मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रकृति संरक्षणका लागि दुई सय सेना प्रशिक्षित

सोमबार, २७ पुस २०७२, १२ : ४६
सोमबार, २७ पुस २०७२

चितवन–चितवन राष्ट्रिय निकुञ्जमा केही महिनाअघि स्थापना भएको नेपालमै पहिलो ‘प्रकृति संरक्षण शिक्षालय’ बाट दुई सय नेपाली सेना प्रशिक्षित भएका छन् ।

वन र वन्यजन्तुको संरक्षण प्रभावकारी बनाउने लक्ष्यसहित नेपाली सेनाले चितवन निकुञ्जको मुख्य कार्यालय कसरामा उक्त शिक्षालय सञ्चालनमा ल्याएको हो ।

गएको असारमा स्थापना भएको शिक्षालयमा संरक्षणमा खटिने नेपाली सेनालाई प्रशिक्षण दिइने गरिएको छ । अहिलेसम्म पाँच समूहको कक्षा सम्पन्न भएको र २०० नेपाली सेनाले शिक्षा प्राप्त गरेको निकुञ्जको सुरक्षार्थ रहेको श्रीजङ्ग गणका गणपति सञ्जय देउजाले जानकारी दिए ।

“यसअघि पनि संरक्षणमा सेना खटिएकै छन्, नयाँ प्रविधि पनि प्रयोग भएको छ, त्योसँगै अझै संरक्षण थप मजबुद बनाउन शिक्षा दिन थालिएको हो”, गणपति देउजाले भने । निकुञ्जका कर्मचारी र स्थानीय समुदायलाई पनि उक्त शिक्षा दिने भनिए पनि अहिलेसम्म सेनालाई मात्रै शिक्षा दिइएको छ । अबको कक्षा भने निकुञ्जका कर्मचारीसमेत सहभागी गराइने देउजाले बताए ।

सर्वसाधारण जनता, संरक्षणकर्मी तथा निकुञ्ज कर्मचारीसँग हातेमालो गर्दै वन र वन्यजन्तुको संरक्षणमा सेनाको कामलाई अझै प्रभावकारी बनाउन शिक्षालय स्थापना गरिएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जले शिक्षालय निकुञ्ज र आरक्षको सुरक्षाका लागि कोसेढुङ्गा हुने आशा व्यक्त गरेको छ । पछिल्लोपटक चितवन निकुञ्जले तीनपटक नै शून्य चोरी–शिकार वर्ष मनाएकाले पनि निकुञ्जका कर्मचारी र नेपाली सेनाको प्रशंसा हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप