आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता

आइतबार, ०३ साउन २०८३, ०४ : २६
आइतबार, ०३ साउन २०८३

सारांश

  • फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेले विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै लियोनेल मेस्सीको कीर्तिमान तोडेका छन् ।
  • इङ्गल्याण्ड विरुद्धको खेलमा दुई गोल थप्दै एम्बाप्पेले विश्वकप करियरमा २२ गोल पूरा गरेका छन् ।
  • यसका साथै, एम्बाप्पेले विश्वकप २०२६ को गोल्डेन बुट दौडमा १० गोलसहित स्पष्ट अग्रता लिएका छन् ।

काठमाडाैँ । मियामीमा आइतबार सम्पन्न फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भएको रोमाञ्चक १० गोलको महाभिडन्तमा फ्रान्स इङ्गल्याण्डसँग ४–६ गोल अन्तरले पराजित भएको छ । खेलमा पराजित भए पनि २७ वर्षीय फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेले दुई गोल गर्दै विश्वकप करियरमा २२ गोल पूरा गरी सर्वकालीन सर्वाधिक गोलकर्ताको ऐतिहासिक कीर्तिमान बनाए  । यसका साथै, उनले जारी संस्करणको गोल्डेन बुट दौडमा पनि १० गोलसहित स्पष्ट अग्रता लिएका छन् ।

इङ्गल्याण्ड विरुद्धको खेलअघि समग्र विश्वकप करियरमा २० गोलसहित मैदान उत्रिएका एम्बाप्पेले दोस्रो हाफको ४८ औँ र ६६ औँ मिनेटमा दुई गोल गरे । यस खेलमा गरेको दोस्रो गोलसँगै उनको समग्र विश्वकप करियरको गोल संख्या २२ पुगेको छ । यो असाधारण सफलतासँगै उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको २१ गोलको सर्वकालीन कीर्तिमानलाई भंग गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको ताज पहिरिएका छन् । यस सूचीमा जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोसे १६ गोलका साथ तेस्रो स्थानमा छन् ।

यसका साथै, आजको दुई गोलसँगै एम्बाप्पेले जारी विश्वकप २०२६ मा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्‍याएका छन् । खेलअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र एम्बाप्पे दुवै ८–८ गोलसहित गोल्डेन बुटको दौडमा बराबरीमा थिए । तर आज दुई गोल थपेपछि एम्बाप्पे १० गोलसहित गोल्डेन बुटको दौडमा एकल रूपमा शीर्ष स्थानमा पुगेका छन् । मेस्सी ८ गोलसहित दोस्रो स्थानमा रहेका छन् ।

पहिलो हाफमा ४–० को विशाल गोल अन्तरले पछि परेको फ्रान्सलाई सानदार पुनरागमन गराउने क्रममा एम्बाप्पेले यो चमत्कारिक प्रदर्शन गरेका हुन् । लियोनेल मेस्सीको फाइनल खेल अझै बाँकी नै रहेकाले गोल्डेन बुट र सर्वकालीन गोलकर्ताको यो रोमाञ्चक दौड आगामी खेलमा अझै रोचक हुने भए पनि हालका लागि २७ वर्षकै उमेरमा एम्बाप्पेले विश्व फुटबलको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप