शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

वाटसनको शतकलाई ओझेलमा पार्दै भारतद्वारा सिरिजमा ह्वाइट वास

आइतबार, १७ माघ २०७२, १५ : ३७
आइतबार, १७ माघ २०७२

सिड्नी – अस्ट्रेलियाली कप्तान शेन वाटसनले बनाएको किर्तिमानी शतकलाई ओझेलमा पार्दै भारतले अन्तिम टी–२० मा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै श्रृंखला ह्वाइट वास गरेको छ । निकै रोमाञ्चक खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य भारतले अन्तिम बलमा भेट्यायो । भारतलाई जित दिलाउन सुरेश रैनाले विजयी रन हिर्काए । रैनाले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ४९ रन बनाए । उनले ६ चौका र एक छक्का हिर्काए । त्यस्तै भारतको जीतमा रोहित शर्मा र विराट कोहलीले पनि अर्धशतक बनाउँदै योगदान दिए । शर्माले ५२ तथा कोहलीले ५० रन बनाए । अस्ट्रेलियाका लागि क्यामरन बोयसले २ तथा शेन वाटसनले १ विकेट लिए । अस्ट्रेलियाले यसअघि सिड्नी क्रिकेट ग्राउण्डमा १ सय ७५ रनभन्दा माथि बनाएपछि कुनै पनि खेल हारेको थिएन।  जितसँगै भारतले सिरिज ३–० ले कब्जामा लियो ।

यसअघि अस्ट्रेलियाको टी–२० टोलीको कप्तानी गरेको पहिलो खेलमा नै शेन वाटसनले शतक बनाएपछि अस्ट्रेलियाले भारत सामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुनै पनि कप्तानले आफ्नो पहिलो खेलमा नै शतक बनाएको यो पहिलो अवसर हो । १८ रनको अवस्थामा विराट कोहलीबाट जीवनदान पाएका वाटसनले ७१ बलमा १० चौका र ६ छक्काको मद्दतले १ सय २४ रन बनाए । यो कुनै पनि कप्तानले टी–२० मा बनाएको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर पनि हो । क्रिकेटको तीनै संस्करण वानडे, टेस्ट र टी–२० मा शतक बनाउने उनी पहिलो अस्ट्रेलियाली तथा विश्वका १० औं ब्याटसम्यान बनेका छन् । अस्ट्रेलियाका लागि अन्य खेलाडीमा ट्राभिस हेडले २६ तथा उस्मान ख्वाजाले १४ रन बनाए ।

भारतका लागि पाँच बलरहरु आशिस नेहरा, जसप्रित बुमराहा, युवराज सिंह, रविन्द्र जडेजा र रविचन्द्र आश्विनले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप