मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

झापामा वृद्धाश्रमका लागि ७५ लाखको जग्गा दान

मङ्गलबार, २८ पुस २०७२, १० : ५१
मङ्गलबार, २८ पुस २०७२

झापा– झापाको मेचीनगर–२ निवासी दाताराम खनाल र जगतकुमारी खनालले वृद्धाश्रम निर्माणका लागि रु ७५ लाख बढीको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

मेचीनगर लेडी जेसिजले निर्माण गर्न लागेको वृद्धाश्रमका लागि खनाल दम्पतीले धुलाबारी बजारदेखि तीन किमी पश्चिममा रहेको पाँच कट्ठा जग्गा प्रदान गर्नुभएको हो । जुन जग्गाको मूल्य रु ७५ लाखभन्दा बढी रहेको जेसिजकी अध्यक्ष टीका सुवेदीले बताए ।

सो जग्गामा विभिन्न दाताहरूको सहयोगमा पाँच वर्षभित्रमा भवन निर्माण सम्पन्न गरी वृद्धाश्रम सञ्चालन गर्ने जेसिजकी महासचिव उषा श्रेष्ठले बताए ।

मनी चेञ्जरमा अख्तियारको छापा

राजस्व अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले झापाको काँकडभिट्टामा सञ्चालित भारु सटही काउन्टरमा संयुक्त रूपमा छापा मारेका छन् ।

ग्राहकसँग सटहीमा बढी शुल्क लिएको उजुरीको छानबिन गर्न अनुसन्धान अधिकृत भीम अधिकारीको नेतृत्वमा आएको टोलीले सोमबार अपराह्न छापा मारेर चारवटा काउन्टरबाट कागजपत्र लगेको छ ।

संयुक्त टोलीले काँकडभिट्टामा सञ्चालित झापा, श्रीजङ्गा, उत्सव र धुलाबारी मनी चेन्जरबाट कागजपत्र लगेको राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

झापाका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरहरूले सेवाग्राहीबाट एक सय रुपैयाँ भारु सटहीबापत नेपाली १० देखि १५ रुपैयाँसम्म लिने गरेको उजुरीको आधारमा राजस्व र अख्तियारले छापा मारेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त सटही काउन्टरले एक सय भारु सटहीबापत ४० पैसा सेवाग्राहीबाट लिनुपर्ने कानुनी व्यवस्था छ । तर झापाका सटही काउन्टरहरूले पछिल्लो समयमा सेवाग्राहीबाट राष्ट्र बैंकले तोकिदिएको भन्दा चर्को शुल्क लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप