भएको छ ।

हिमपातपछि सो क्षेत्रको जनजीवन कष्टकर भएको छ । विशेष गरी लाङटाङ क्षेत्रका बासिन्दाको जनजीवन बढी कष्टकर भएको बताइएको छ । भूकम्पबाट ठूलो क्षति पुगेको लाङटाङमा स्थानीयवासीले जस्ताको टहरो समेत बनाउन भ्याएका छैनन् ।

त्यस्तै चन्दनबारी, ठूलो स्याफ्रु, थुमन, नाकथली, तातोपानी, सिम्बु र गत्लाङ क्षेत्रमा पनि हिमपात भएको छ । समुद्री सतहदेखि करिब दुई हजार ३०० मिभन्दा माथिका क्षेत्रमा हिमपात हुँदा चौपायासमेत कठ्याङ्ग्रिएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप