फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
सारांश
- सन् २०२६ को फिफा विश्वकपपछि जर्मनी, फ्रान्स र इटाली जस्ता युरोपेली फुटबलका ठुला राष्ट्रहरूले राष्ट्रिय टोलीको प्रशिक्षक परिवर्तन गर्ने तयारी गरेका छन् ।
- जर्मनीले पूर्व लिभरपुल प्रशिक्षक युर्गेन क्लोपलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने अन्तिम चरणमा पुगेको छ भने फ्रान्समा जिनेदिन जिदानलाई दिदिए देसाँको उत्तराधिकारी बनाउने लगभग निश्चित भएको छ ।
- इटाली भने कार्लो आन्सेलोट्टी र पेप ग्वार्डिओला जस्ता प्रशिक्षकहरूसँग छलफल गरे पनि अझै नयाँ प्रशिक्षकको खोजीमा व्यस्त छ ।
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपपछि युरोपेली फुटबलका तीन ठुला राष्ट्र (जर्मनी, फ्रान्स र इटाली)को राष्ट्रिय टोलीको प्रशिक्षक पनि परिवर्तनको सँघारमा पुगेको छ । जर्मनीले युर्गेन क्लोपलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ भने फ्रान्समा जिनेदिन जिदानलाई दिदिए देसाँको उत्तराधिकारी बनाउने लगभग निश्चित भएको छ ।
उता इटाली भने नयाँ प्रशिक्षकको खोजीमा व्यस्त छ । कार्लो आन्सेलोट्टी र पेप ग्वार्डिओलासँग छलफल गरे पनि अझै अन्तिम निर्णय हुन बाँकी छ ।
जर्मनीको जिम्मेवारी सम्हाल्दै युर्गेन क्लोप
जर्मन फुटबल महासंघ (डीएफबी) ले शुक्रबार फ्रान्कफर्टस्थित मुख्यालयमा विशेष पत्रकार सम्मेलन बोलाएको छ । यस कार्यक्रममा पूर्व लिभरपुल प्रशिक्षक युर्गेन क्लोपलाई जर्मनीको राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरिने व्यापक अपेक्षा गरिएको छ ।
विश्वकपको अन्तिम ३२ चरणमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा अप्रत्याशित हार बेहोरेपछि तत्कालीन प्रशिक्षक जुलियन नागेल्समानले पद त्यागेका थिए । त्यसयता क्लोप जर्मनीको पहिलो रोजाइ बनेका थिए ।
विश्वकपका क्रममा न्यूयोर्कमा टेलिभिजन विश्लेषकको भूमिकामा रहेका क्लोपले जर्मन फुटबल अधिकारीहरूसँग छलफल गरेका थिए । जुलाई ११ मा महासंघले दुवै पक्षबिच सम्झौताका आधारभूत विषयमा सहमति भएको जनाएको थियो ।
सम्झौतामा सबैभन्दा ठुलो चुनौती क्लोप आबद्ध रहेको रेड बुल समूहको स्वीकृति थियो । क्लोप विगत डेढ वर्षदेखि रेड बुलको विश्वव्यापी फुटबल परियोजनाका प्रमुखको रूपमा कार्यरत थिए ।
सन् २०२४ मा लिभरपुल छाडेपछि प्रशिक्षणबाट विश्राम लिएका क्लोपले हालै आफू पुनः ऊर्जावान बनेको र नयाँ चुनौतीका लागि तयार रहेको बताएका थिए ।
फ्रान्सको कमान सम्हाल्दै जिनेदिन जिदान
फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले जुलाई २८ मा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक सार्वजनिक गर्ने जनाएको छ । यद्यपि महासंघले नाम खुलाएको छैन, तर जिनेदिन जिदान नै नयाँ प्रशिक्षक बन्ने लगभग निश्चित मानिएको छ ।
सन २०१२ देखि फ्रान्सको नेतृत्व गरेका दिदिए देसाँले विश्वकप २०१८ को उपाधि जिताए पनि २०२६ विश्वकपमा तेस्रो स्थानको खेलमा इंग्ल्यान्डसँग ६–४ ले पराजित भएपछि आफ्नो कार्यकाल समाप्त गरेका छन् ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार जिदानले सन २०३० सम्मको सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । उनले सेप्टेम्बर १ देखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने र आफ्ना दीर्घकालीन सहायक डेभिड बेटोनीसहित प्रशिक्षण टोली पनि तयार पार्न थालेका छन् ।
५४ वर्षीय जिदान सन् २०२१ मा रियल मड्रिड छाडेपछि कुनै टोलीको प्रशिक्षक बनेका थिएनन् । तर फ्रान्सको राष्ट्रिय टोली सम्हाल्ने आफ्नो इच्छा उनले लामो समयदेखि व्यक्त गर्दै आएका थिए ।
रियल मड्रिडका प्रशिक्षकका रूपमा उनले लगातार तीन पटक च्याम्पियन्स लिग जित्ने ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । साथै दुई ला लिगा, दुई युइएफए सुपर कप र दुई फिफा क्लब विश्वकपको उपाधि पनि जिताएका थिए ।
यदि सम्झौता औपचारिक रूपमा पुष्टि भयो भने जिदानले फ्रान्सलाई २०२७ युइएफए नेसन्स लिग, युरो २०२८ र २०३० विश्वकपसम्म नेतृत्व गर्नेछन् ।
इटाली अझै प्रशिक्षकको खोजीमा
इटालीले भने अझै राष्ट्रिय टोलीका लागि उपयुक्त प्रशिक्षक चयन गर्न सकेको छैन । विश्वकप छनोटमा लगातार तेस्रो पटक असफल भएपछि अप्रिलमा जेनारो गाटुसोले राजीनामा दिएका थिए ।
इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पाओलो माल्दिनीले नयाँ प्रशिक्षक नियुक्त गर्नुअघि ब्राजिलका वर्तमान प्रशिक्षक कार्लो आन्सेलोट्टीसँग पहिलो चरणमा छलफल गरिएको खुलासा गरेका छन् ।
तर आन्सेलोट्टीले सन २०३० सम्म ब्राजिलसँगको सम्झौता नवीकरण गरिसकेकाले उनी इटाली फर्किने सम्भावना समाप्त भएको छ ।
त्यसपछि महासंघले म्यानचेस्टर सिटी छाडेका पेप ग्वार्डिओलासँग पनि वार्ता अघि बढाएको थियो । तर इटालियन सञ्चारमाध्यमका अनुसार ग्वार्डिओलाले वार्षिक दुई करोड युरो पारिश्रमिक मागेका छन्, जुन इटालीले प्रस्ताव गरेको रकमभन्दा दोब्बर हो ।
महासंघले साताभित्रै नयाँ प्रशिक्षक नियुक्त गर्ने लक्ष्य राखे पनि सबैभन्दा योग्य व्यक्तिलाई जिम्मेवारी दिने विषयलाई प्राथमिकता दिएको जनाएको छ । पूर्वप्रशिक्षक एन्टोनियो कोन्टे, रोबर्टो मान्चिनी तथा पूर्वमिडफिल्डर आन्द्रेया पिर्लोको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण