शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राप्रपा नेपालद्वारा राप्रपासँग पार्टी एकता गर्न नयाँ वार्ता टोलीको घोषणा

सोमबार, १८ माघ २०७२, १३ : ४७
सोमबार, १८ माघ २०७२
काठमाडौं– लामो समयदेखि अबरुद्ध राप्रपा नेपाल र राप्रपाबीचको पार्टी एकता प्रक्रिया फेरि अघि बढ्ने भएको छ । सूर्यबहादुर थापाको निधन भएसँगै अबरुद्व बनेको दुई पार्टीबीचको एकता प्रक्रिया अघि बढ्न लागेको हो । राप्रपा नेपालको पार्टी कार्यालय धुम्बराहीमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले अबरुद्व वार्ता प्रक्रियालाई फेरि अघि बढाउने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई बताए । बैठकले यसअघि राप्रपासँग वार्ता गर्न गठन भएको वार्ता टोलीलाई पुनरावलोकन गर्दै नयाँ वार्ता टोलीको घोषणा गरेको छ । वार्ता टोलीमा उपाध्यक्ष राजीव पराजुलीलाई संयोजक तोकिएको छ भने निरञ्जन थापा, राजेन्द्र लिंदेन, धवलशमशेर राणा र मोहन श्रेष्ठ सदस्य रहेका छन् । यसअघि गत फागुनमा गठित वार्ता समितिमा केशर बहादुर विष्टको संयोजकत्वमा धवलशम्शेर राणा, चन्द्रबहादुर गुरुङ र राजेन्द्र लिङ्देन सदस्य रहेका थिए । जसमध्ये गुरुङको निधन भइसकेको छ । नयाँ वार्ता समिति गठन भएसँगै केहि दिनमै राप्रपासँग वार्ता प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताए । तर, राप्रपा र राप्रपा नेपालबीच यसअघि पनि पार्टी एकताबारे छलफल गर्न पटक पटक वार्ता भएपनि राजसंस्थाका विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया रोकिँदै आएको छ ।राप्रपा नेपाल संवैधानिक राजसंस्थाका पक्षमा रहेको छ भने राप्रपा गणतन्त्रमा गइसकेको छ । अहिले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा रहेको राप्रपाले पशुपति शमशेर राणा अध्यक्ष हुँदा ताकानै ११ महिनाअघि महामन्त्री दीपक बोहराको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।  समितिमा बुद्धिमान तामाङ, ठाकुरप्रसाद शर्मा र किरण गिरी सदस्य छन् । हिन्दु राष्ट्रको लागि जागरण सभा गर्ने बैठकले नेपालमा हिन्दु राष्ट्रनै आवश्यक रहेको ठहर गर्दै आगामी फागुनमा देशका पाँच विकास क्षेत्रमा जागरण सभा समेत गर्ने निर्णय गरेको छ । जसअनुसार पूर्वाञ्चको इटहरीमा हुने सभाका लागि रामकुमार सुब्बा , मध्यमाञ्चलको वीरगञ्जमा हुने सभाको लागि राजीव पराजुली, पश्चिमाञ्चलको बुटवलमा हुने सभाकोे लागि निरञ्जन थापा मध्यमश्चिमाञ्चलको दाङमा हुने सभाको लागि धवलशमशेर र सुदूरपश्चिमको धनगढीमा हुने सभाको लागि चन्द्रबहादुर गुरुङ रमेशलाई संयोजक खटाइएको श्रेष्ठले जानकारी दिए । २५०० भन्दा बढी कार्यकर्ताहरु राप्रपा नेपालमा प्रवेश यस्तै बैठकले पार्टीले गत पुस ७ देखि माघ ७ गतेसम्म देशैभर संचालन गरेको प्रशिक्षण कार्यक्रमको समीक्षा गरेको छ भने माघ १५, १६ र १७ गते संचालन गरेको ”हरेक वडामा राप्रपा नेपाल राष्ट्रिय अभियान“ कार्यक्रमको प्रगति विवरण बारे समिक्षा गरेको छ । अभियानको क्रममा १५ हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु परिचालित भएको र विभिन्न राजनीतिक दल परित्याग गरी २५०० भन्दा बढी कार्यकर्ताहरु राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालले जनाएको छ । यस्तै बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीले सम्हालेको मन्त्रालयहरुको कार्य प्रगति विवरण बारे समीक्षा गर्नुका साथै मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको विवरण प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप