शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपडा किन्न नसक्नेका लागि क्लोथ बैंक स्थापना

बुधबार, १३ माघ २०७२, १० : ३७
बुधबार, १३ माघ २०७२

गुल्मी– गुल्मीमा कपडा किन्न नसक्नेका लागि क्लोथ बैंक अर्थात् कपडा घरको स्थापना गरिएको छ । विभिन्न समयमा विपद्मा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको स्थापना गरिएको हो ।

बैंकमा जम्मा भएका कपडा असहायलाई वितरण गरिनेछ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा गुल्मी उद्योग वाणिज्य सङ्घको मातहतमा रहने गरी सङ्घको कार्यालयमा क्लोथ बैंक उपसमिति गठन गरेर बैंकको सुरुवात गरिएको हो ।

गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा भुसालले गरिबीका कारणले कपडा किन्न नसक्नेका लागि न्यानो बाँड्ने उद्देश्यले बैंकको स्थापना गरिएको बताए। गरिब असहायलाई बाँड्ने र दाताबाट सङ्कलन गर्ने गरी बैंकको स्थापना भएको भन्दै उनले भने, “क्लोथ बैंकमा अहिलेसम्म रु ९३ हजार नगद र केही कपडा जम्मा भइसकेको छ ।” “विकसित देशमा यो पुरानो कुरा भए पनि नेपालजस्तो देशका लागि यो एकदमै प्रभावकारी सहयोगको कार्यक्रम हो”, उनले भने । कपडा सहयोग गर्ने क्रममा थोत्रा लुगा सहयोग हुन सक्ने भएकाले बैंकमा पुराना लुगा भने सङ्कलन गरिने छैन । यसै हप्तादेखि बैंकले कपडा बाँड्न सुरु गर्नेसमेत जनाएको छ ।

यसैबीच क्लोथ बैंकलाई गुल्मेली समाज जापानले स्वेटर, टिसर्ट, भोटो, मोजा, ज्याकेट, सर्टपाइन्ट, ट्राउजर, साडी, सल, ब्ल्याङ्केट लगायतका कपडा प्रदान गरेको छ । समाजका सल्लाहकार बाबुराम भण्डारीले क्लोथ बैंकका लागि व्यक्तिगत रुपमा नगद रु ३० हजारसमेत प्रदान गर्नुभएको छ । गुल्मीमा निकै नयाँ सोचका साथ क्लोथ बैंक खुलेको र आफूहरुलाई राम्रो लागेकाले सहयोग गरेको उनको भनाइ छ ।

तम्घासको पवित्रा वस्त्रालयका सञ्चालक दानबहादुर बस्नेतले पनि क्लोथ बैंकलाई ३५ थान सर्ट तथा टिसर्ट उपलब्ध गराएका छन् । उनले कपडा किन्न नसकेका लागि स्थापना भएको कपडा घरमा आफू गुल्मीकै व्यवसायी भएकाले सहयोग गरेको बताए । क्लोथ बैंकमा कपडा जम्मा हुने क्रम जारी छ । क्लोथ बैंकले नगदमा भन्दा कपडा नै किनेर सहयोग गर्न दातालाई आग्रह गरेको छ ।रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप