आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तरकारीमा आत्मनिर्भर बन्दै म्याग्दी

शुक्रबार, १५ माघ २०७२, १५ : ००
शुक्रबार, १५ माघ २०७२

म्याग्दी - म्याग्दी जिल्ला तरकारीखेतीमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा तरकारीखेती विस्तार र उत्पादनमा वृद्धि हुँदै गएको छ । वार्षिक १३ हजार मेट्रिक टन तरकारी खपत हुने जिल्लामा पछिल्लो समय उत्पादन बढेपछि आयात घट्दै गएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत आव २०७१/७२ मा जिल्लामा १० हजार ६१२ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । तरकारी खेतीतर्फ कृषकको बढ्दो आकर्षणसंँगै खेती विस्तार र उत्पादनमा वृद्धि भएको कार्यालयका योजना अधिकृत ज्योति क्षेत्रीले जानकारी दिए ।

“आन्तरिक उत्पादन वृद्धि भई आयात घट्दै गएको छ,” उनले भने । जिल्लामा तरकारी आयात घट्दै गएको छ । यहाँ उत्पादन भएको तरकारी बाग्लुङ, पर्वत र पोखरा निर्यात हुन थालेको छ । जिल्लाको ९८१ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । आव २०६८/६९ मा ८२९ हेक्टरमा गरिएको खेतीबाट आठ हजार ५९४ मेट्रिक टन तरकारी उत्पादन भएकोमा पछिल्लो आवमा थप १५० हेक्टर क्षेत्रफलमा तरकारी खेती विस्तार तथा दुई हजार मेट्रिक टन उत्पादन बढेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

तरकारी खेतीमा आकर्षण बढेकाले उत्पादनमा वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालको भनाइ छ । रत्नेचौर, ज्यामरुककोट, घतान, सिङ्गा, बाबियाचौर, पात्लेखेत, पिप्ले, दरवाङ, अर्मन, ताकम, बिम, राम्चे, हिस्तान, बेग, भुरुङ तातोपानी, शिख, घार, नारच्याङ, दानालगायतका ठाउँ तरकारी खेतीका पकेट क्षेत्र हुन् ।

पहिले घरमा उपभोग गर्ने तरकारी किन्ने कृषक अहिले आफँै बेचेर आम्दानी गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप