शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्पपीडित भन्छन्–सरकारको पैसा कुर्ने कि घर बनाउने

मङ्गलबार, १२ माघ २०७२, १३ : ३०
मङ्गलबार, १२ माघ २०७२

बतासे (सिन्धुपाल्चोक)  – टिनको छानो टिनकै बारले बनेको घर । दिउँसो गर्मी, बिहान, बेलुका र राति चिसो । त्यसमाथि हिउँदका दिनमा लेकको चिसो ।

सिन्धुपाल्चोक बतासे गाविस खालेका रामबहादुर तामाङ आफ्ना नौ जनाको परिवारसहित भूकम्पपछि यसरी नै दिन गुजार्दै आएका छन् । फेरि हावाहुरी र वर्षाको यामको त्रास आउँदैछ । “प्लान इन्टनरनेसनले दिएको टिन र अरु संस्थाले दिएको खाद्यान्न सहयोगले जेनतेन अहिलेसम्म बसेका छौं”–रामबहादुरले दुःखेसो व्यक्त गरे ।

जग्गा बाँझै छन् । अब पनि राहत कुर्दा आएन भने ठूलो सङ्कट आउन सक्ने भएकाले यस पालि घर बनाउने र बाँझो जमिनमा अन्न उब्जाउने सुरमा गाउँले बसेका छन् । “फेरि वर्षा लाग्न थाल्यो, यसपालि त खेतीपाती लाउनुपर्छ, सरकार र सङ्घसंस्थाको मुख ताक्यो भने खान पाइँदैन भोकमरी आउँछ, कति राहत कुर्ने,” रामबहादुरले भने । सरकारले दिएको पहिलो चरणको रु १५ हजार र न्यानो कपडाको रु दश हजार पाए पनि घर बनाउन रकम भने नपाएको ४८ वर्षीय पोडे तामाङले बताए।

“सरकारले तोकेको नक्सा र मापदण्डअनुसार बनाउँदा मात्र रु दुई लाख पाइन्छ कि भनेर कुरेर बसेका छौँ, तर अहिलेसम्म मापदण्ड र नियमको अत्तोपत्तो छैन, सरकारको पैसा कुर्ने कि घर बनाउन थाल्ने, नत्र कति चिसोमा रात गुजार्ने,”–पोडेले भने । नौ जना परिवार रहेका पोडेका जेठा बा र दाइ भूकम्पपीडितको परिचयपत्र बनाउन नपाएकाले राहतबाट वञ्चित भएको उनले बताए ।

काठमाडौँबाट ८० मिमीको दूरीमा सिन्धुपाल्चोक सदरमुकाम चौतारा पर्छ । त्यहाँबाट झन्डै १४ किमी कच्ची बाटो पार गरेपछि एक हजार ८०० मि उचाइको बतासे–९ को खाले, कालिकाडाँडा, खस्रेर र महावीर गाउँमा पुगिन्छ । अलिकति माथिको डाँडामा भने हिउँपर्छ । ‘गोरखा भूकम्प’ले त्यहाँका २५८ घर भत्कियो, ११ जनाको मृत्यु भयो र १६ घाइते भए । देशभर करिब नौ हजारको ज्यान गयो, २३ हजार घाइते भए । पूर्ण र आंशिक गरी आठ लाख घर भत्किए । करिब रु सात खर्ब बराबरको क्षति भयो । पुरातात्विक, ऐतिहासिक महत्वका ४५० बढी सम्पदा भत्किए ।

ब्युटीफूल स्टोर फाउन्डेसन दक्षिण कोरियाको सहयोगमा सुखावती फाउन्डेसन नेपालले भूकम्पपीडित परिवारलाई न्यानो कपडा कार्यक्रम अन्तर्गत सो गाउँमा २५८ सिरक वितरण ग¥यो । फाउन्डेसनका उपाध्यक्ष चिजमान गुरुङ, कोषाध्यक्ष कमला गुरुङ, सदस्य लक्ष्मीदेवी गुरुङ र कल्पना गुरुङले स्थानीयवासीलाई सिरक प्रदान गरे ।

‘मायाँ बाँडौँः खुसी बाँडौँ’ भन्ने नारासाथ एक वर्षअघि गठित फाउन्डेसनले दोलखा, रसुवा, सिन्धुपाल्चोक र नुवाकोटका घर भत्केर टहरा र अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडितलाई छ हजार ५०० थान सिरक बाँडिसकेको छ । फाउन्डेसनले कुल आठ हजार ८६४ सिरक बाँड्ने लक्ष्य राखेको उपाध्यक्ष गुरुङले बताइन् ।

“गाउँमा जताततै टिनको टहरो छ, चिसोले रात बिताउन गाह्रो परेको बेला न्यानो सिरक पाउँदा खुसी लागेको छ,” दुई सन्तानका पिता मङ्गलबहादुर तामाङले भने । सबै तामाङ जातिको बस्ती रहेको बतासे गाउँको उत्पादन भनेको गहुँ, जौ, मकै, फापर, आलु र धान हो । फाउण्डेसनले भूकम्पलगत्तै बतासेस्थित आरुखर्कको दलित बस्तीमा बेलायतमा बस्दै आएकी सरला नेपालीको आर्थिक सहयोगमा १३ प्लास्टिक घर र एउटा विद्यालय बनाएको सदस्य केशकुमारी रानाले बताइन् ।

फाउन्डेसनले कम खर्च गर्ने, पुराना लुगाफाटा र वस्तुको पुनःप्रयोग तथा विपन्न परिवारलाई राहत बाँड्ने काम गर्दै आएको छ । हालसम्म झन्डै एक हजार ५०० किलो लुगा धोएर पुनःप्रयोगका लागि औसत रु दशदेखि रु सयसम्ममा बेचेको छ । भविष्यमा सामाजिक व्यावसायिक अवधारणालाई अघि बढाउने गरी कार्यक्रम बनाउन लागिएको महासचिव राजेन्द्रबहादुर लामाले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप