मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सडकबाट : नर्सहरूको गुनासो– चाउचाउमात्र खाएर आफ्नै स्वास्थ्य बिग्रने भो, विरामीको स्वास्थ्य कसरी सुधार्नु ?

आइतबार, २६ पुस २०७२, १५ : ३१
आइतबार, २६ पुस २०७२

विशाल श्रेष्ठ (नर्स), सुमेरू सिटी हस्पिटल, पुल्चोक

हस्पिटलमा प्रायःजसो मेरो ड्युटी विहान ७ बजेदेखि पर्छ । गाेंगबुदेखि पुल्चोकसम्म आउनुपर्छ । टाढा छ । नाकाबन्दीपूर्व त ठिकै थियो । देशमा सविंधान बनेपछि देशमा सकरात्मक परिवर्तन हुन्छ भन्ने बुझाइ थियो । विश्व इतिहासले पनि यहि भन्छ । तर हाम्रो नेपालमा मात्र के भएको होला, देश झन्–झन् गल्दै पो छ । हामी सर्वसाधारणलाई मात्र सधैँ–सधँै झमेला छ । नाकाबन्दीपछि हाम्रो जीवन एकदमै कष्टकर बनेको छ । विहानी सिफ्टमा काम गर्न गोंगबुदेखि सार्वजनिक सवारी चढेर त धेरै नै मुस्किल हुन्छ । भनेको समयमा गाडी पाइँदैन । जाडोको मौसम छ, गोंगबुमै ७ बज्छ । अस्पताल अरू क्षेत्रभन्दा संवेदनशील हुन्छ । समयको ख्याल गर्नुपर्छ । समयमै आउन सकिएन भने धेरै कुरा बिग्रिन्छ । सार्वजनिक सवारीमा आउन सम्भव नभएर आजभोलि मोटरसाइकलमा आउँछु । ब्ल्याकमा तेल किन्छु । अरू त उपाय नै छैन । काम गर्नु परिहाल्यो । जीवन चलाउन परिहाल्यो । खानेकुरा पनि उस्तै महँगो छ । कमाएको पैसा कहाँ जान्छ, थाहै पाइँदैन । हामी सर्वसाधारण यति कष्टकर घडीबाट गुज्रिदै छौँ । राष्ट्रकै अविभावक सरकार भने किन बुझ्दैन ? आखिर हामी जनताको गल्ती पनि त छैन नि । समस्या आइरहन्छ तर भारतको मुख ताकेर कहिलेसम्म बस्ने हो ? सरका समाधानको बाटोतर्फ अघि बढोस् । सरकार आफू आत्मनिर्भर भएर हामीलाइ पनि आत्मनिर्भर बन्ने वातावरण सिर्जना गरिदिओस्, ताकि हामी हाम्रो देश र सरकारमाथि गर्व गर्न सकौं ।

पवित्रा राई (नर्स), अल्का हस्पिटल ,जावलाखेल दुई वर्षदेखि यहाँ नर्सिङ गर्दैछु । केहि गरौँला भनी ठूला सपना बोकेर खोटाङदेखि आएँ । काठमाडांैमा कहिल्यै पनि शान्ति महशुश गर्न पाएको छैन । झन् ५ महिनादेखि त जीवन नै अस्तव्यस्त भएको छ । खाने, बस्ने, हिँड्नेजस्ता आधारभूत कुराकै लागि संघर्ष गर्नुपरेको छ । सपना पूरा गर्नेतर्फ त गम्भीर हुनै सकिएको छैन । गाउँंमा आमा– बाले खाई नखाई जोहो गरेको लाखौँ रुपैयाँ खर्चेर नर्सिङ पढाए । बल्ल–बल्ल काम पाइयो तर काम गरेर सपना पूरा गर्ने वातावरण छैन नेपालमा । ड्युटीको ठेगान नै छैन । कहिले बिहानैदेखि खट्नुपर्छ कहिले रातभर । पकाएर खानलाई कोठामा ग्यास छैन । बाहिर किनेर खानु पनि कसरी ? सबै खानेकुराको भाउ आकासिएको छ । काम गर्न थालेको जम्मा दुइ बर्ष भो, धेरै कमाइ पनि छैन । खै कसरी टिक्ने हो ? नाकाबन्दीका कारण होला गाडी नपाएर डाक्टरहरु पनि ढिला हस्पिटल आउँछन् । डाक्टर समयमा नआउँदा बिरामीहरू हामीसँग जवाफ माग्छन् । किचकिच गर्छन । कसैले त मनलाग्दी गाली पनि गर्छन । हाम्रो के गल्ती छ र ? दिमागै खल्बली हुन्छ । अशान्त दिमाग हुँदा काम गर्ने जाँगर नै आउँदैन । विरामीलाई शान्ति दिने हामी सेवकको नै यस्तो गति भएपछि हस्पिटल जस्तो संवेदनशिल क्षेत्रको के हाल हुन्छ ? सरकारले बुझ्नुपर्यो । लाचारीपन छोडेर जसरी हुन्छ समस्या सुल्झाउनतर्फ लाग्नुपर्यो । अनि हामी पनि गनौँला सरकारलाई ।

वर्षा कार्की (नर्स), नर्भिक इन्टरनेसनल हस्पिटल, थापाथली नर्सिङमा समयको एकदमै ठूलो महत्व हुन्छ । समयमै हस्पिटल पुग्नुपर्ने दवाब हुन्छ । अहिलेको यो नाकाबन्दीका कारण हाम्रो पेशा नै धरापमा परेको छ । आफ्नो निजी सवारी छैन । भनेको समयमा सार्वजनिक गाडी पाउन मुश्किल हुन्छ । बिहानैको ड्युटीमा हिँडेर आउनुपर्छ । आधा रातमा ड्युटी सकेर हामी कसरी घर पुग्ने ? सुरक्षित पनि त छैन काठमाडौँ । गोजीमा पैसा भएर पनि खान पाइएको छैन । हस्पिटलको क्यान्टिनमा खानेकुराहरूको भाउ छुनै नसकिने भइसक्यो । भनेकोजस्तो खान पनि पाइँदैन । चाउचाउमात्र खाएर आफ्नै स्वास्थ्य बिग्रने अवस्था आउन लागिसक्यो । विरामीको स्वास्थ्य कसरी सुधार्छौं हामीले ? पाँच महिनादेखि समयमा हस्पिटल पुग्न सकिएको छैन । तलब काटिदिन्छन् । विरामी र डाक्टरहरूले समेत पेल्छन् । जताबाट पनि हामी नै पिल्सिनुपर्ने, कस्तो अन्याय ! समस्या छ देशमा राजनीतिक खिचातानीको । हामी घुनसरि पेलिदै छौँ । समस्या आइपर्नु ठूलो कुरा होइन । समाधानको बाटो पहिल्याउन नसक्दा सरकार चुकिरहेको छ । आफैं लर्बराइरहेको सरकारले हामीलाई राहत देला भनेर आशा पनि के गर्नु । कुनै उपायबाट नाकाबन्दी खुलाएर सरकारले वर्तमान समस्याको समाधान गरिदिए हामीलाई न्याय हुनेथियो । प्रस्तुति ः फातिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप