मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

घरदैलो अभियानमा न्यायाधीशहरू

मङ्गलबार, २८ पुस २०७२, ०९ : २२
मङ्गलबार, २८ पुस २०७२
इलाम–अदालतका बारेमा गाउँ तहसम्म पुगेर जनताको धारणा बुझ्नका लागि जनताको घरदैलो कार्यक्रमअन्तर्गत चुलाचुली गाविसमा पुगेर न्यायाधीशको टोलीले जनताको राय लिएका छन् । न्यायिक संवाद कार्यक्रमअन्तर्गत पुनरावेदन अदालतका मुख्य न्यायाधीश मीरा खड्का, न्यायाधीश रमेश पोखरेल, जिल्ला अदालतका न्यायाधीश नवराज दाहाललगायत अदालतका रजिस्टार, स्रेस्तेदारसहितको टोलीले चुलाचुली गाविसमा अदालती प्रक्रिया र जनताले न्यायाधीश भेट्नु हुँदैन भन्ने मान्यतालाई हटाउँदै न्यायालय र जनताको सम्बन्ध सुमधुर पार्न घरदैलो अभियान सञ्चालन गरिएको हो । चुलाचुली पुगेर न्यायाधीशहरूले अदालती प्रक्रिया, अदालतबाट जनताले पाउने सेवा सुविधा, वर्तमान ऐन, नियम र कानुन आदि विषयमा जनतालाई जानकारी गराइएको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए । कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, समाजसेवीहरूले सम्बन्ध विच्छेद, जबर्जस्ती करणी, रिट, बन्दी प्रत्यक्षीकरणजस्ता मुद्दामा राखेको जिज्ञासामा मुख्य न्यायाधीश खड्काले स्पष्ट पारे । जनताले न्यायाधीश भेट्न पाउँदैनन् र जिज्ञासा पनि केही राख्न पाउँदैनन् भन्ने परम्परागत सोचलाई त्यागेर न्यायाधीश पनि जनताकै सेवक भएकाले जनतासँगको सहकार्यमा अघि बढ्न चाहेको मुख्य न्यायाधीश खड्काले बताए । सो अवसरमा अदालतबाट गरिबीका कारण कुनै मुद्दा लड्नुपर्नेखालका सेवाग्राहीलाई अदालतले गरेको वैतनिक वकिलको व्यवस्था, पुनरावेदन अदालतबाट हुने ३५ र जिल्ला अदालतबाट ४० वटा निवेदन निःशुल्क उपलब्ध गराउने, अदालतको एकघन्टे सेवालगायत अदालतबाट हुने विभिन्न सुविधाका बारेमा नागरिकलाई जानकारी गराइएको थियो । यसअघि जिल्लाको श्रीअन्तु, मङ्गलबारे, इलाम सदरमुकाममा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ । नक्सा तयार गर्न माटोको नमुना सङ्कलन सुरु इलाममा माटोको अवस्था के छ भनेर थाहा पाउनका लागि माटोको उर्वराशक्ति नक्सा तयार गर्ने काम सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा माटो परीक्षण प्रयोगशाला, झुम्का सुनसरीको संयोजनमा नक्सा तयार गर्न माटोको नमुना सङ्कलन कार्य सुरु गरिएको हो । चालु आव ०७२÷७३ को अन्त्यसम्ममा जिल्लाकै माटोको उर्वराशक्ति नक्सा तयार गरिसक्ने प्रयोगशालाका वरिष्ठ माटो विज्ञ डा जनार्दन खड्काले बताए । माटोको उर्वराशक्ति नक्सा तयार गर्न जिल्ला कृषि विकास कार्यालयअन्तर्गतका सातवटा सेवा केन्द्रमार्फत कर्मचारी परिचालन गरिएको छ । जिल्लाका ४४१ स्थानको माटोको नमुना लिएर समग्र जिल्लाकै नक्सा तयार गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताए । माटोको अम्लीयपना, क्षारीयपना, प्राङ्गारिक तत्वको अवस्था, सूक्ष्म तत्वको अवस्था के कस्तो छ भनेर थाहा पाउनका लागि नक्सा तयार गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप