कांग्रेसमा पार्टी सभापति बन्न २० हजार दस्तुर चाहिने
काठमाडौं – नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन सम्वन्धी निर्देशिका पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तेह्रौ महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिका जारी गरेको हो ।
निर्वाचन निर्देशिकाका अनुसार केन्द्रीय सभापतिका लागि हुने निर्वाचनमा उम्मेदवारी दिनेले २० हजार रुपैयाँ दस्तुर वापत बुझाउनु पर्नेछ । केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय महामन्त्री पदका लागि १५ हजार, केन्द्रीय सदस्य पदका लागि १० हजार र जिल्ला सभापति पदका लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ । ‘मनोनयन पत्र दाखिला गर्दा गाउँस्तरको सबै निर्वाचनको लागि रु. २००।–, नगरस्तरबाट हुने सबै निर्वाचनको लागि रु. ५००।–, क्षेत्रबाट हुने सबै निर्वाचनको लागि रु. १,०००।–, जिल्ला सचिव, कोषाध्यक्ष र सदस्यको पदको निर्वाचनको लागि रु ३,०००।–, जिल्ला सभापति पदको निर्वाचनको लागि रु. ५,०००।– र केन्द्रीय सदस्यको पदको निर्वाचनको लागि रु १०,०००।– र केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय महामन्त्री पदको निर्वाचनका लागि रु. १५,०००।– र केन्द्रीय सभापतिका लागि हुने निर्वाचनका लागि रु. २०,०००।— दस्तुर वापत बुझाउनु पर्नेछ । नाम फिर्ता लिएमा पनि सो दस्तुर रकम फिर्ता हुने छैन ।’ निर्वाचन निर्देशिकामा उल्लेख छ ।
१३ औं महाधिवेशनमा विद्युतीय मतदान मेसिन गर्न सकिने निर्वाचन निर्देशिकामा उल्लेख छ भने कुनै पनि तहको वहुपदका लागि हुने निर्वाचनमा कुनै व्यक्तिको हकमा सर्वसम्मति र वाँकीका हकमा निर्वाचन गर्न नपाइने निर्देशिकामा उल्लेख छ । बैठकमा पार्टीका उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए भने निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले निर्वाचन निर्देशिका सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकले लण्डनवाट प्रकाशीत हुने विश्व प्रसिद्ध पत्रिका “द फिनान्सियल टाइम्स”को सह–प्रकाशन “द वैकर” ले सन् २०१५ को लागि तत्कालिन नेपाली कांग्रेसको नेतृत्वको सरकार र सरकारका अर्थमन्त्री डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा सम्मानीत गरेकोमा वधाई समेत दिएको छ ।
यस्तो छ कांग्रेसको निर्वाचन निर्देशिका २०७२
श्री नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७२
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा ३५ र नेपाली काँग्रेसको नियमावली २०६८ को नियम ३९ ले दिएको अधिकार प्रयोग गरी केन्द्रीय निर्वाचन समितिको मिति २०७२ पौष महिना १४ गते बसेको बैठकले पार्टीका सबै तहका निकाय र पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्न गराउन तुरुन्त लागू हुने गरी तेह्रौ महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिका वनाइ जारी गरेको छ । यो निर्देशिका नेपाली काँग्रेस केन्दीय समितिको मिति २०७२।०९।.... मा वसेको वैठकवाट स्वीकृत भएको छ ।
परिभाषा ः विधान भन्नाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) लाई वुझाउदछ ।
१. केन्द्रीय निर्वाचन प्रतिनिधि खटाउने र क्रियाशील सदस्यताको नामावली प्रकाशन गराउने व्यवस्था ः (क) केन्द्रीय निर्वाचन समितिले प्रत्येक जिल्लामा आवश्यकता अनुसार अधिकार सम्पन्न केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको रुपमा निर्वाचन अधिकृत नियुक्त गर्नेछ । निर्वाचन अधिकृतले आफू खटिएको जिल्ला भित्रका सबै तहका पद (मतदान केन्द्र, वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला) को निर्वाचन सम्पन्न गर्ने गराउने व्यवस्था मिलाउने छ । (ख) (ग) केन्द्रीय निर्वाचन समितिले दफा १ को खण्ड (क) वमोजिमको निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचन गराउने प्रयोजनका लागी नेपाली काँग्रेसको मूल्य र आदर्श संग नजिक रहेका विभिन्न शुभेच्छुक तथा सहयोगी संस्थाहरुवाट संभावित नामहरु मागिनेछ । त्यसरी माग गरिएका नामहरु निर्वाचन गराउन आवश्यक भन्दा केहि संख्या वढाएर माग गरिनेछ र निर्वाचन संम्पन्न गरिनेछ । तर, माग गरिएका व्यक्तिहरु पर्याप्त संख्यामा उपलव्ध नभएमा वा निर्वाचन प्रयोजनका लागि खटाइएका व्यक्तिले सम्वन्धीत ठाउँमा जान अस्वीकार गरेमा वा निर्वाचन सम्पन्न गर्न नसकेमा केन्द्रीय निवार्चन समितिलाई वैकल्पिक निर्णय गर्न वाधा परेको मानिने छैन । (घ) केन्द्रीय निर्वाचन समितिले मुलुक भर निर्वाचन सम्पन्न गर्ने गरि निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ । तर कावु वाहिरको परिस्थिति परि निर्धारित मिति र समयमा निर्वाचन सम्पन्न हुन नसकेमा वा निर्वाचनमा अनियमितता भै निर्वाचन वदर गर्नु पर्ने अवस्था आई परेमा सो वदर गरी केन्द्रीय निर्वाचन समिति वा निर्वाचन अधिकृतले केन्द्रिय निर्वाचन समितिको पूर्व स्वीकृति लिई अर्को मिति तोकी निर्वाचन सम्पन्न गर्नेछ । (ङ) निर्वाचन अधिकृतले नेपाली काँग्रेसको शुभेच्छुक तथा सहयोगी संस्थाहरु मध्येबाट निर्वाचन अधिकृतको अधिकार प्रयोग गर्ने गरी आवश्यकतानुसार गाउँ, नगर, नगरका वडा र क्षेत्रका लागि मतदान अधिकृतहरु नियुक्त गरी खटाउनेछ । त्यसरी खटिएका मतदान अधिकृतले सम्बन्धित तहको निर्वाचन सम्पन्न गर्नेछ । (च) केन्द्रीय कार्यसमितिवाट क्रियाशील सदस्यता प्राप्त गरेका मतदाताहरुको अन्तिम नामावली सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतले प्रकाशित गर्नेछ । जिल्ला कार्यसमिति÷क्षेत्रीय समिति÷ नगरसमिति÷नगर वडा समिति÷ गा.वि.स. समितिहरुले आ–आफ्नो क्षेत्राधिकार भित्र पर्ने क्रियाशील सदस्यताको मतदाता नामावलीको प्रतिलिपी मागेमा आवश्यक शुल्क लिई संभव भए सम्म उपलब्ध गराउने छ । (छ) निर्वाचन वा मतदान अधिकृत आफू जुन गाउँ, नगर, क्षेत्र तथा जिल्लामा खटिएको हो, सो स्थानमा हुने निर्वाचनको कुनै पनि पदका लागि उम्मेदवार हुन सक्ने छैन । (ज) पार्टीका केन्द्रीय, जिल्ला, क्षेत्र, नगर, नगर वडा र गाउँ, गाउँ वडा र गाउँ मतदान केन्द्र समितिहरुमा निवार्चन सम्पन्न गर्ने प्रयोजनका लागि खटिइजाने निर्वाचन समिति÷निर्वाचन अधिकृत÷मतदान अधिकृतलाई सहयोग गर्नु प्रत्येक तहका पार्टीका पदाधिकारी तथा पार्टी कार्यकर्ताहरुको जिम्मेवारी र कर्तव्य हुनेछ । (झ) केन्द्रीय निर्वाचन समितिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयसंग र निर्वाचन अधिकृतले सम्वन्धित जिल्ला कार्य समितिसंग समन्वय राखी काम गर्नेछ । केन्द्रीय निर्वाचन समिति र निर्वाचन प्रयोजनका लागि खटिइ जाने निर्वाचन÷मतदान अधिकृत लगायतलाई सहयोग गर्नु नेपाली काँग्रेसको केन्द्रीय समिति देखि गाउँ समिति सम्म सवैको कर्तव्य हुनेछ ।
२. निर्वाचन तथा मतदान अधिकृतको काम, कर्तव्य र जिम्मेवारी ः (क) निर्वाचन अधिकृतको अधिकार प्रयोग गर्ने गरी खटिएको मतदान अधिकृतले पार्टीको विधान, नियमावली, निर्वाचन निर्देशिका २०७२ र केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गरी स्वतन्त्र, निष्पक्ष र सद्भावपूर्ण रुपमा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गराउनु पर्नेछ । (ख) निर्वाचन अधिकृत वा मतदान अधिकृतले पार्टीको सम्बन्धित तहको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा नै सम्पन्न गर्नु पर्नेछ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन हुने सूचना यथा समयमै प्रकाशित गर्नेछ । (ग) केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा सम्बन्धित तहका पदको मतदानबाट निर्वाचन गराउँदा मतदाता नामावली प्रकाशित गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, मनोनयन पत्र माथि दावी विरोध गर्ने, सो उपर परेको दावी विरोधको जाँचबुझ गर्ने, उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) वमोजिम पहिलो नामावली प्रशाशित गर्ने, मनोनयन पत्र फिर्ता लिने, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने र निर्वाचन सम्पन्न पश्चात परिणाम घोषणा गर्ने समेत प्रयोजनका लागि निर्वाचन अधिकृत वा मतदान अधिकृतले निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछ । (घ) कावू भन्दा बाहिरको परिस्थिति उत्पन्न भएमा गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनका निमित्त पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गर्न सकिनेछ । सोको कारण सहितको जानकारी केन्द्रीय निर्वाचन समितिलाई निर्वाचन अधिकृतले गराउनु पर्नेछ । तर सामान्यतया केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्नु पर्नेछ । (ङ) निर्वाचन अधिकृतले निर्वाचन गराउदा जुन तहको निर्वाचन गर्नु पर्नेछ सो निर्वाचन सम्वन्धित स्थानमा नै गर्नु पर्नेछ । कारणवश स्थान परिवर्तन गर्नु परेमा केन्द्रीय निर्वाचन समितिको पूर्व स्वीकृति लिई स्थान परिवर्तन हुन सक्नेछ । (च) निर्वाचन अधिकृतले निर्वाचन गराउदा गोप्य मतदानबाट निर्वाचन गराउनु पर्नेछ । गोप्य मतदानको प्रयोजनका लागि तह र पद अनुसार अनुसूची १ देखि १३ सम्म सम्बन्धित मतपत्रको प्रयोग गर्नु गराउनु पर्नेछ । मतदातालाई मतपत्र दिंदा सम्बन्धित मतदाताको नामको अगाडि निजको सही गराई दिनुपर्छ । (छ) निर्वाचन वा मतदान अधिकृतले मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतगणना कार्य गर्नु पर्नेछ । मत गन्ति गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवार वा निजको वारेसको रोहवरमा गर्नु पर्छ र खसेको सदर मत, वदर मत र उम्मेदवारले पाएका मत समेतको विवरण खुलाई उपयुक्त मुचुल्का बनाई प्रमाणित गर्नुपर्छ । (ज) केन्द्रीय सभापतिको हकमा विधानको धारा १६ (१)(क) र जिल्ला सभापतिको हकमा विधानको धारा १० को उपधारा (२)(क)(१) मा भएको व्यवस्था बमोजिम र पार्टीका अन्य सबै तहको पदको हकमा सबैभन्दा बढी मत पाउने उम्मेदवारलाई निर्वाचन वा मतदान अधिकृतले निर्वाचित घोषणा गर्नेछ । (झ) मत बराबर भएमा सम्बन्धित निर्वाचन अधिकृत या मतदान अधिकृतले गोला प्रथाद्वारा विजयी भएको उम्मेदवारको नामको घोषणा गर्नेछ । (ञ) विजयी उम्मेदवारलाई अनुसूची २० मा दिइएको नमूना बमोजिमको प्रमाणपत्र दिइनेछ । सो प्रमाणपत्रलाई परिचय पत्रको रुपमा मान्यता दिइनेछ । (ट) निर्वाचन अधिकृतले जिल्ला तहको निर्वाचनबाट विजयी भएका व्यक्तिहरुको नाम र ठेगाना छिटो साधनद्वारा केन्द्रीय निर्वाचन समितिमा जानकारीका लागि पठाउनु पर्नेछ । (ठ) मतदान अधिकृतले वडा, गाउँ, नगर र क्षेत्रीय तहमा भएको निर्वाचनको परिणाम अनुसार विजयी भएका व्यक्तिहरुको नाम सबैभन्दा छिटो साधनद्वारा निर्वाचन अधिकृत मार्फत केन्द्रीय निर्वाचन समिति, सम्वन्धित जिल्ला कार्यसमिति र सम्वन्धित क्षेत्रीय समितिमा पठाउनु पर्नेछ । (ड) निर्वाचन अधिकृत र मतदान अधिकृतले निर्वाचन अधिकृत मार्फत सबै तहका पदको लागि निर्वाचनको निमित्त प्रयोग भएको मतपत्र र अन्य सबै कागजात सम्बन्धित उम्मेदवार वा निजको वारेसको समेत सही गराई सुरक्षित रुपमा केन्द्रीय निर्वाचन समितिमा बुझाउनु पर्नेछ । तर, उम्मेदवारले सहीगर्न नमानेमा सोही वेहोरा खोली पठाउन सकिनेछ । (ढ) निर्वाचन अधिकृतले आफू खटिएको जिल्ला भित्र सम्पन्न भएको निर्वाचनसँग सम्बन्धित खर्च र सम्बन्धित उम्मेदवारहरुबाट मनोनयन पत्र दाखिला गर्दा प्राप्त रकमको आम्दानीको प्रमाणित कागज सहितको हिसाब किताब निर्वाचन सम्पन्न भएको पन्ध्र दिनभित्र केन्द्रीय निर्वाचन समितिमा बुझाउनु पर्नेछ । (ण) निर्वाचन अधिकृत वा मतदान अधिकृतले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आवश्यक व्यवस्था मिलाउने छ । (त) निर्वाचन अधिकृत वा मतदान अधिकृतले तोकिएको दिनमा विशेष परिस्थितिवस निर्वाचन गराउन नसकेमा वा मतदानको क्रममा कुनै वाधा विरोध उत्पन्न हुन गई मतदान पूरा हुनसक्ने अवस्था नदेखेमा वा मतगणना गर्ने काममा कुनै वाधा विरोध उत्पन्न भएमा मतदान वा मतगणना कार्य रोक्न सक्नेछ र यसरी रोकिएका मतदान वा मतगणना पुनः प्रारम्भ गरी समाप्त गर्न वा आवश्यकता अनुसार शुरु भएको मतदान वा मतगणनाको कार्य रद्ध गरी दुईदिन भित्र अर्को मतदान कार्य गर्न गराउन समेत सक्नेछ । उपरोक्त अनुसारको स्थिति पर्न आएको खण्डमा विस्तृत रुपमा सोको कारण खोली मतदान अधिकृतले निर्वाचन अधिकृत समक्ष र निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समिति समक्ष छिटो साधनद्धारा जानकारी दिई त्यसको विस्तृत प्रतिवेदन समेत पठाउनु पर्नेछ ।
३. निर्वाचन गराउनु पर्ने तह, पद र मतदाताहरु ः (क) गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन र कार्यसमितिको गठन र कार्यविधि सम्वन्धमा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को क्रमश धारा ५, ६, ८ र १० वमोजिम हुनेछ । (ख) महाधिवेशन र महासमितिको गठन र कार्यविधि सम्वन्धमा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को क्रमश धारा १५ र १८ वमोजिम हुनेछ । (ग) केन्द्रीय कार्यसमितिको गठन र कार्यविधि सम्वन्धमा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को क्रमश धारा २१ र २३ वमोजिम हुनेछ ।
४. केन्द्रीय कार्यसमितिले वाधा अड्काउ फुकाउन गरेका निर्णयहरुः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०६७ जेष्ठ २६ गतेको बैठकले पार्टी विधानको धारा ५० वमोजीम विधानको देहाय बमोजीमको व्याख्या गरी वाधा अड्काउ फुकाउने काम गरेको छ ः— (१) पार्टीको तर्फवाट प्रतिनिधित्व गर्ने सासद वा पछिल्ला आम निर्वाचनमा संविधान सभाका लागी उम्मेदवार भएको व्यक्ति आफु निर्वाचन भएको वा उम्मेदवार भएको क्षेत्रको क्षेत्रीय अधिवेशनको पदेन सदस्य रहनेछ । यस्तो सदस्यलाई निर्वाचनमा भाग लिन र मतदानको अधिकार पनि हुनेछ । तर, विधानको धारा ५ को उपधारा ५ र विधानको धारा ६ को उपधारा ९ को प्रयोग गरेमा क्षेत्रीय अधिवेशनको सदस्यको अधिकार प्रयोग गर्न पाइने छैन । तर, विधानको धारा ८(४) मा लेखीएको कुराले क्षेत्रीय अधिवेशन र क्षेत्रीय कार्यसमितिको पदेन सदस्य रहेको व्यक्तिलाई सम्वन्धित गाउँ÷नगर अधिवेशनमा (मतदान गर्ने वाहेक) भाग लिन वन्चितगरेको मानिनेछैन । स्पष्टीकरण सासंद÷सभासद भन्नाले “प्रत्यक्ष रुपमा निर्वाचीत÷समानुपातिक रुपमा निर्वाचीत वा मनोनित समेतलाई वुझाउछ ।” संविधान सभाकालागी उम्मेदवार भन्नाले “प्रत्यक्ष रुपमा वा समानुपातिक रुपमा पार्टीको तर्फवाट संविधान सभामा उम्मेदवार भएको व्यक्तिलाई समेत जनाउदछ । (२) विधानको धारा ८(१) को “संविधान सभा, प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवार भएको व्यक्ति” भन्ने वाक्यांशलाई विधान अनुसार व्याख्या गरी केन्द्रीय समितिले सवैभन्दा पछिल्लो राष्ट्रिय निर्वाचनमा सांसद÷सभासद निर्वाचन हुने निकायका व्यक्तिका रुपमा मात्र रहने व्याख्या गरेको हुनाले पछिल्लो संविधान सभाको उम्मेदवार वाहेक अरुलाई त्यसले समेटन नसक्ने निर्णय भएको छ । (३) (क) विधानको धारा २१ वमोजिम निरन्तर क्रियाशिल सदस्य रहेको वर्ष प्रमाणित गर्ने काम नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवको हुनेछ र निर्वाचनमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको पदमा उम्मेदवार हुन चाहनेले मनोनयन पत्र दाखिला गर्दा निरन्तर क्रियाशिल सदस्यको प्रमाणीत निस्सा समेत मनोनयन पत्र साथ दाखिला गर्नु पर्नेछ । (ख) विधानको धारा १०(२)(१) र १०(२)(२) वमोजिम निरन्तर क्रियाशिल सदस्य रहेको वर्ष प्रमाणित गर्ने काम नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका सभापति वा सचिव वा केन्द्रीय कार्यालयका मुख्य सचिवको हुनेछ र निर्वाचनमा जिल्ला सभापति, सचिव र कोषाध्यक्ष पदमा उम्मेदवार हुन चाहनेले मनोनयन पत्र दाखिला गर्दा निरन्तर क्रियाशिल सदस्यको प्रमाणीत निस्सा समेत मनोनयन पत्र साथ दाखिला गर्नु पर्नेछ । (४) विधानको धारा ३५(४) मा “नेपाली काँग्रेसको महाधिवेशन हुने वर्षमा केन्द्रीय कार्यासमितिले तोकेको मितिमा नेपाली काँग्रेसको गाउँ, नगर÷वडा, क्षेत्र, जिल्ला अधिवेशनमा निर्वाचन सम्वन्धी कार्य सम्मन्न गर्नेछ ।” भनि उल्लेख भएकोमा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको वैठकको निर्णय वमोजिम उल्लेखित विधानको धारा ३५(४) को अधिकार केन्द्रीय निर्वाचन समितिलाई प्रत्यायोजित गरिएकोछ । (५) “अल्पसंख्यक र पिछडिएको वर्ग” भन्नाले अनूसूची २१ मा उल्लेख गरिएका जातीहरु, (संवत २०५८ सालको जनगणना अनुसार एक लाख जनसंख्या कम भएका जातीहरु) अपाङ्ग एवं तेश्रो लिंगी समेतलाई जनाउछ ।
५. मनोनयन पत्र दर्ता सम्बन्धी व्यवस्था ः (क) पार्टी विधान अनुसार हुने जुनसुकै तहको पदको निर्वाचनको निमित्त योग्यता पुगेका व्यक्तिले निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समिति, खटिई आएका निर्वाचन अधिकृत वा मतदान अधिकृत समक्ष तोकिएको समयभित्र अनुसूची १६, १७, १८ र १९ मा दिइएको ढाँचामा रीतपूर्वक मनोनयन पत्र दाखिला गर्नु पर्नेछ । केन्द्रीय सभापतिका लागि उम्मेदवार हुन चाहनेले महाधिवेशनका प्रतिनिधिहरु मध्येवाट कम्तीमा सात जना प्रस्तावक र सात जना समर्थक रहेको मनोनयन पत्र केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दाखिल गर्नु पर्नेछ । केन्द्रीय महामन्त्री र केन्द्रीय कोषाध्यक्षका लागि उम्मेदवार हुन चाहनेले महाधिवेशनका प्रतिनिधिहरु मध्येवाट कम्तीमा पाँच जना प्रस्तावक र पाँच जना समर्थक रहेको मनोनयन पत्र केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दाखिल गर्नु पर्नेछ । अन्य उम्मेदवारको हकमा एक जना प्रस्तावक र एक जना समर्थक रहेको मनोनयन पत्र दाखिला गर्नु पर्नेछ । (ख) कुनै पनि तहको पदमा उम्मेदवार हुन, मनोनयन पत्र दर्ता गर्दा वा उम्मेदवारीबाट नाम फिर्ता लिंदा उम्मेदवार आफै उपस्थित हुन नसक्ने भएमा वारेस मार्फत मनोनयन पत्र दर्ता वा फिर्ता लिन सकिनेछ । वारेसनामाको नमूना अनुसूची १४ र १५ मा दिइएको छ । (ग) मनोनयन पत्र दाखिला गर्दा गाउँस्तरको सबै निर्वाचनको लागि रु. २००।–, नगरस्तरबाट हुने सबै निर्वाचनको लागि रु. ५००।–, क्षेत्रबाट हुने सबै निर्वाचनको लागि रु. १,०००।–, जिल्ला सचिव, कोषाध्यक्ष र सदस्यको पदको निर्वाचनको लागि रु ३,०००।–, जिल्ला सभापति पदको निर्वाचनको लागि रु. ५,०००।– र केन्द्रीय सदस्यको पदको निर्वाचनको लागि रु १०,०००।– र केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय महामन्त्री पदको निर्वाचनका लागि रु. १५,०००।– र केन्द्रीय सभापतिका लागि हुने निर्वाचनका लागि रु. २०,०००।— दस्तुर वापत बुझाउनु पर्नेछ । नाम फिर्ता लिएमा पनि सो दस्तुर रकम फिर्ता हुने छैन । (घ) उठेको दस्तुरको सम्वन्धमा केन्द्रीय निर्वाचन समितिले निर्णय गरे वमोजिम रकमको व्यवस्थापन गरिनेछ । (ङ) रीतपूर्वक दाखिल नभएको मनोनयन पत्र रद्द गर्ने अधिकार सम्बन्धित निर्वाचन वा मतदान अधिकृतलाई हुनेछ ।
६. मतपत्र र मतपेटिका सम्बन्धी व्यवस्था ः देहायका पदहरुका निमित्त निर्वाचन गराउदा प्रत्येक पदको निमित्त मतपत्र (यथा संभव छुट्टै रंगको) र मतपेटिका छुट्टाछुट्टै प्रयोग गरिनेछ । (क) विधानको धारा २३ को उपधारा (१)र(२) अनुसार हुने केन्द्रीय सभापति, महामन्त्री, कोषाध्यक्षको निर्वाचनको निमित्त छुट्टै मतपेटिका राखिनेछ । (ख) विधानको धारा २१ को खण्ड (ङ) अनुसार हुने महाधिवेशन प्रतिनिधिहरु मध्येवाट निर्वाचित हुने २५ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुको निर्वाचनको निमित्त बेग्लै मतपेटिका राखिनेछ । (ग) विधानको धारा २१ को खण्ड (च) अनुसार प्रत्येक अञ्चलका महाधिवेशन प्रतिनिधिहरु मध्येवाट एक एक जना रहने गरि निर्वाचित हुने १४ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुको निर्वाचनको निमित्त बेग्लै मतपेटिका राखिनेछ । (घ) विधानको धारा २१ को खण्ड (छ) अनुसार महिला महाधिवेशन प्रतिनिधिहरु मध्येवाट निर्वाचित हुने ६ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुको निर्वाचनको निमित्त बेग्लै मतपेटिका राखिनेछ । (ङ) विधानको धारा २१ को खण्ड (ज) अनुसार दलित महाधिवेशन प्रतिनिधिहरु मध्येवाट निर्वाचित हुने कम्तीमा २ जना महिला सहित ५ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुको निर्वाचनको निमित्त बेग्लै मतपेटिका राखिनेछ । (च) विधानको धारा २१ को खण्ड (झ) अनुसार आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिहरु मध्येवाट कम्तीमा २ जना महिला सहित ५ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुको निर्वाचनको निमित्त बेग्लै मतपेटिका राखिनेछ । (छ) विधानको धारा २१ को खण्ड (ञ) अनुसार मधेशी महाधिवेशन प्रतिनिधिहरु मध्येवाट कम्तीमा २ जना महिला सहित ५ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुको निर्वाचनको निमित्त बेग्लै मतपेटिका राखिनेछ । (ज) विधानको धारा २१ को खण्ड (ट) अनुसार मुस्लिम महाधिवेशन प्रतिनिधिहरु मध्येवाट १ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुको निर्वाचनको निमित्त बेग्लै मतपेटिका राखिनेछ । (झ) विधानको धारा ५, ६, ८ र १० वमोजिम हुने निर्वाचनका लागि आवश्यकता अनुसारको मतपेटिका निर्वाचन अधिकृत र मतदान अधिकृतले व्यवस्था गर्न सक्नेछन । ७. मतदान गर्ने तरिका ः (क) मतदाताले मत संकेत गर्दा आफूले मत दिन चाहेको उम्मेदवारको नामको अगाडि रहेको मत संकेत गर्ने कोष्ठमा () यस्तो चिन्ह लगाउनु पर्छ । मतदान गर्ने प्रयोजनका लागि विद्युतिय ख्यतष्लन ःबअजष्लभ प्रयोग गर्न सकिनेछ । स्पष्टिकरण ः– माथि दफा ६ मा जुनसुकै कुरा लेखिएपनि विद्युतीय भोटिंग प्रयोग भएमा प्रयोग भएको उपकरणलाई नै मतपेटिका भनिनेछ । (ख) कुनै मतदाताले स्वयं मतदान गर्न असमर्थ भएको कारण देखाई निर्वाचन अधिकृतलाई वा मतदान अधिकृतलाई आफ्नो तर्फबाट आफूले भने बमोजिमको उम्मेदवारको नामको अगाडि कोष्ठमा मत संकेत गर्न सहयोग मागेमा सम्बन्धित अधिकृतले मतदाताले भने अनुसार चिन्ह लगाई दिनुपर्छ ।
८. मतपत्र बदर हुने अवस्था ः मतगणना गर्दा देहाय बमोजिमको मतपत्रलाई वदर गर्नु पर्नेछ । (क) मतदान अधिकृतको सही नभएको मतपत्र । (ख) जुन स्थानका लागि जति संख्यामा प्रतिनिधि छान्नु पर्ने हो, त्यो भन्दा बढी उम्मेदवारलाई मत दिएको मतपत्र । (ग) तोकिएको कोष्ठ बाहिर पर्ने गरी चिन्ह लगाएको मतपत्र । (घ) कुनै अन्य चिन्ह लगाएको वा कागजमा यस्तै अन्य सांकेतिक वस्तु राखेको मतपत्र । (ङ) दुई वा दुई भन्दा बढी उम्मेदवारको नामको अगाडि कुन उम्मेदवारलाई मत दिएको भनी छुट्याउन नसकिने मतपत्र । (च) मतपेटिका भन्दा बाहिर राखिएको मतपत्र । (छ) तोकिएको भन्दा बाहेकको मतपत्र ।
९. केन्द्रीय निर्वाचन समितिले गरेको निर्णय अन्तिम हुने ः केन्द्रीय निर्वाचन समितिद्धारा गरिएको निर्वाचन सम्वन्धी सवै निर्णय अन्तिम हुनेछ । साथै केन्द्रीय निर्वाचन समिति समक्ष उजूरी परी अन्यथा निर्णय भएकोमा बाहेक निर्वाचन वा मतदान अधिकृतले गरेको निर्णय अन्तिम हुनेछ । छानवीन र अनुसन्धानको कार्यविधि केन्द्रीय निर्वाचन समितिले आफैं निर्धारित गर्नेछ ।
१०. निर्वाचन तालिका ः निर्वाचन तालिका केन्द्रीय निर्वाचन समितिले तोके वमोजिम हुनेछ । पार्टी केन्द्रीय समितिले प्रकाशित गरेको निर्वाचन तालिकालाई यसै निर्देशिका अनुसार प्रकाशित गरेको मानिनेछ ।
११. वाधा अडकाउ फुकाउनेः निर्वाचन सम्पन्न गर्ने सिलसिलामा कुनै वाधा अडचन आइ परेमा केन्द्रीय निर्वाचन समितिले निर्णय गरी वाधा अडकाउ फुकाउन सक्नेछ र त्यसरी गरेको निर्णय यही निर्देशिका वमोजिम भएको मानिनेछ ।
१२. विविध ः क) निर्वाचन प्रयोजनका लागि प्रत्येक तहको निर्वाचन हुदा मतदाताहरुको परिचय सम्वन्धमा विवाद उत्पन्न भएको खण्डमा अनिवार्य रुपमा आफ्नो फोटो सहितको परिचय खुल्ने परिचय पत्र प्रस्तुत गर्नु पर्नेछ । त्यसरी प्रस्तुत गर्ने परिचय पत्रमा नागरिकताको प्रमाण पत्र, सवारी चालक प्रमाण पत्र, राहदानी, मतदाता परिचय पत्र, जग्गाधनी प्रमाण पूर्जा आफू निर्वाचित भएको पदको प्रमाण पत्र वा यस्तै अन्य परिचय पत्र हुन सक्नेछन । तर निर्वाचित भएको प्रमाण पत्रमा फोटो रहनु अनिवार्य हुने छैन । ख) विधानको धारा ४९ को उपधारा १७ मा उल्लेख गरिएको दुई पदावधि भन्नाले नेपाली काँग्रेसको दशौ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सभापति र जिल्ला कार्यसमितिको सभापतिमा निर्वाचित भई एघारौ महाधिवेशनवाट सभापति निर्वाचित भई निरन्तर रुपमा हालसम्म कायम रहेको सभापतिको पदको पदावधिलाई जनाउछ । स्पष्टिकरण ः दशौ महाधिवेशनमा सभापति भएको र एघारौ महाधिवेशनमा नेपाली काँग्रेस विभाजन हुदाँ सभापति रहेको तर पुन एकिकरण हुदाँ सभापति नरहेको अवस्थामा निरन्तर रुपमा दुई पदावधि रहेको मानिने छैन । ग) विधानको धारा ४९ को उपधारा १८ मा उल्लेख भएको उम्मेदवार भन्नाले दावी विरोध पछि प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भए पछिको अवस्थालाई जनाउछ । घ) गाउँ वडा, गाउँ मतदान केन्द्र एवं नगर मतदान केन्द्रको निर्वाचन सम्वन्धित तहको नव निर्वाचित कार्यसमितिद्धारा तेह्रौ महाधिवेशन भएको दुई महिना भित्र सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिले अधिकार प्रत्यायोजन गरेको छ । ङ) कृयाशील सदस्यहरुको नाम, थर, वतन, उमेर, पिता÷माताको नाम वा यस्तै अन्य विवरणमा भएका सामान्य त्रुटि सच्याउने अधिकार सम्वन्धित निर्वाचन÷मतदान अधिकृतलाई हुनेछ । च) विधानको धारा ५(१३), ६(४) र ८(७) मा उल्लेख गरिएको महिला, दलित, आदिवासी–जनजाती, (मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्ग) उपलव्ध नभएमा ती पदहरु रिक्त रहेको मानिनेछ । छ) कुनै पनि तहको वहुपदका लागि हुने निर्वाचनमा कुनै व्यक्तिको हकमा सर्वसम्मति र वाँकिका हकमा निर्वाचन गर्न पाईने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण