रंगमञ्च : ‘नाटक त गर्छौ, तर कामचाहिँ के गर्छौ भाइ ?’
‘जीवन र अभिनयको सम्बन्ध कस्तो रहेछ ?’ रंगकर्मी विजय बराललाई ‘रातोपाटी’को ‘जिन्दगानी डटकम’ स्तम्भमा ‘फिचराइज्ड’ गर्दा मैले सोधेथेँ । उनको उत्तर थियो, उनलाई लाग्छ, ‘अभिनय जीवनजस्तै हुँदोरहेछ । त्यसैले कतिलाई त पागलझैं लाग्दोहोला हामी । त्यत्तिकै हाँसिरहेका हुन्छन्, त्यत्तिकै रोइरहेका हुन्छन् भन्दा हुन् ।’ वास्तवमै अहिले उनी त्यही अवस्थामा छन् । उनलाई सिजोफ्रेनिया भएको छ । मानसिक असन्तुलनको उपचार गराइरहेका छन् । तर वास्तविक जीवनमा चाहिँ होइन, नाटकमै । फागुन ७ गतेबाट मण्डला थिएटरमा मञ्चन सुरु भएको नाटक ‘बिल गेट्स पण्डित’मा उनी नाटक र जीवनका सन्तुलन मिलाउन नसकेर ‘सिजोफ्रेनिया’को सिकार भएको व्यक्तिको भूमिकामा छन् ।
नाटकबाट मण्डलाका प्रतिभा सुलक्षण भारतीले निर्देशनमा ‘डेब्यू’ गरेका छन् । लेखेका पनि उनैले हुन् । नाटक लेख्दा विजयको प्रतिभा, चरित्र, क्षमता र सपनालाई ध्यान दिएका छन् । त्यसैले नाटक हेर्दा लाग्छ, सुलक्षणले विजयकै लागि नाटक लेखेका हुन् । तथापि नाटकले सार्वभौम अर्थ दिन्छ, आफ्नो जीवन दर्शनसँग सम्झौता नगरीकन बाँच्न चाहने हरेक व्यक्तिले नाटकमा आफूलाई पाउँछन् ।
नाटकको ‘कन्टेन्ट’ अतिदार्शनिक र बृहत लाग्दैन । दैनिक जीवनका मसिना घटनामार्फत जीवन दर्शन खोजिएको छ । यथार्थवादी दृष्टिकोणको प्रयोगले सहज रूपमा विषयलाई ग्रहण गर्न सघाउँछ । तर नाटकको नामाकरणदेखि नै गम्भीर व्यंग्य भने सुरु गरिएको छ । त्यसैले नाटकभित्रका कतिपय गम्भीर संवादमा पनि दर्शक हाँस्छन् । त्यसमा विजयको ‘रुवाउने दृश्यमा पनि दर्शक हाँस्ने’ अभिनय देखिन्छ । बिल गेट्स पण्डित आफैंमा स्वाभाविक नाम होइन, यसमा हास्य त छ नै, गम्भीर कथा पनि छ । नाटक हेर्दै जाँदा नामको कथा पनि खुल्दै जान्छ ।
नाटकको सुरुवात भने भाग्यवादी मानसिकताबाट उम्किने यत्नबाट सुरु हुन्छ । नाटकको मूलपात्र पण्डितको भवगानप्रतिको आस्था उठ्छ र उसकी प्रेमिका आराधना भन्छिन्, ‘तिम्रो पनि भगवानबाट विश्वास उठ्यो ? भनेपछि मेरो केटोले जिन्दगीमा उन्नति गर्ने भएछ ।’ सामाजिक सरोकारका विषयमा नाटकले नछलिकन सिधै बहस गरेको छ । नाटकभर यस्ता सामाजिक र राजनीतिक बहसमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्न भारती हिच्किचाएका छैनन् । यो उनको बलियो पक्ष हो । उनले नाटकमा कलाकर्मलाई हेर्ने सामाजिक दृष्टिकोणप्रति व्यंग्य गरेका छन् ।नाटकमा पण्डितलाई प्रेमिकाका दाइले प्रश्न गर्छन्, ‘अनि साँच्ची भाइ काम के गर्छौ अरे ?’ पण्डितको उत्तर छ, ‘म नाटक गर्छु ।’ ‘राम्रो, तर कामचाहिँ के गर्छौ ?’ दाइको प्रश्न दोहोरिरहन्छ । गम्भीर कलाकर्मप्रति शून्य भरोसको अवस्थालाई संवादले चित्रण गरेको छ । आफ्नो हृदयले चाहेको काम गर्नुपर्छ भन्ने मान्यता भएको नाटकको मूल पात्र व्यावहारिक जीवनका लागि सम्झौता गरेको मन पराउँदैन । त्यसले उ हाँगा छाडेको मान्छ । नाटकमा भारतीले स्थिर जीवनशैली प्रति कटाक्ष गरेका छन् । बिहान उदाउने र बेलुका अस्ताउने घामजस्तै निश्चित जीवनशैली भएकाप्रति व्यंग्य गरेका छन् । नाटककार भारती सम्पत्ति सम्बन्धबारे पनि नाटकमा बोलेका छन् । पण्डित प्रेमिका अनुराधाको दाइले दिदीबहिनीलाई सम्पत्ति दिनु र अर्को पात्र ‘ज्यापुचा’को छोराले विवाह गर्नेबित्तिकै सम्पत्ति खोज्नुले सम्पत्ति सम्बन्धको समाजशाश्त्रीय मनोविज्ञान र विकासक्रम देखाएको छ । त्यस्तै समाजले स्वीकार्दै गएको अन्तरजातीय सम्बन्ध पनि नाटकमा ‘ज्यापुचा’को छोराको विवाहको प्रसंगमार्फत अभिव्यक्त छ ।
नाटकमा कलाको प्रयोजनबारे आफ्नो दृष्टिकोण पनि भारतीले प्रष्ट पारेका छन् । मानिसले जब आफ्नो जीवनसँग सरोकार राख्ने कला भेट्छ, तब नै आनन्दानुभूति गर्छ भन्ने उनको दृष्टिकोण छ । कविता सुन्न नमान्ने प्रेमिकाको मुहारमा आफ्नो जीवनसँग सरोकार राख्ने कविताको शिर्षकले ल्याएको उज्यालोमार्फत नाटकमा त्यो दृष्टिकोण आएको छ । उनले नाटकमा समसामयिक राजनीतिक घटनाक्रममा आफ्नो दृष्टिकोण प्रष्ट राखेका छन् । देशको परनिर्भरताका कारण नाकाबन्दीको संकट बढी बेहेर्नुपरेको उनको धारणा नाटकमा प्रष्टिन्छ । नाटकमा मधेस आन्दोलनप्रति सहानुभूति छ । ‘मधेसलाई दुख्दा पहाड खुसी हुने मनोविज्ञान’ले राष्ट्रियता बलियो नहुने दृष्टिकोण नाटकमा आएका छ । समसामयिक राजनीतिक घटनाक्रमबाट लुसुक्क भागेर ‘सबैको प्रिय’ बन्ने खेलमा उनी देखिँदैनन् । उनी आफूले देखेको सत्य रचनामा उतार्छन् । उनको नाटकको शक्ति पनि यही हो ।
निर्देशकीय कोणबाट पनि नाटक उम्दा नै छ । नाटकमा चित्रकलाको ‘इम्प्रेसन’ प्रयोग गर्न खोजेका छन् । जसले नाटकको कलात्मक यात्रा सुन्दर बनेको छ । नाटकको ‘अनाउन्स’ र ‘इन्डिङ’ गर्ने तरिका पनि फरक र रोचक छ । नाटकको अधिकांश दृश्यमा ‘फोकस लाइट’मा मात्रै होइन, ‘डिम लाइट’मा पनि कलाकार सक्रिय छन् । त्यसले जीवनको पृष्ठभूमिमा सघन प्रभाव पारिरहने सामाजिक र पारिवारिक पृष्ठभूमिको आभास पैदा गराउँछ । यसले निर्देशकीय प्रभाव पैदा गरेको छ । विजयले यो नाटकमा सम्पूर्ण ‘इफोर्ट’ लगाएका छन् । उनले निकै चुनौतिपूर्ण अभिनय गरेका छन् यसमा । तर चुकेका छैनन् । त्यसो त उनले यसमा आफ्नो सम्पूर्ण प्रतिभालाई एकै ठाएँ खन्याउने मौका पनि पाएका छन् । रंगमञ्चीय जीवन सुरु गर्नुअघि उनले गर्ने गरेको ‘क्यारिकेचर’ र गगन थापाको भाषणले उनमा पारेको प्रभावसमेत नाटकमा देख्न सकिन्छ । उनले आफूले गर्न चाहेको भूमिका पनि यसमा पाएका छन् । उनी हसाउँन सक्छन् भन्ने हसाउँदा–हँसाउँदै रुवाउन पनि सक्छन् भन्ने यसबाट थप प्रमाणित भएको छ । बच्चादेखि युवा र प्रौढ भूमिकामा समेत उत्तिकै न्याय गरेर यसमा उनले आफ्नो ‘भर्सटायल’ छवि निर्माण गरेका छन् ।
उनको प्रेमिकाको भूमिकामा सिर्जना अधिकारीको अभिनय पनि उत्तिकै बलियो छ । निशा कार्की वास्तविक नर्स लाग्छिन् । कुशल पाण्डेले नेवारी शैली र लवज उतार्न गरेका मिहिनेत देखिन्छ । सोमनाथ खनाल र केनिपा सिंहको भूमिका छोटो देखिन्छ तर नाटकभर त्यसको प्रभाव छाइरहन्छ । आर्जेश रेग्मीले पनि नाटकमा आफ्नो उपस्थितिको बोधलाई बलियो बनाएका छन् । रंगमञ्चमा जमिरहेका अब्बल कलाकारको संयोजनले नाटकको जीवन हरिलोभरिलो देखिएको छ । त्यसो त नाटकमा संवादको प्रयोग अलि बढी भएको हो कि भन्ने अनुभूत हुन्छ । नाटकमा प्रयोग भएका ‘लाइन’हरू प्रभावशाली छन्, तर तिनीहरू धेरै हुँदा प्रभावचाहिँ अलि बोझिलो अनुभूत हुन्छ । नाटकमा प्रेम, विवाह र त्यसपछिका सम्बन्ध अलिक सतही अनुभूत हुन्छ । त्यसलाई अझै संवेगात्मक र प्रभावशाली बनाउने ठाउँ देखिन्छ । त्यसमा महिला मनोविज्ञानको अझै गहिरो चित्रण गर्न सकेको भए सम्बन्ध टुटाउने बेला अनुराधा र उपचार गर्दा नर्सको भूमिकालाई अझ प्रभावशाली बनाउन सकिन्थ्यो । तथापि नाटकको लयलाई सामान्यतः यी कुराले धेरै असर पारेका छैनन् ।
नाटक : बिल गेट्स पण्डित लेखन/निर्देशन : सुलक्षण भारती मञ्च : मण्डला नाटकघर, अनामनगर (सिंहदरबार पूर्वी गेटअगाडि) मञ्चमा : विजय बराल, सृजना अधिकारी, सोमनाथ खनाल, आर्जेश रेग्मी, केनिपा सिंह, कुशल पाण्डे, निशा कार्की मञ्चन समय : फागुन ३० गतेसम्म (सोमबारबाहेक), शनिबार दिउँसो १ बजे पनि
तस्बिर : बिजु महर्जन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण