आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नाकाबन्दी नखोली भारत नजान प्रधानमन्त्रीलाई सुझाव दिएको छु : प्रचण्ड

सोमबार, १८ माघ २०७२, १५ : १५
सोमबार, १८ माघ २०७२

काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जारी नाकाबन्दी अन्त्य नभएसम्म भारत भ्रमणमा नजान आफूले सुझाव दिएको बताएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताए । यसै विषयमा ‘आफूजस्तै प्रधानमन्त्री ओलीलाई पनि भारतभन्दा पहिले चीन भ्रमणमा जान सल्लाह त दिनुभएको होइन ?’ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले शुरुमा चीन जानुपर्ने आफूले सुझाव नदिएको पनि प्रष्ट पारे । उनले भने, ‘म प्रधानमन्त्री हुँदा विशेष परिस्थितिमा शुरुमा चीनको भ्रमणमा गएको थिएँ । त्यतिबेला ओलम्पिकको समापन कार्यक्रम थियो जसमा मलाई निम्ता दिइएको थियो ।’ प्रचण्डले अहिले त्यस्तो कुनै परिस्थित नरहेको उल्लखे गर्दै भारतको साटो चीन जानुपर्ने बाध्यता नरहेको जिकिर गरे । ‘दुवै छिमेकी नेपालका लागि समान छन् । कुन देश पहिला जाने भन्ने विषय प्रधानमन्त्री आफैले निर्धारण गर्ने विषय हो,’ उनले भने । मोर्चासँग छिट्टै सहमति, छिट्टै नाका खुल्छ प्रचण्डले संविधान संशोधन पछि स्थिति सहज बनेको बताउँदै अब सीमांकनको विषयमा छिट्टै सहमति भइ नाकाबन्दी खुल्ने दाबी गरे । ‘सीमांकनका लागि राजीतिक संयन्त्र बनाउने विषयमा कार्यदलमा मोटामोटी सहमति बनिसकेको छ । विवाद धेरै छैन । आज बैठक बसेर त्यस विषयमा पनि टुंगाइनेछ,’ उनले भने । आज प्रमुख राजनीतिक दल र मधेसी मोर्चाबीच साँझ ४ बजे सिंहदरवारमा बैठक बस्दैछ । उनले दलहरुबीच छिट्टै सहमति भइ नाकाबन्दी खुल्ने बताए । ‘मोर्चा र भारतले पनि नाका खकुलो बनाएको छ । अब चाँडो नाकाबन्दी खुल्छ,’ उनले भने । प्रचण्डले मधेसी मोर्चाले नेपाली कांग्रेसको महाधिवेशन अन्तरगतका कार्यक्रमहरुमा अवरोध पुर्याएको बारेमा कांग्रेस सभापति सुशील कोइरालाले आफूसमक्ष कुरा राखेको बताउँदै आजको बैठकमा यस विषयमा पनि कुराकानी हुने जानकारी दिए । प्रधानमन्त्री बन्ने इच्छा छैन आफूले राष्ट्रिय सहमतिको सरकारको कुरा गर्दा धेरैले प्रधानमन्त्री बन्नका लागि यस्तो कुरा उठाएको टिप्पणी गरेको बताउँदै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने कुनै इच्छा नरहेको स्पष्ट पारे । ‘पहिला पनि मलाई राष्ट्रपति बन्न खोज्यो भन्थे, अहिले प्रधानमन्त्री बन्नका लागि यस्तो गरेको भन्दैछन्,’ उनले भने । उनले अहिलेको समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । उनले अब बन्न राष्ट्रिय सहमतिको सरकार प्रधानमन्त्री ओली नै नेतृत्व अथवा कांग्रेसको नेतृत्वमा बन्न सक्ने बताए । ‘यदी मेरो नाममा मात्र राष्ट्रिय सहमति बन्ने स्थिति भयो भने मात्र म प्रधानमन्त्री बन्ने छु । नत्र म प्रधानमन्त्री बन्न इच्छुक होइन,’ उनले भने । बाबुरामको कदम राष्ट्रघाति एमाओवादी अध्यक्षले नयाँ शक्ति निर्माण अभियानमा लागेका डा. बाबुराम भट्टराईको कदमलाई राष्ट्रघातिको संज्ञा दिएका छन् । ‘वहाँको कदम आत्मघाती, पार्टीघाती त छँदै थियो, यो राष्ट्रघाति पनि छ । उनले रोपेको फूले राम्रो फल दिँदैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप