शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन

शनिबार, ०९ साउन २०८३, ११ : ३७
शनिबार, ०९ साउन २०८३

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले प्रवासमा रहेका नेपाली पत्रकार र एनआरएनए बिचको सहकार्यले मात्र नेपालको समृद्धिको यात्रा सम्भव हुने बताएका छन्।
  • उनले पत्रकारिताले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकास र समृद्धिसँग जोड्ने बलियो पुलको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
  • शेरचनले विदेशमा रहेका नेपालीहरूको समस्या, सफलताका कथा र सम्भावनाहरूलाई नेपालसम्म पुर्‍याउनुका साथै नेपालको विकासका सम्भावनाहरूलाई विश्व बजारमा चिनाउन डायस्पोराका सञ्चार माध्यमहरू सक्रिय हुनुपर्ने बताए।

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले प्रवासमा रहेका नेपाली पत्रकार र एनआरएनए बिचको सहकार्यले मात्र नेपालको समृद्धिको यात्रा सम्भव हुने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा टोकियोमा शनिबार आयोजित ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स जापान २०२६’ मा बोल्दै शेरचनले पत्रकारिता र एनआरएनएबिचको सम्बन्ध समाचार आदानप्रदानमा मात्र सीमित हुनु नहुनेमा जोड दिए । उनले भने- ‘आज विश्वभर नेपाली डायस्पोरासँग अथाह ज्ञान, सीप, पुँजी र अनुभव छ । पत्रकारिताले यो शक्तिलाई नेपालको विकास र समृद्धिसँग जोड्ने एउटा बलियो पुलको रूपमा भूमिका निर्वाह गर्नुपर्छ।’

वरिष्ठ उपाध्यक्ष शेरचनले विदेशमा रहेका नेपालीहरूले भोगिरहेका समस्या, उनीहरूको सफलताका कथा र सम्भावनाहरूलाई तथ्य र अनुसन्धानसहित नेपालसम्म पुर्‍याउन पत्रकारहरूको ठुलो भूमिका रहने बताए । साथै, नेपालको विकास, पर्यटन, लगानी र प्रविधिका सम्भावनाहरूलाई विश्व बजारमा चिनाउन डायस्पोराका सञ्चार माध्यमहरू सक्रिय हुनुपर्ने उनको धारणा थियो।

प्रवासमा रहेका नेपाली पत्रकार र एनआरएनएबिचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन ‘डायस्पोरा मिडिया नेटवर्क’ निर्माण गर्नुपर्ने प्रस्ताव समेत उनले राखे । नियमित संवाद, अनुसन्धान र संयुक्त कार्यक्रममार्फत प्रवासका नेपालीका मुद्दाहरूलाई नीति निर्माण तहसम्म पुर्‍याउन पत्रकार महासङ्घसँग सहकार्य गर्न एनआरएनए सदैव तत्पर रहेको उनले स्पष्ट पारे।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधिहरू र विभिन्न मुलुकका वैदेशिक शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त सम्मेलनमा शेरचनले पत्रकारिताले नेपालको वास्तविक पहिचान विश्वसामु पुर्‍याउने र डायस्पोराको सम्मानलाई मुलुकको हितसँग जोड्ने विश्वास व्यक्त गरे। 

सम्मेलनको पूर्ण सफलताको कामना गर्दै उनले जहाँ भए पनि आफ्नो ज्ञान र सीपलाई मातृभूमिका लागि समर्पण गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप