मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सडकबाट : नाकाबन्दीमा पत्रकारका दुःख— बसको छत चढ्ने भर्याङ झुन्डिनेदेखि ढिला पुग्दा जागिर जाने डरसम्म

बुधबार, २९ पुस २०७२, १५ : २३
बुधबार, २९ पुस २०७२
अखण्ड भण्डारी, पत्रकार, कान्तिपुर दैनिक 

नाकाबन्दी नेपालीले भोगेका संकटमध्ये सबैभन्दा कडा र गम्भीर प्रकृतिको छ । यसले देशको अर्थतन्त्रदेखि नागरिकका जीवनचर्यासम्मलाई अस्तव्यस्त बनाएको छ । सत्रुले पनि बेहोरोस्जस्तो नलाग्ने परिस्थिति हामीले झेलिरहेका छौं । यसमा मचाहि“ फरक हुने कुरै भएन । तैपनि के कुरामा प्रतिबद्ध छु भने- म पत्रकारको नाम लिएर सहुलियतको तेल हाल्दिन । दिन-रात लाममा बस्न भ्याउँदिन । दोब्बर-तेब्बर तिरेर मिसावटयुक्त तेल हाली गाडीको इन्जिन बिगार्दिन । अनि, यस्तो संकटमा मजस्तो बाउँठे मान्छेले कहाँ पाउनु तेल ? नाकाबन्दी सुरु हुँदा मेरो गाडीमा फुल ट्याङ्की तेल थियो । त्यसले केही समय चलाएँ । करिब सकियो । आपतकालका लागि जगेडा राखेर गाडी थन्क्याइदिएँ । झरें स्कुटरमा । त्यसलाई धान्नेसम्म अफिसले व्यवस्था गर्‍यो । संयोगवश चितवन जाने काम पर्‍यो । धादिङ-चितवनतिर अलि सजिलै पाउँछ भन्ने सुनें । गाडी लिएरै गएँ । भाग्यवश मिल्यो । फर्किंदा पनि भरि हालेर आएँ । अब केही दिनलाई तनाब छैन । ग्यासको त कुरै नगरौं । दाउरा बालेको महिनौं भयो । त्यो पनि पाउन छाड्यो । भाटा बाल्न थाल्नु परेको थियो । चितवनबाट गाडीको डिकीभरि दाउरा ल्याएँ । केही दिनलाई त्यसले धान्छ । त्यसपछि जसो पर्ला, त्यसै र्टला । काठमाडौं खाल्डोबाट उँधो झर्नेबित्तिकै अवस्था फरक छ । दुःख छ, तर राजधानीमा जस्तो बदमासी छैन । इन्धन नआएको होइन, आएको छ । नत्र यत्रा गाडी कसरी चलेका छन् ? आएको इन्धनलाई सरकारले व्यवस्थापन गर्न नसकेको/नचाहेको मात्र हो । सरकारले होइन, कालोबजारियाले देशमा शासन गरिरहेका छन् । हामी चुपचाप हेरिरहेका छौं । कराएर हुनेवाला केही छजस्तो पनि छैन । सरकारको कान छैन । आ“खा छैन । खोइ के भन्नु ?

दीपक सापकोटा, पत्रकार, अन्नपूर्ण पोस्ट दैनिक नाकाबन्दीअघिको जीवन र पछिको जीवनमा कुनै तुलना हुँदैन । सहज र सरल जीवनमा एकाएक तनाव र दुःख थपिएको छ । हुरी आउनुअघिको समय र पछिको समय जस्तो हुन्छ, त्यस्तै समय अहिले आयो । खासमा यो दुःखको म त एक हिस्सा मात्र हुँ । नत्र लाखौं जनता मभन्दा कैैयौं गुणा दुःखी छन् । म बनेपा बस्छु । बनेपाबाट पब्लिक भेकलमा काठमान्डु तीनकुनेको अफिससम्म आइपुग्छु । बेलाबेला भाइले मोटरसाइकलमा लिफ्ट दिन्छ । वा बेलाबेला दया लागेर साथीहरुले लिफ्ट दिएबाहेक म सार्वजनिक बसमा यात्रा गर्छु । नाकाबन्दीमा स्टुडेन्ड आइडी कार्डमा पाइने डिस्काउन्ट पनि नपाएर सैयौं बेरोजगार विद्यार्थी पीडामा छन् । म बसमा थिचिएर, पेलिएर, कोचिएर यात्रा गर्न सधैं बाध्य हुन्छु । नत्र, छतमा यात्रा गर्न । फेरि बसको छतमा पनि कहाँ ठाउँ पाइन्छ र ? छतसम्म पुग्न प्रयोग गरिने भर्याङमा झुन्डिएर पनि एकाधपटक बनेपा पुगेको छु । बाटोमा जहाँजहाँ पेट्रोलपम्प छ, त्यहाँ तेल पर्खिरहेका सवारीहरुको लामो लाइन हुन्छ । त्यसले घन्टौं जाम हुन्छ । बसभित्र उभिएर यात्रा गर्नुछ, त्यसमा पनि जाम । नाकाबन्दीले गर्नुगर्यो । भाइलार्ई बिहानै कलेज आउनुपर्छ काठमान्डु, ऊ बाइकको घन्टौंको लाइनमा बस्छ । र, रुन्चे अनुहार लगाएर घर आउँछ । एक–दुईपटक त ऊ रातैभरि बाइकको तेलको लाइनमा बस्यो र दुई दिन ज्वरोले थलिएर सुत्यो । श्रीमती स्कुल पढाउँछिन् । उनको स्कुल पुग्न बसबाट ४० मिनेट लाग्छ । त्यही बस पनि तेल नपाएर नचलेका बेला उनी घन्टौं लगाएर स्कुल पुग्छिन् र बेहद थाकेर घर आइपुग्छिन् । घरमा सानी छोरी छे, तीन वर्षकी । उसका लागि बिहान, दिउँसै दूध तताउनुपर्छ, लिटो बनाउनुपर्छ । तर, बाल्ने ग्यास हुँदैन । दूध तताउन पनि आगो बाल्नुपरेपछि कति दिक्क लाग्दो हो, आमालार्ई । एक सिडिन्डर ग्यास स्टक हुन्जेल अर्कोको वास्ता गरिएन, अब ग्यास नभएपछि पीडा झनै थपिएको छ । बिहान बेलुका भातभान्सा त आमा वा श्रीमतीले आगोमै गरिरहेका हुन्छन्, धुँवा खाँदै । फेरि दाउराको मूल्य पनि चर्को भएको छ । पहुँच भएकाले ग्यास पाउँछन् । ग्यास नभएर समयमै खाना खान पाइएको छैन । अफिस आउनै ढिलो । दुःखी देशको दुःख के रैछ भने, नाकाबन्दी छ, सडकमा गाडी जाम छ । सारा देश कालोबजारीमा चलेको छ । साढे सात हजार तिर्नुस् फुल सिलिन्डर ग्यास तपाईंको घरमा हाजिर हुन्छ, पैसा भएको मानिस बाँच्ने र दुःखीहरु मर्ने दिन आयो । म बबुरो दुःखी अति सामान्य मान्छेले त्यत्रो बडेमानको सरकारलार्ई, त्यति ‘ठूला’ जोक्स गरिरहने प्रधानमन्त्रीलार्ई के भन्नु ? जे भन्नु, फेसबुकमा मानिसले भनिरहेका छन् ।

मनोज घर्तीमगर, पत्रकार, नयाँ पत्रिका नाकाबन्दीले के के असर ग¥यो भनेर कुरै नगर्नुस् । बरु के के मा असर गरेन भन्नु न । नाकाबन्दीले सानोतिना असर त सबै नेपालीलाई परेकै छ । तर हु“दा खानेलाई जति छ, हुने खानेलाई त्यत्ति असर छैन । हुने खानेहरुका गाडि रोकिएका छैनन् । चुल्हो निभेका छैनन् । काम पनि रोकिएका छैनन् । किनकी उनीहरुस“ग कालो बजारीको इन्धन किन्न प्रयाप्त रकम छ । हु“दा खानेहरु मोटर साइकल थन्काएका छन्, ग्यास चुल्हो निभाएका छन् । दाउरो बाल्नलाई हुने खाने घरबेटीहरु अनुमति दिंदैनन् । नाकाबन्दीले हु“दा खानेहरुले भोग्नुपरेको दुःखको धेरै कुरा नगरौ“ । हामी पत्रकार हु“दा खाने हौ“ । हु“दा खाने अरुले जे भोगेका छन्, त्यो भन्दा भिन्न छैन हाम्रो दैनिकी पनि । तीन दिन पहिलेको कुरा सुनाउ“छु । आमास“गै गाउ“बाट काका पनि आउनु भएको थियो । अन्य आफन्तीस“ग बसिराख्नुभएका काकालाई एक छाक खाना खान आईदिन कर गरे“ । उहा“ आईपुग्नुभयो । उहा“को लागि किनिएको मासु लिएर पसलबाट फर्कदै गर्दा श्रीमतिको फोन आयो, ‘मासु नल्याउनु होला, तरकार पनि नपाक्ने भयो, ग्यास सकियो ।’ ठूलो फसाद प¥यो । धन्न मासु चाही पाक्यो । अनि निष्कर्ष निस्कियो, ‘नाकाबन्दी पूर्ण रुपमा नखोलिएसम्म पाहुना नबोलाउने !’ मेरा घरबेटी भूतपूर्व बेलायती सैनिक हुन् । संखुवासभाका गुरुङ । चुल्हो बाल्न दिएका छन् । प्राय साँझ पख श्रीमति र बहिनी दाउरोमा खाना पकाउछन् । दाउराको व्यवस्थापन उनीहरुले नै गरेका छन् । स्कूटर जसो तसो चलाईएकै छ । तेल कसरी जोहो गरिराख्या छ भन्ने कुरा त बयान गरी साध्य छैन । सबै कुरा लेख्यो भने त एउटा किताव नै बन्छ होला । कहिले काँही त दुई लिटर पेट्रोल पाउँदा ठूलो युद्ध जिते झैँ पो हुन्छ त । युद्ध जित्दा कस्तो हुन्छ भन्ने मलाई धेरथोर अनुभव छ । कुनै बेला म युद्धमै थिएँ । सरकारको त के कुरा गर्नु । कालोबजारीलाई सरकारले नै सघाई रहेको छ । सरकारलाई यो कुरा थाहा छ की, ‘कालो बजारी रोक्ने हो भने काठमाडौंमा गाडि गुड्दैनन् । गाडि नगुड्दा कोही पनि मान्छे काममा जाँदैनन् । काममा गएनन् भने आन्दोलन गर्छन् । उस्ते परे सरकार नै ढाल्छन् ।’ अनि किन रोकोस सरकार कालोबजारी । आशा गरौँ तीन ठूला पार्टी कांग्रेस, एमाले र एमाओवादीका नेताहरु केही लचक हुनेछन्, तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मार्चोका नेता पनि केही लचक हुने छन्, भारत पनि लचक हुनेछ । र, नाकाबन्दी खुल्नेछ ।

मिलन तिमल्सिना, पत्रकार, उज्यालो नाइन्टी नेटवर्क

नाकाबन्दी सुरु भएलगत्तै आमसर्वसाधारणझैँ हामी पत्रकारको पनि जीवन अस्तव्यस्त हुन पुगेको छ । नाकाबन्दी कतिसम्म लम्बिने ठेगान नभएकाले बाँकी रहेको ग्यास जोगाउन इन्डक्सन चुलो किनियो । राम्रो कुरो भन्नुपर्दा इन्डक्सन चुलो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाइयो । ग्यासको विकल्पमा इन्डक्सन चुलो त पाइयो, तर यस्तो चुलो प्रयोग गर्न थालेपछि बिजुलीको बिल ह्वात्तै बढेको छ । नाकाबन्दीसँगै दैनिक उपभोग्य वस्तुको भाउले पनि एकाएक आकाश छुन थालेको छ । दैनिक खर्च पनि बढेको छ । ‘हामी पत्रकारलाई काठमाडौंजस्तो ठाउँमा टिक्नै मुस्किल भएको छ । पत्रकारिताको जागिर समयमै काम नभ्याए चिप्लिने डर । समयमै अफिस पुग्न नपाउने पिरलो छुट्टै छ । सार्वजनिक गाडी आउला र चढौँला भन्नु त बेकार छ । आजभोलि कीर्तिपुरस्थित घरसम्म जावलाखेल अफिसबाट हिँडेर पुग्ने गरेको छु । सरकारले जनतालाई हावाबाट बिजुली निकाल्ने र पाइपको माध्यमबाट घरघरमा ग्यास पुर्याउने जस्ता गुलिया कुरामा भुलाउन मात्र जानेको छ । व्यवहारमा जनताले कष्टकर जीवन गुजारेका छन्, चिसो भेगमा भूकम्पपीडित मरिरहेका छन् । तर, सरकार केही थाहा नभएझैँ गरिरहेको छ । कालोबजारी उस्तै मौलाइरहेको छ । सरकारले सक्दो चाँडो कालोबजारी रोक्न पहल गर्नुपर्छ । आमजनतालाई मधेस आन्दोलन थाहा छ, तर किन कसरी र कहिलेसम्म भन्ने राम्ररी बुझेका छैनन् । यस विषयमा छर्लंग पारेर जनतालाई बुझाउनु सरकारको दायित्व हो ।

प्रस्तुति : फातिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप