अस्पतालमा स्वास्थ्यमन्त्रीको राजनीति : सचिवस्तरीय निर्णय उल्ट्याउँदै जुनियर चिकित्सकलाई मेडिकल सुपरिटेन्डेन्ट
मङ्गलबार, १२ माघ २०७२, १७ : २१
इटहरी –एक साताअघि भएको सचिवस्तरीय निर्णयलाई उल्ट्याउँदै गर्दै स्वास्थ्यमन्त्री रामजनम चौधरीले झापाको भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा जुनियर चिकित्सकलाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी दिएका छन् ।
गत पुस २६ गते स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकबाट ११औँ तहका चिकित्सक डा. टंक बाराकोटीलाई मेसुको जिम्मेवारी दिने निर्णय भएको थियो । तर, सो निर्णय गरेको एक साता बित्न नपाउदै स्वास्थ्य मन्त्री चौधरीले एकलौटी ढङ्गले जुनियर चिकित्सक डा. पीताम्बर ठाकुरलाई निमित्त मेसुको जिम्मेवारी दिलाएका हुन् ।
३ माघमा डा. ठाकुरले अस्पतालको उक्त पदमा जिम्मेवारी पाएका हुन् । निमित्त मेसुको जिम्मेवारी पाएका डा. ठाकुर दशौँ तहका फिजिसियन हुन् । दशौँ तहमा कार्यरत रहँदा डा. बाराकोटीले साढे तीन वर्ष मेची अञ्चल अस्पतालमा निमित्त मेसुको जिम्मेवारी सम्हालेका थिए ।
११औँ तहमा बढुवा भएर कोसी अञ्चल अस्पताल सरुवा भएका डा. बाराकोटी गत भदौमा पुनः मेची अञ्चल अस्पताल फर्केका थिए ।
आफूभन्दा जुनियर डा. ठाकुरकै मातहतमा रहेर चार महिना काम गरेका डा. बाराकोटीलाई स्वास्थ्य मन्त्रालयले २९ पुसमा सिनियर भएको नाताले आर्थिक तथा प्रशासनिक अधिकारसहित मेसुको जिम्मेवारी दिइएको चिठी थमाएको थियो । उनले चिठी बुझेको चार दिनपछि मन्त्रालयले डा. ठाकुरलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो ।
उनले पनि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त मेसुको जिम्मेवारी पाएका छन् । ‘सिनियर चिकित्सकको मानमर्दन हुने गरी मन्त्रालयले ममाथि अन्याय गरेको छ,’ डा. बाराकोटीले भने ।
श्रोतका अनुसार हालै अस्पतालमा (मेसु)को जिम्मेवारी पाएका डा ठाकुरलाई राजनीतिक दबाबबाट उक्त पद मिलेको बताइएको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारको दबाबमा स्वास्थ्यमन्त्री चौधरीले ठाडो निर्णय गरी डा. ठाकुरलाई निमित्त मेसुको जिम्मेवारी दिएको स्रोतले बताएको हो ।
यता नवनियुक्त मेसु डा ठाकुरले भने सो कुराको खण्डन गर्दै आफ्नो सिप र क्षमताको आधारमा सो पद पाएको दाबी गरेका छन् ।
यसैबीच सिनियर हुँदाहुँदै जुनियर चिकित्सकलाई जिम्मेवारी दिने निर्णय गलत भएको भन्दै झापाका सांसदहरुले मन्त्री चौधरीलाई निर्णय सच्चाउन दबाब दिएका छन् ।
एमाले सांसद रविन कोइराला, प्रेमबहादुर गिरी, हरि राजवंशीलगायतका सांसदले मन्त्री चौधरीलाई भेटेर नियमानुसार निर्णय बदर गर्न दबाब दिएका हुन् ।
जिम्मेवारीबाट खोसिएपछि डा. बाराकोटी एक सातादेखि बिदामा छन् । अस्पतालका एक मात्र बालरोग विशेषज्ञ डा. बाराकोटी बिदामा बसेपछि बालरोग सेवा प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण