आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिक संयन्त्रको बैठक : कांग्रेसलाई सरकारमा ल्याउन पहल गर्न प्रचण्डको प्रस्ताव

आइतबार, १७ माघ २०७२, २२ : ५४
आइतबार, १७ माघ २०७२

काठमाडौँ - एमाओवादी अध्यक्ष प्रचण्डले देशको विद्यमान समस्यालाई हल गर्न राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि सरकारमा ल्याउन पहल गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सिंहदरबारमा आज साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी नेताका अनुसार प्रचण्डले कांग्रेसलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री स्वयंले पहल गर्नुपर्ने कुरा राखेका थिए । त्यस्तै दुई हप्तादेखि सरकार र मधेसी मोर्चाबीच वार्ता नभएको भन्दै चाँडो आन्दोलनरत पक्षसँग वार्ता शुरु गरेर देशलाई निकास दिनुपर्ने धारणा राखेका थिए । तमलोपाका सह-अध्यक्ष हृदेश त्रिपाठीले प्रचण्डलाई भेटेरै वार्ताको माहोल बनाउन आग्रह गरेका थिए । सरकारले जनताको पक्षमा सन्तोषजनक रुपमा काम गर्न नसकेको बताउँदै जनताको पक्षमा काम गर्नुपर्ने उनले धारणा राखेका थिए ।

आजको बैठकपछि सरकारमा सामेल दलहरूबीचको एकतालाई कायम राख्दै मुलुकमा आइपरेका समस्यालाई हल गर्ने निष्कर्षमा सत्तारुढ दलहरू पुगेका छन् । बैठकले सरकारमा सहभागी दलहरूबीचको एकता कायम राख्ने, सरकारको कामलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

भारतको अघोषित नाकाबन्दीपछि पनि सरकारको क्रियाशीलता सकारात्मक उद्देश्यका लागि नै केन्द्रित रहेको निष्कर्ष समेत बैठकले निकालेको छ ।

बैठकपछि उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको समसामयिक राजनीतिक विषय, प्रधानमन्त्रीको भारत भ्रमण, सरकारको क्रियाशीलतालगायतका विषयमा छलफल भएको जानकारी दिए ।

उहाँले अप्ठ्यारो र असहज अवस्थामा पनि सरकारले जनताको पक्षमा काम गरेको तर सोचेजति प्रगति हुन नसकेका कारण जनतामा निरासा फैलनसक्नेतर्फ ध्यान दिँदै थप क्रियाशील बनाउने निर्णय भएको बताए ।

यस्तै एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महराले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नियमित राखेर जनताको पक्षमा अधिकभन्दा अधिक काम गर्ने निष्कर्ष निकालेको जानकारी दिऐ ।

नेपालको संविधानको पहिलो संशोधनपछि पनि मधेसवादी दलले त्यसलाई अस्वीकार गरिरहेको अवस्थामा कसरी अगाडि बढ्ने र कसरी उनीहरूको माग सम्बोधन गर्ने विषयमा सत्तारुढ दलहरूबीच छलफल भएको उनले बताए । वार्ता र संवादमार्फत मधेसवादी दलका मागलाई सम्बोधन गर्ने र उनीहरूले उठाएका जायज विषयलाई राजनीतिक संवादबाट नै हल गर्ने विषयमा मतैक्य भएको छ ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको भारत भ्रमणको क्रममा राष्ट्रिय हितलाई मुख्य केन्द्रबिन्दुमा राख्नुपर्ने र त्यसका लागि आवश्यक तयारी गर्न समेत बैठकले सुझाव दिएको छ ।

भारत भ्रमणका क्रममा राष्ट्रिय अखण्डता र स्वाभिमानमा धक्का हुने खालको कुनै पनि निर्णय नगर्न र मुलुकका तमाम् समस्यालाई हल गर्न राष्ट्रिय सङ्कल्प कायम गर्नुपर्नेमा समेत बैठकले जोड दिएको महासचिव महराले जानकारी दिए ।

संयन्त्रको बैठक लामो समय बस्न नसक्दा सत्तारुढ दलकै बीचमा कतिपय विषयमा मतैक्य हुन नसकेको भन्दै संयन्त्रको बैठकलाई नियमित बनाउने विषयमा समेत सहमति भएको छ ।

 अध्यक्ष प्रचण्ड संयोजक रहेको संयन्त्रको बैठक दुई महिनापछि बसेको हो । सरकारको कामकारवाही सन्तोषजनक नभएको गुनासो बढ्दै गएपछि एमाआवादी स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीसँग कुरा गर्न जिम्मेवारी दिएको थियो । सोही अनुसार अध्यक्ष प्रचण्डले शनिवार प्रधानमन्त्री ओलीसँग छलफल गरि आइतवारका लागि संयन्त्रको बैठक तय भएको थियो । संयन्त्र बैठक विहान र बेलुका गरि दुई पटक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीसहित एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, एमाआवोदीका अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमाण विजुक्छेलगायतका नेताहरुको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप