मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सडकबाट : शिक्षकका चिन्ता— यो वर्ष समयमै कोर्स सिध्याउन सकिएलाजस्तो छैन

सोमबार, २७ पुस २०७२, १५ : २२
सोमबार, २७ पुस २०७२

कृष्ण पोखरेल, प्रिन्सिपल, गुहेश्वरी बालदीक्षा मावि, थापाथली

शिक्षालाई देश विकास गर्ने प्रमुख आधार भनिएको छ । विडम्बना, हाम्रो देशको शिक्षाको स्थिति दिन प्रतिदिन ओरालो लाग्दै छ । यसमा विभिन्न तत्त्वले भूमिका खेलिरहेका छन् । वर्तमान अवस्थामा भने भारतले लगाएको अघोषित नाकाबन्दीका कारण देशको समग्र शिक्षा क्षेत्र धरापमा परेको छ । हाम्रो विद्यालय पनि कसरी अछुत रहोस् । लथालिंग हुन लागिसक्यो । पेट्रोलको हाहाकार छ । सधैँ ब्ल्याकमा तेल हालेर साध्य हुने कुरा पनि होइन । सार्वजनिक सवारीबाट आउँदा शिक्षकहरुलाई समयमा विद्यालय पुग्न कठिनाइ छ । कोही आधा घन्टा ढिलो आउँछन्, कोही एकै घन्टा पनि । यसरी दिन प्रतिदिन विद्यालयको शिक्षा गुणस्तर पनि घट्दै छ । टाढाबाट आउने विद्यार्थीहरु पनि ढिलो विद्यालय आइपुग्छन् । समयमै कोर्स सिध्याउन सकिएलाजस्तो छैन । राम्ररी विद्यालय सञ्चालन गर्नै गाह्रो भइरहेको छ । भूकम्पका कारण यसै त पढाइमा नकारात्मक असर परेको थियो । स्थिति पूर्णरूपले सामान्य हुन नपाउँदै नाकाबन्दीले छोइहाल्यो । हाम्रो सरकार त निकम्मा हो । यसको कुनै स्थायित्व नै छैन । देश धराशयी बन्दै छ । सरकार भने अर्कालाई खोस्ने आफ्नालाई पोस्ने काममै अड्केको छ । जनताप्रतिको दायित्व नै थाहा छैन कि के हो यो सरकारलाई ? बजारमा छ्यासछ्यास्ती कालोबजार मौलाइरहँदा पनि आँखा चिम्लिने सरकारले केही गर्ला र हामी जनताको स्तरोन्नति होला भन्ने आशा राख्नु बेकार छ । यसरी लाचार हुनुभन्दा त बरु म त आत्मसमर्पण गरेर सरकार छोड्नु नै उचित ठान्छु ।

शीतल क्षेत्री, शिक्षिका, किड्स क्याम्पस, कोपुन्डोल देशको विकास र उन्नतिमा एउटा इँटा थप्ने सपना बोकेर शिक्षण पेसा अगांलेकी हुँ । दुई वर्ष भो, स्कुलमा पढाउन थालेको । भूकम्प अघिसम्म ठीकै थियो । भूकम्पपपछि शिक्षा क्षेत्र ओझेलमा परेको छ । केही समय स्कुल ठप्प भयो । समस्या सेलाउन नपाउँदै नाकाबन्दी आइलाग्यो । नाकाबन्दीले हाम्रो व्यक्तिगत जीवन त अस्तव्यस्त नै छ, हाम्रो काममा पनि उत्तिकै असर परेको छ । इमाडोलदेखि पढाउन आउँछु । पेट्रोल नपाएर स्कुटी चलाउन पाएकी छैन । कालोबजारको तेल हालेर हिँड्न हाम्रो आर्थिक अवस्थाले भ्याउँदैन । न त हामी पहुँचवाला नै हौँ । दिनहुँ सार्वजनिक गाडीमा आवतजावत गर्नुपर्छ, भनेकै समयमा गाडी पाइँदैन । स्कुल पुग्नै ढिलो हुन्छ । एक–दुईवटा क्लास छुटिरहेको हुन्छ । स्वस्थ खाजा पनि पाइँदैन ग्यास अभावले होला, क्यान्टिन बन्द छ । जंक फुड खाएर कहिलेसम्म चल्छ ? काममा बाधा आइरहेको छ । यस्तो तालले हाम्रो देशको शिक्षा प्रगति कसरी होला ? न पढ्न पाइएको छ, न त काम गरेर खान । कस्तो सरकारको हातमा परेछ देश, सोच्दा पनि दिक्क लाग्छ । देशमै केही गरेर खाने सपना बोकेका हामी युवा वर्ग निराश छौँ, सरकारलाई मतलब नै छैन । देशमा युवा वर्गको संख्या शून्यमा पुग्ने अवस्था आइसकेको छ । यसतर्फ सरकारले गम्भीरतापूर्वक सोचेर नयाँ कदम चाल्न आवश्यक छ ।

असिम भुजेल, शिक्षक, भ्याली पब्लिक स्कुल, लामाटार शिक्षाजस्तो संवेदनशील क्षेत्रमा नाकाबन्दीको ठूलो असर परेको छ । समस्या नै समस्या छन् । म सात वर्षदेखि शिक्षण पेसा गरिरहेको छु । परिवार पाल्दै आएको छु । नाकाबन्दीपछि मेरो पेसा धरापमा पुगेको छ । पहिले लगभग सात इन्स्टिच्युटमा ट्युसन पढाउँथे । आफ्नो सवारीमा हिँडेर सहजै काम गरी खान पाइएको थियो । तर, आजभोलि अवस्था फरक छ । तेल नपाएर स्कुटी थन्काएको छु । ब्ल्याकको तेल किनेर हिँड्ने अवस्था छैन । एक–दुईपटक ब्ल्याककोे तेल हाल्दा स्कुटी बिग्रियो । हिँडेर वा सार्वजनिक गाडीमा जाँदा ढिलो हुन्छ । मेरो त ट्युसनको जागिर नै टुटेको छ । थाहा छ, मजस्ता कैयौँ शिक्षकको पनि अवस्था उस्तै छ । जताबाट पनि हामी सर्वसाधारणले मात्र मार खेप्नुपरेको छ । हुनेखाने र पहुँचवालाको जीवनमा त केही असर नै परेको छैन । अहिले सातवटा इन्स्टिच्युटबाट हटेर एउटा विद्यालयमा मात्र सीमित हुनुपरेको छ । कसरी जीविकोपार्जन गर्ने हो ? सरकार त नपुंषक रहेछ, केही गर्न नसक्ने । विकास र प्रगतिका त कुरै छोडौँ सर्वसाधारणले भोकभोकै मर्नुपर्ने अवस्था आइसक्यो । सरकारसँग दीर्घकालीन योजना र भिजन भएको भए यो अवस्थाबाट गुज्रिनुपर्ने थिएन । हो, हाम्रो सरकार फेलिअर भइसक्यो । हामी जनताको आशा विश्वासको धरोहर ढलिसकेको छ । अझै पनि होसमा आउँदैनन् भने धिक्कार छ सरकार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप